नेभिगेशन
मनोरञ्जन

प्रख्यात भिडियो गेम ‘ब्लडबोर्न’ एनिमेटेड फिल्म बन्दै

लोकप्रिय भिडियो गेम ब्लडबोर्नलाई एनिमेटेड फिल्मका रूपमा विकास गरिँदैछ, जसको सह–निर्मातामा युट्युब स्टार ज्याकसेप्टिसआइ (शोन म्याकलफलिन) सहभागी भएका छन् । सन् २०१५ मा प्लेस्टेसनका लागि मात्र सार्वजनिक गरिएको यो गेम इतिहासकै सबैभन्दा प्रशंसित भिडियो गेमहरूमध्ये एक मानिन्छ । यद्यपि प्रशंसकहरूको ठूलो माग हुँदाहुँदै पनि यसको सिक्वेल (अर्को भाग) अहिलेसम्म आएको छैन ।
फिल्मको कथा र प्रदर्शन मिति अझै सार्वजनिक गरिएको छैन । तर सोनी पिक्चर्स र प्लेस्टेसन प्रोडक्सन्सले यो रूपान्तरण खेलको मौलिक भावना (स्पिरिट) प्रति वफादार रहने बताएका छन् । यो समाचार यस वर्षको सिनेमाकन कार्यक्रममा पुष्टि गरिएको हो, जहाँ फिल्म स्टुडियो र सिनेमा क्षेत्रका अधिकारीहरू आगामी प्रोजेक्टहरूको झलक हेर्न भेला हुन्छन् । यो वार्षिक कार्यक्रम सोमबार लस भेगासमा सुरु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले टम हल्यान्डको होलोग्राममार्फत स्पाइडर–म्यानः ब्रान्ड न्यू डे को नयाँ दृश्य पनि हेर्न पाए । साथै २०१० को चर्चित फिल्म द सोसल नेटवर्क को सिक्वेल द सोसल रेकनिङको पहिलो झलक पनि प्रस्तुत गरियो । ब्लडबोर्नका जापानी कम्पनी फ्रमसफ्टवेयरद्वारा निर्माण गरिएको हो, जसले आफ्नो सफल डार्क सोल्स श्रृंखलाको आधारमा यसलाई विकास गरेको थियो । यो खेल कठिन र रणनीतिक लडाइँका लागि प्रसिद्ध छ ।
यो गेममा उच्चस्तरको सीप आवश्यक पर्ने खेलशैली र गोथिक–भिक्टोरियन परिवेशका कारण यो तुरुन्तै लोकप्रिय बनेको थियो । धेरैले यसलाई सबैभन्दा उत्कृष्ट भिडियो गेमहरूमध्ये एक मान्छन् । रिलिज भएयता ब्लडबोर्न खेलाडीहरूबीच लगभग मिथकीय (दन्त्यकथा जस्तो) स्थानमा पुगेको छ र उनीहरूले लामो समयदेखि यसको सिक्वेल वा रिमेकको माग गर्दै आएका छन् । तर फ्रॉमसफ्टवेयरले त्यसको सट्टा एल्डेन रिङ जस्ता अन्य खेलहरूमा ध्यान केन्द्रित गरेको छ, जसलाई पनि फिल्ममा रूपान्तरण गर्ने तयारी भइरहेको छ ।
यद्यपि शुरूवाती विकासमा रहेका सबै परियोजनाहरू पर्दासम्म पुग्छन् भन्ने निश्चित हुँदैन र विगतमा भिडियो गेमबाट बनेका फिल्महरू सधैं प्रशंसक र आलोचकहरूको अपेक्षा पूरा गर्न सफल भएका छैनन् । ज्याकसेप्टिसआइ (शोन म्याकलफलिन) युट्युबरका रूपमा चर्चित भए पनि पछिल्लो समय अभिनय क्षेत्रमा पनि सक्रिय हुँदै आएका छन् । उनी आइरन लङ नामक भूताहा फिल्ममा छोटो भूमिकामा देखिएका थिए, जुन सामाजिक सञ्जाल स्टार मार्किप्लायरले निर्माण र निर्देशन गरेका थिए ।
त्यस्तै, उनले गत वर्षको प्रशंसित भिडियो गेम डिस्प्याचमा सानो खलनायक पात्रलाई आवाज पनि दिएका थिए । म्याकलफलिनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत यस परियोजनामा संलग्न हुन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले भने, ‘म यसलाई सम्भव भएसम्म उत्कृष्ट ब्लडबोर्न रूपान्तरण बनाउन आफ्नो सम्पूर्ण प्रयास गर्नेछु ।’
सिनेमाकन २०२६ मा अरू के भयो ?
सिनेमाकनले सहभागीहरूलाई निर्माणाधीन फिल्महरूको विशेष झलक प्रस्तुत गर्छ । कार्यक्रममा स्पाइडर–म्यानः ब्रान्ड न्यू डेको नयाँ ट्रेलर देखाइएको थियो, जसले दर्शकहरूलाई भावुक बनाएको बताइएको छ । अमेरिकी सञ्चार माध्यम भेराइटीका अनुसार उक्त दृश्यमा पिटर पार्कर (टम हल्यान्ड) ले आफ्नो प्रेमिका एमजे अघि बढिसकेको थाहा पाउँछन् । यसअघि दर्शकहरूले पिटर पार्करले आफ्ना प्रियजनहरूको जीवन र सम्झनाबाट आफूलाई हटाएको दृश्य देखेका थिए । एमजेको भूमिकामा जेनडाया पुनः फर्कने तयारीमा छन् ।
त्यस्तै, एरन सोर्किनले आफ्नो नयाँ फिल्म द सोसल रेकनिङको क्लिप पनि प्रस्तुत गरे । यसमा जेरेमी स्ट्रङले मार्क जुकरबर्गको भूमिका निर्वाह गर्नेछन् । यस सिक्वेलमा मिकी म्याडिसन, जेरेमी एलन ह्वाइट र सिएरा क्याप्री पनि अभिनय गर्नेछन् । कथा फेसबुक इन्जिनियर र वाल स्ट्रिट जर्नलसँग सम्बन्धित ह्विसलब्लोइङ घटनाक्रम वरिपरि घुम्नेछ । त्यसैगरी, ड्वेन जोनसन, केभिन हार्ट र ज्याक ब्ल्याकले नयाँ फिल्म जुमान्जीः ओपन वल्र्डको विशेष झलक प्रस्तुत गरे । ड्वेन जोनसनले १९९५ को मूल फिल्ममा अभिनय गरेका रोबिन विलियम्सलाई श्रद्धाञ्जली पनि अर्पण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन