नेभिगेशन
मनोरञ्जन

टिकटकद्वारा १९ लाख ३२ हजार भिडियो डिलिट

काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने निरन्तरको प्रतिबद्धताअनुरूप क्यूफोर २०२५ को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न सहयोग पु¥याएको छ ।
क्यूफोर २०२५ अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघनका कारण कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको छ । अक्टोबरदेखि डिसेम्बरसम्म सक्रियरूपमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत कायम रह्यो, जसमा ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो ।
विश्वव्यापीरूपमा यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाएर हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनःस्थापना गरिएको थियो ।
सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेकामा ९३.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो । प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू हटाएको छ । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो ।
यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई–आधारित मोडरेसन प्रणालीमा भएको सुधारलाई संकेत गर्छ । यसले नियम उल्लंघन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको छ । साथै, कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ । यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ, जसले प्लेटफर्मको वास्तविकता र विश्वसनीयता कायम राख्ने प्रयासलाई बलियो बनाएको छ ।
प्रतिवेदनअनुसार हटाइएका भिडियोमध्ये २१.२ प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए, जुन टिकटकका कन्टेन्ट नीतिसँग मेल खाँदैनन् । थप ९.१ प्रतिशत भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लंघन गरेका थिए भने १.२ प्रतिशत भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लंघन गरेका थिए । यसबाहेक, १.६ प्रतिशत भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८ प्रतिशत भिडियो सम्पादन गरिएको वा एआई–निर्मित सामग्रीका रूपमा फ्ल्याग गरिएको थियो ।
टिकटक छोटो अवधिको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो । यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्नु हो । टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका कार्यालयहरू न्यूयोर्क, लण्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्