नेभिगेशन
राजनीति

राप्रपामा अधिवेशन तयारी सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा अधिवेशन तयारीको भेटघाट सुरु भएको छ । जेठभित्र महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको निर्णय छ । त्यसअनुसार निष्पक्ष व्यक्तित्वको संयोजकत्वमा महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन राप्रपाको एउटा पक्षले पार्टीका शीर्ष नेताहरूसँग भेट गरेको छ ।
महामन्त्री डा. धवलशम्सेर राणाको नेतृत्वको टोलीले आइतबार पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाको निवास ‘विजयवास’ पुगेर राप्रपाका अभिभावक नेताहरूलाई भेटेको हो । भेटका क्रममा टोलीले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी जेठ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । भेटमा पूर्वअध्यक्षहरू पशुपतिशम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँगै वरिष्ठ नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेत उपस्थित थिए ।
फागुन २१ को निर्वाचनमा पार्टीले प्रत्यक्षमा एउटामात्रै सीट जितेको छ । पार्टीको अस्तित्वमै प्रश्न उठेका बेला नेताहरु संगठन सुदृढिकरणमा गम्भीर देखिएका छन् । 
अभिभावक नेताहरूले इतर पक्षले उठाएको विषय गम्भीर रूपमा लिएका थिए । इतर पक्षसँगको भेटपछि समस्याको निकास खोज्न अभिभावक नेताहरूले गम्भीर छलफल गरेको बुझिएको छ ।
केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेकाले तत्काल मिति घोषणा गरी अन्योलता चिर्नुपर्ने धारणा महामन्त्री राणाले राखेका थिए । यसैगरी विश्वसनीय रूपमा महाधिवेशन आयोजना गर्न कुनै निष्पक्ष व्यक्तित्वको संयोजनमा महाधिवेशन आयोजक समिति गठन हुनु पर्ने कुरा ध्यानाकर्षण गराएको नेता सगुन सुन्दर लावतीले जानकारी दिए ।
पार्टीलाई नयाँ ऊर्जा र ताजगी दिन महाधिवेशनको विकल्प नभएको भन्दै रोकेर राखिएको प्रक्रिया तत्काल खुला गर्नुपर्ने असन्तुष्ट पक्षको भनाइ छ । हालसम्म २७ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा जेठमा महाधिवेशन सम्पन्न गर्न कुनै कठिनाइ नहुने कुरा छलफलमा उठेको थियो । चुनावी असफलतापछि कार्यकर्तापंक्तिमा रहेको अन्योलतालाई चिर्न समयमै महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य रहेको विषय भेटमा राखिएको थियो ।
नेता लावतीले पार्टीको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नयाँ नेतृत्व र नयाँ कार्यदिशाका लागि महाधिवेशन अनिवार्य भएको र यसमा अभिभावकहरूले ठोस पहल गर्नुपर्ने माग राखिएको बताए ।
पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर विवाद बढ्दै जाँदा असन्तुष्ट पक्ष पार्टी अभिभावकका रूपमा रहेका वरिष्ठ नेताहरूका पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्