चितवनको माडी नगरपालिकामा सुरु गरिएको सालका पातबाट दुना–टपरी उत्पादन अभियान केवल एउटा सानो स्थानीय पहल मात्र होइन, यो वातावरण संरक्षणतर्फको ठूलो सन्देश बोकेको उदाहरणीय कदम हो । प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले विश्वव्यापीरूपमा वातावरणमा गम्भीर असर पारिरहेको सन्दर्भमा माडीको यो प्रयासले ‘पर्यावरण जोगाऔं, प्लास्टिक घटाऔं’ भन्ने नारालाई व्यवहारमा उतारेको छ ।
आजको युगमा प्लास्टिक हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । सजिलो, सस्तो र सहज उपलब्धताका कारण प्लास्टिकको प्रयोग हरेक क्षेत्रमा बढ्दो छ । तर यसको दीर्घकालीन असर भने अत्यन्तै घातक छ । प्लास्टिक सजिलै नगल्ने हुँदा माटो, पानी र हावामा प्रदूषण फैलाउँछ । नदी, खोल्सा र समुद्रसम्म प्लास्टिक फोहोर पुग्दा जलचर जीवनमा खतरा बढ्छ भने मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पर्न सक्छ । यही कारणले विश्वभर प्लास्टिकको विकल्प खोज्ने प्रयास भइरहेका छन् ।
यस्तो अवस्थामा माडी नगरपालिकाले स्थानीय स्रोत सालका पातलाई उपयोग गर्दै प्लास्टिकको विकल्प प्रस्तुत गर्नु दूरदर्शी सोचको परिचायक हो । सालका पातबाट बनाइने दुनाटपरी पूर्णरूपमा जैविक हुन्छन्, जसले प्रयोगपछि वातावरणमा कुनै नकारात्मक असर पार्दैन । परम्परागतरूपमा प्रयोग हुँदै आएका यस्ता सामग्रीलाई आधुनिक उपकरण र बजारसँग जोडेर पुनःस्थापित गर्नु दिगो विकासको उत्कृष्ट उदाहरण हो ।
यस अभियानको अर्को महŒवपूर्ण पक्ष भनेको महिला सशक्तीकरण हो । स्थानीय महिला समूहहरूले उत्पादनमा सक्रिय सहभागिता जनाउँदै घरमै रोजगारीको अवसर सिर्जना गरेका छन् । यसले आर्थिक आत्मनिर्भरता बढाउनुका साथै सामाजिक सशक्तीकरणमा पनि योगदान पु¥याएको छ । बिहान–साँझको फुर्सदमा पात संकलनदेखि उत्पादनसम्मको कामले महिलाको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।
साथै, सामुदायिक वन, स्थानीय सरकार र संरक्षण संस्थाबीचको सहकार्यले यो अभियानलाई अझ प्रभावकारी बनाएको छ । प्राकृतिक स्रोतको दिगो उपयोग कसरी गर्न सकिन्छ भन्ने सन्देश यसले स्पष्टरूपमा दिएको छ । वनमा खेर जाने सालका पातलाई उपयोगमा ल्याएर एकातिर फोहोर घटाइएको छ भने अर्कोतर्फ आम्दानीको स्रोत पनि सिर्जना गरिएको छ ।
माडीमा सुरु भएको यो अभियानले प्लास्टिकमुक्त समाजतर्फको यात्रा सम्भव छ भन्ने देखाएको छ । विवाह, भोजभतेर, धार्मिक कार्यक्रमजस्ता सामूहिक गतिविधिमा दुनाटपरीको प्रयोग बढ्दै जानु सकारात्मक संकेत हो । यदि यस्ता प्रयासलाई व्यापक बनाइयो भने प्लास्टिकको प्रयोग उल्लेखनीयरूपमा घटाउन सकिन्छ ।
तर यस्ता अभियानलाई सफल बनाउन केवल स्थानीय पहल मात्र पर्याप्त हुँदैन । सरकारको स्पष्ट नीति, बजार व्यवस्थापन, जनचेतना अभिवृद्धि र प्रविधिको सहयोग आवश्यक हुन्छ । विद्यालयस्तरदेखि नै प्लास्टिकको हानिकारक प्रभावबारे शिक्षा दिनु र वैकल्पिक सामग्री प्रयोग गर्न प्रोत्साहित गर्नु आवश्यक छ ।
अन्ततः वातावरण संरक्षण कुनै एक दिनको अभियान होइन, यो निरन्तर अभ्यास हो । माडी नगरपालिकाको सालपात अभियानले देखाएको बाटो अन्य क्षेत्रका लागि पनि प्रेरणादायी बन्न सक्छ । यदि हामी सबैले प्लास्टिकको प्रयोग घटाएर वातावरणमैत्री विकल्प अपनाउने हो भने मात्र स्वच्छ, स्वस्थ र दिगो भविष्य सुनिश्चित गर्न सकिन्छ । ‘आजको सानो परिवर्तन, भोलिको ठूलो बचत’ भन्ने सोचका साथ अब हामी सबैले प्लास्टिक कम गर्ने र पर्यावरण जोगाउने दिशामा कदम चाल्नु जरुरी छ ।