नेभिगेशन
राजनीति

मिनी संसद्मा रास्वपा हावी

सार्वजनिक लेखाबाहेक ११ वटै विषयगत समिति मनोनयन दर्ता

काठमाडौं । संघीय संसद्का १२ विषयगत समितिमध्ये एउटाको सभापति प्रतिपक्षीले पाउने भएको छ भने ११ वटा रास्वपाले नेतृत्व गर्ने भएको छ । विषयगत समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिको नेतृत्वका लागि मनोनयन दर्ता भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ । अन्य सबैमा सभापतिमा रास्वपा सांसदहरुले उम्मेदवारी दिएका छन् ।  प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकारमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले मनोनयन दर्ता गराएका छन् । 
यस्तै पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचनले मनोनयन दर्ता गराएका छन् । शिक्षा समितिमा एमालेमा गुरुप्रसाद बरालले पनि मनोनयन गराएका छन् । 
संघीय संसद्को संयुक्त समितिका रूपमा रहेका संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्कीको उम्मेदवारी दर्ता भएको छ । कार्कीसँग प्रतिष्पर्धा गर्न नेपाली कम्युनिष्ट पार्टीकी मदनकुमारी शाहले उम्मेदवारी दिएकी छन् । 
संघीय संसद् सचिवालयले सभापति उम्मेदवारको मनोनयन सूची प्रकाशित गरेको छ । शुक्रबार दिउँसो सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्