नेभिगेशन
राजनीति

पूर्वमन्त्री किराँतीको रास्वपालाई प्रश्नः गृहमन्त्री गुरुङमाथि ‘राइट टु रिकल’ लागू नहुने हो ?

काठमाडौँ । पूर्व मन्त्री तथा कम्युनिष्ट नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै ‘राइट टु रिकल’ र मन्त्री बर्खास्तीसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले रास्वपाको चुनावी वाचापत्रमा उल्लेख गरिएको ‘राइट टु रिकल’ को अर्थ, यसको कार्यान्वयनको अवस्था र कस–कसमा लागू हुने भन्नेबारे स्पष्ट पार्न माग गरेका हुन्।

किराँतीले ‘राइट टु रिकल’ लागू नहुने हो भने श्रम मन्त्री दीपक कुमार साहलाई छिट्टै किन बर्खास्त गरियो भन्दै प्रश्न उठाएका छन्। साथै, गृहमन्त्री सुदन गुरुङको हकमा उक्त व्यवस्था लागू हुन्छ कि हुँदैन भन्नेबारे पनि स्पष्टता खोजेका छन्।

उनले एउटै कानुन सबैमा समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै निर्णय प्रक्रियामा दोहोरो मापदण्ड प्रयोग गरिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

किराँतीले गृहमन्त्री गुरुङमाथि उठेका प्रश्नबारे छानबिन गर्न माग गर्दै रास्वपाले आफ्नो भनाइअनुसार पारदर्शिता र नैतिकता देखाउनुपर्ने बताएका छन्। “लौन गर्नुपर्‍यो छानबिनको माग, देखाउनुपर्‍यो संस्कार र नैतिकवान् छाती, नत्र पुरानो र नयाँमा के भिन्नता ?” भन्ने प्रश्न उनले उठाएका छन् ।

उनले आफूले उठाएका प्रश्नहरू देशप्रतिको जिम्मेवारीका आधारमा गरिएको उल्लेख गर्दै थप शंका उत्पन्न नहोस् भन्ने उद्देश्यले स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्