नेभिगेशन
स्वास्थ्य

टिकटकमा भिडियो राख्ने डाक्टरलाई कारबाही

काठमाडौं । धेरैले आफ्नो भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका हुन्छन् । केही पेशा व्यावसायका मान्छेले पनि कार्यस्थलमा रहँदाको भिडियो बनाएर पोस्ट गर्ने गरेका छन् । तर धेरै पेशाका मान्छेलाई धेरै अवस्थाको भिडियो बनाएर पोस्ट गर्न आचारसंहिताले बन्देज लगाएको हुन्छ । तर धेरैलाई आफ्नो पेशा व्यवसायमा सामाजिक सञ्जाल सञ्चालनको ज्ञान नहुँदा समस्या पर्ने गरेको छ ।
आफ्नो पेशाको ख्याल नगरी भिडियो पोस्ट गर्ने एक जना चिकित्सक कारबाहीमा परेका छन् । ती डाक्टरले बिरामीको उपचार गरेको दृश्य लगायतका स्वास्थ्य उपचार सम्बन्धी भिडियोहरू सामाजिक सञ्जालमा राखेपछि नियामक निकाय नेपाल मेडिकल काउन्सिलले उनलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने डाक्टर भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आबद्ध डा. सुधीरप्रसाद साह हुन् । 
काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको उनले पोस्ट गरेको भिडियो सामग्रीका विषयमा डा. साहलाई स्पष्टीकरण सोधेको हो । भिडियो सामग्रीले पेसागत आचारसंहिता उल्लंघन गरेको आरोप लागेको थियो । काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म टिकटकमार्फत सार्वजनिक गरिएका भिडियोको विस्तृत अध्ययनपछि प्रारम्भिक रूपमा ‘कोड अफ एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट, २०१७’ का विभिन्न प्रावधान उल्लंघन भएको निष्कर्ष निकालिएको बताए । डा. देवले उक्त भिडियोले चिकित्सकीय पेसाको मर्यादा, बिरामीसँग सम्बन्धित संवेदनशील विषयको प्रस्तुति तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी मापदण्डमा प्रश्न उठेको बताए । काउन्सिलले डा. साहलाई सोधेको स्पष्टीकरणमा सात दिनभित्र काउन्सिलमा जवाफ पठाउन निर्देशन दिइएको छ ।
उनले सामाजिक सञ्जालमा सक्रिय रहँदै विभिन्न विषयमा भिडियो सामग्री बनाउँदै पोस्ट गर्दै आएका थिए । ती भिडियो छोटो समयमै व्यापक रूपमा फैलिएको र आमसर्वसाधारणबिच ठूलो चासोको विषय बनेको थियो । मेडिकल काउन्सिलले यसअघि पनि चिकित्सकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन, पेसागत मर्यादा कायम राख्न र बिरामीको गोपनीयता जोगाउन पटक पटक निर्देशन दिँदै आएको छ । काउन्सिलको निर्देशनलाई बेवास्ता गर्दै सामाजिक सञ्जालमा आचारसंहिता विपरीत पोस्ट गर्ने चिकित्सकहरूलाई कारबाही गर्ने क्रममा डा. देवलाई कारबाही गरिएको हो । यो कारबाहीले अरुलाई पनि सचेत गराउने आशा गरिएको छ ।
यसअघि काउन्सिलले गत फागुनको अन्तिम साता वीरगञ्जको प्रभु हस्पिटल एन्ड रिसर्च प्रालिका चिकित्सक डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको थियो । बिरामीको उपचारका क्रममा जाँच पड्ताल गरेर रिपोर्ट आउन्जेलसम्म पनि नकुरी हतार–हतार शल्यक्रिया गर्दा बिरामीको भित्री अंगमा संक्रमण भएर ज्यान गएपछि विवादमा तानिएका डा. गुप्तालाई उजुरी दिएको १४ महिनापछि डा. गुप्तामाथि कारबाही भएको थियो । बिरामीको परिवारजनले दिएको उजुरी उपर अनुसन्धान गरी प्राप्त निष्कर्षको आधारमा उनीमाथि कारबाही भएको मेडिकल काउन्सिलले जनाएको थियो । काउन्सिलको पूर्ण बैठकले गुप्तालाई छ महिनाका लागि प्रोबेसन कारबाही गरेको हो । जस अनुसार गुप्ताले अन्य चिकित्सकको निगरानीमा रहेर मात्र बिरामीको उपचार गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्