नेभिगेशन
राजनीति

कांग्रेस सभापति गगन थापाले भेटे पूर्णबहादुर खड्का

काठमाडौं । कांग्रेसका सभापति गगनकुमार थापाले पूर्व उपसभापति पूर्णबहादुर खड्कासँग उनकै निवास गोल्फुटार पुगेर भेट गरेका छन् । सर्वोच्च अदालतले सभापतिमा थापालाई वैधानिकता दिएपछि आइतबार साँझ पहिलो पटक उनीहरुबीच भेट भएको हो । गत शुक्रबार सर्वोच्च अदालतले थापा नेतृत्वको समितिलाई वैधानिकता दिएको थियो । 
कांग्रेसको विशेष महाधिवेशनबाट बनेको थापाको नेतृत्वमा नयाँ कार्यसमितिविरुद्ध शेरबहादुर देउवानिकट खड्का नेतृत्वको समूह अवैधानिक दाबी गर्दै सर्वोच्च पुगेको थियो । आधिकारिकताको विवाद अदालतमा टुंगो लागेपछि अदालतको फैसला स्वीकार्ने निर्णय खड्का समूहले शनिबार गरेको थियो । आइतबार दिउँसो पनि यो समूहको अलग्गै बैठक बसेको थियो । प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, प्रकाशशरण महत, गुरु बराल, नैनसिंह महर, कुन्दन काफ्ले, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने लगायत बैठकमा सहभागी थिए । उक्त बैठकमा डा. शेखर कोइराला भने सहभागी थिएनन् । 
अदालतको फैसला पछि सभापति थापाले पार्टी भित्रको विवाद समाधानमा लागि पहल गर्ने बताएका थिए । त्यसको भोलिपल्टै उनी खड्का निवास पुगेका हुन् । भेटमा पार्टीभित्र जारी विवाद समाधान गरेर जाने बारेमा सकारात्मक छलफल भएको सभापति थापाको सचिवालय स्रोतले जनाएको छ । 
‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ,’ थापाले शनिबार लेखेका छन्, ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’ कांग्रेसले पार्टीका असन्तुष्ट नेताहरुसँग संवाद गर्ने जिम्मेवारी थापालाई दिएको छ । सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उनको भनाइ छ ।
उनले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गरिसकेका छन् । इतरपक्षले महाधिवेशनका लागि साझा संयन्त्र बनाउनुपर्ने र क्रियाशील अद्यावधिक रोक्नुपर्ने माग गरेको छ । 
अनुशासन समितिको बैठक बस्दै 
कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आज (सोमबार) बस्ने भएको छ । पार्टीका कार्यालय सचिव दिनेश थापा मगरका अनुसार बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । यसअघि बैशाख २ को बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको थियो । 
उनले अदालतको फैसला नआउन्जेल स्पष्टीकरण नदिने बताएका थिए । अदालतले रिट खारेज गरेको छ । सभापति थापाले आइतबार नै खड्कालाई भेटेर पार्टीभित्रको विवाद समाधानका लागि पहल गरेपछि समितिले खड्काको स्पष्टिकरणबारे केही पनि नहुने सम्भावना बलियो बनेको समितिका एक सदस्यले बताए । खड्का स्वयंले अदालतको फैसला पछि आफू कार्यवाहक सभापति नरहेको बताइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्