नेभिगेशन
राजनीति

चुनाव जित्न अब डिजिटल माध्यमबाटै लड्नुपर्छः पौडेल

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्ने बताएका छन् । 

पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक संगठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गरेका हुन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पारे । महामन्त्री पौडेलले सामाजिक सञ्जालमा पार्टीको प्रभाव बढाउन केन्द्रको डिजिटल युनिटले गर्ने पोस्टहरूलाई तल्लो तहसम्म पु-याउनुपर्ने बताए ।

यो अभियान पार्टीलाई जिताउन र संगठन विस्तारका लागि भएको उनको भनाइ छ । पार्टीका पुराना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्न बैंकको ‘केवाइसी’ जस्तै सदस्यता अध्यावधिक गर्न लागिएको पौडेलले जानकारी दिए । यसले पुराना सदस्यहरूको विवरण राख्न र उनीहरूलाई पार्टीमा सक्रिय बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।

महामन्त्री पौडेलले कतिपय निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत आएको बताए । ७ सय १ सय क्रियाशील सदस्य भएको ठाउँमा जम्मा ४ हजार २ सय मत आउनुलाई उनले ‘बेइमानीको पराकाष्ठा’ का रुपमा चित्रण गरे ।

यस्ता समस्या समाधान गर्न सदस्यता नवीकरण र अध्यावधिक अभियान अनिवार्य रहेको उनको तर्क थियो । पार्टीका वडा सभापति, क्षेत्रीय र जिल्ला समितिलाई काममा सक्रिय हुन पौडेलले आग्रह गरे ।

नेपाली काँग्रेसको सदस्य भएर आफ्नै उम्मेदवारलाई भोट नहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

यसलाई व्यवस्थित गर्न निष्ठावान् र इमान्दार सदस्य बनाउने प्रक्रिया अगाडि सारिएको उनले बताए । काठमाडौंमा यो अद्यावधिक अभियान वैशाख महिनाभित्रै सम्पन्न गर्न उनले आह्वान गरे । काठमाडौंको सफल म्यासेजले देशभर उत्साह भर्ने उनको दाबी छ । जिल्ला कार्यालयले नवीकरण गरेका र १५ औँ महाधिवेशनमा इन्ट्री भएका सदस्यहरूको मात्र विवरण अध्यावधिक हुने पनि उनले प्रस्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्