नेभिगेशन
अर्थतन्त्र
शेयर प्रकरणमा गृहमन्त्रीको स्पष्टीकरण

‘सम्पत्ति लुकाएको होइन, वर्गीकरण गरिएको हो’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङल आफ्नो नाम जोडिएर भइरहेका शेयर विवादबारे औपचारिक स्पष्टीकरण दिँदै आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका छन् । मन्त्री गुरुङले आफ्नो सम्पत्ति विवरणमा नखुलाएको स्टार माइक्रो इन्स्योरेन्समा २५ लाखको संस्थापक शेयरको विषयलाई लिएर प्रश्न उठेको थियो । प्रष्टीकरणमा उनले २५ लाखको शेयर लुकाएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् । 
सम्पत्ति लुकाइएको भन्ने आरोपको जवाफ दिँदै मन्त्री गुरुङले आफूले मन्त्रिपरिषद्को वेबसाइटमा दुई करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरेको बताएका छन् । ‘स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही समूहभित्र समेटिएको हो,’ उनले भनेका छन्, ‘यो लुकाउने नियत होइन, प्राविधिक वर्गीकरणको विषय मात्र हो । लुकाउने मान्छेले २ करोडको सम्पत्ति सार्वजनिक गर्दैन ।’
त्यस्तै, उनको सम्पत्तिको स्रोतमाथि उठेको प्रश्नमा जवाफ दिँदै सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको दाबी गरेका छन् । लगानी गरिएको रकम २०८० भदौ २९ को लिखित तमसुकअनुसार ऋण (कर्जा)बाट जुटाइएको र त्यसको पूर्ण रेकर्ड बैंकमा सुरक्षित रहेको उनको दाबी छ । 
स्वार्थको द्वन्द्वबारे उठाइएका प्रश्नमा उनले यसबारे छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभाग रहेका बताएका छन् ।  
लगानी र बिचौलियापन फरक विषय भएको उल्लेख गर्दै गुरुङले  व्यक्तिगत लगानीलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आरोप र सत्य एउटै होइनन्, निर्णय प्रमाणका आधारमा हुनुपर्छ ।’ उनले यस विषयमा पार्टीले गर्ने हरेक निर्णय पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । रास्वपाले यसअघि पदको दुरुपयोग गरेको प्रश्न उठेपछि रास्वपाले श्रम मन्त्री दीपक साहलाई पदमुक्त गरेको थियो । 
रास्वपाको सोमबार बसेको बैठकपछि प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग भने, ‘सबै कुरा प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय यी चार तहको हुन्छ । जुन कुराको प्रस्ताव र छलफल नै यथेष्ट भइसकेको छैन भने निर्णय सुनाउँदै गर्न हुन्छ र ?’ स्रोतका अनुसार रास्वपा बैठकमा गुरुङको विषयले खासै प्राथमिकता पाएन । सभापति रवि लामिछानेले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले स्पष्टीकरण दिएको र त्यसमा अध्ययन भइरहेको बताए ।
दोस्रो बजार कारोबारमै सूचीकृत हुन बाँकी कम्पनीका शेयरलाई ‘धितोपत्र बजारमा कारोबारमा रहेका शेयर आफूले किनेको’ दाबी गर्दै गृहमन्त्री गुरुङले झुठो बोलिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह थाहै नपाएजसरी प्रतिक्रियाविहीन छन् । रास्वपाभित्र सांसद्लाई छटपटी बढेको छ । श्रममन्त्रीबाट दीपक साहलाई ‘रिकल’ गरेजस्तो गर्न पार्टी सभापति रवि लामेछानेमाथि नैतिक संकट आएको छ ।  
गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छः कांग्रेस 
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको शेयर लगानी र सम्पत्तिको स्रोतको विषयमा ध्यानाकर्षण भएको भन्दै राजीनामा मागेको छ । कांग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठेको बारे धारणा सार्वजनिक गर्दै घुमाउरो शैलीमा उनको राजीनामा मागेको छ । 
गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने कांग्रेसको आशंका छ । ‘अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ,’ कांग्रेसले भनेको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् ।’
कांग्रेसले यो माग कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारका लागि भएको पनि जनाएको छ । गृहमन्त्रीले हालै दिएको स्पष्टीकरणमा शेयर लगानीलाई ‘वर्गीकरणको विषय’ र ‘बैंकिङ च्यानल’बाट भएको कारोबार भने पनि कांग्रेसले त्यसलाई पर्याप्त मानेको छैन । लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा रहेका पारदर्शिता र जवाफदेहिताका लागि तथ्यमा आधारित छानबिन हुनुपर्ने कांग्रेसको जिकिर छ ।
यसअघि गृहमन्त्रीले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि प्रमुख प्रतिपक्षी दल (वा सत्ता साझेदार दलको असन्तुष्ट पक्ष)का रूपमा कांग्रेसले सरकारसमक्ष औपचारिक रूपमै छानबिनको माग गरेको हो । त्यस्तै, अर्को प्रतिपक्षी दल राप्रपाले पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ । राप्रपा सचेतक खुश्बु ओलीले प्रश्न उठेपछि त्यसको जवाफ दिनुपर्ने बताइन् । ‘सुशासनको मुख्य एजेण्डा बोकेको रास्वपाले तुरुन्त छानबिन कमिटी बनाएर छानबिन गर्नुपर्छ । प्रश्न उठिसकेपछि त्यसमा जवाफदेही बन्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्