नेभिगेशन
अर्थतन्त्र

सुशासनको नारामा ‘सेयर’को धक्का

गृहमन्त्री गुरुङका कारण नैतिक संकटमा सरकार

काठमाडौं । सुशासनको नारा दिएर गठन भएको सरकार गृहमन्त्री सुधन गुरुङका कारण नैतिक संकटमा परेको छ । यसअघि सम्पत्ति विवरण सार्वजनिक गर्दा नै उनीसहितका मन्त्रीहरुको ‘अस्वाभाविक’ भन्दै सम्पत्तिको स्रोतको खुलाउन माग उठिरहेका बेला गृहमन्त्री गुरुङको नाममा २५ हजार कित्ता सेयर रहेको खुलेको छ । जुन सेयर उनले बुझाएको सम्पत्ति विवरणमा देखाइएको छैन । आफ्नो लगानी सम्बन्धी विवरण लुकाएर सम्पत्ति विवरण सार्वजनिक गरेको पुष्टि भएपछि सरकारमाथि नैतिक प्रश्न उठेको छ । 
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनको २५ लाख बराबरको (२५ हजार कित्ता) सेयर रहेको प्रमाण सार्वजनिक भएको छ । गृह मन्त्रालय जस्तो संवेदनशील निकाय सम्हालेका मन्त्रीले सार्वजनिक गरेको आफ्नो ‘सम्पत्ति विवरण’ मा यो लगानीलाई किन लुकाइयो ? अहिले प्रश्न उठेको छ । त्यस्तै, मन्त्री गुरुङ र विवादास्पद व्यापारी भट्ट समूहबीचको सम्बन्धलाई पनि उजागर गरेको छ । 
अझ रोचक त के छ भने, उनले जुन कम्पनीको सेयर विवरणमा खुलाएका छैनन्, त्यही कम्पनीका मुख्य लगानीकर्ता  दीपक भट्ट यतिबेला सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा प्रहरी हिरासतमा छन् । स्रोतका अनुसार भट्टको शंकास्पद कारोबार र लगानीसँग जोडिएको विषयमा आइतबार नै बयान सकिएको छ ।
केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा पुननिर्युक्ति दिलाएको आरोपमा दीपक साहलाई स्पष्टीकरणको मौका समेत नदिई श्रममन्त्रीबाट पदमुक्त गरेको थियो । एकजना मन्त्रीलाई सामान्य नैतिकताको आधारमा हटाउने सरकारले, अर्का शक्तिशाली गृहमन्त्रीले विवादास्पद व्यापारी जोडिएको कम्पनीमा रहेको सेयर लुकाउँदा के गर्छ ? यो अहिले सर्वत्र चासोको विषय बनेको छ ।
सरकारले गुरुङलाई संरक्षण गर्छ वा सुशासनको अग्निपरीक्षामा खरो उत्रिन्छ, त्यो भने हेर्न बाँकी छ । तर, यो प्रकरणले प्रधानमन्त्री वालेन्द्र शाहको सुशासनको एजेन्डालाई भने गम्भीर धक्का पु¥याएको छ ।
गृहमन्त्री गुरुङको कार्यशैलीलाई लिएर रास्वपा सांसद आशिका तामाङ र मधु चौलागाईंले यसअघि नै  प्रश्न उठाएका थिए । अहिले गुरुङ सम्पत्ति विवरणमा नदेखाएको सम्पत्ति फेला परेको विषयलाई लिएर रास्वपाभित्र उनलाई लिएर अब के गर्ने ? छलफल शुरु भएको छ । यसअघि रास्वपा सभापति रवि लामिछानेले उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाउन खोजेका थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाहकै अडानपछि गुरुङ गृहमन्त्री  गुरुङ नियुक्त भएका थिए । 
गृहमन्त्री गुरुङले सेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी रहेको सम्पत्ति विवरण बुझाएका थिए ।
गुरुङले आफ्नो नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको र उक्त जग्गा निजी लगानीबाट प्राप्त पैसाबाट किनिएको विवरणमा खुलाएका थिए । बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कट्ठा र हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको विवरणमा थियो । उनीसँग ८९ तोला सुन, ६ चाँदी र विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको विवरणमा छ । त्यस्तै उनको सवारीसाधनमा ४८ लाख रुपैयाँ बराबरको एमजी–एस फाइभ कार पनि रहेको विवरणमा छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त सम्पत्ति विवरण सार्वजनिक गरेको थियो । उक्त विवरण अनुसार गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको सेयर बजारमा लगानी देखिएको थियो । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण सेयर रहेको उल्लेख छ । उक्त सेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।
त्यस्तै, सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने सेयरहरू’ मा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् । व्यावसायिक र पैतृक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार, ‘धितोपत्र बजारमा कारोबार हुने सेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।
एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो सेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान सेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्