नेभिगेशन
साहित्य

सन्तानलाई डरलाग्दा कथा

एउटा प्रतिवेदनका अनुसार, विद्यालयहरूले ११ देखि १३ वर्षका बालबालिकाहरूलाई पढ्नका लागि प्रोत्साहित गर्न हास्यप्रधान पुस्तक र डरलाग्दा (हरर) कथाहरू उपलब्ध गराउनुपर्छ । यसका साथै शिक्षाविद्हरूले शिक्षक र अभिभावकहरूलाई बालबालिकाका लागि ‘उपयुक्त’ पुस्तकका बारेमा राख्ने गरेको दम्भी सोच त्याग्न समेत आग्रह गरेका छन् ।
ओपन युनिभर्सिटीले ११ देखि १२ वर्ष उमेरका चार हजार बालबालिकाहरूको प्रतिक्रिया विश्लेषण गरी तयार पारेको अध्ययनले उनीहरूले सबैभन्दा बढी डरलाग्दा, साहसिक र रहस्यमयी पुस्तकहरू मन पराउने देखाएको छ ।
जुन बालबालिकाहरूको साक्षरता वा पढ्ने क्षमता अलि कम थियो, उनीहरूले हास्यप्रधान पुस्तकहरू सबैभन्दा बढी मन पराए र त्यसपछि डरलाग्दा कथाहरू रोजे । कमेडी वा ठट्टाका पुस्तकहरू भने सबै प्रकारका क्षमता भएका बालबालिकाहरूमाझ समान रूपमा लोकप्रिय पाइए ।
यस प्रतिवेदनकी सह–लेखिका प्राध्यापक टेरेसा क्रेमिनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘मैले कमिक्स पढेरै पढ्न सिकेकी हुँ । मेरी आमाले कमिक्स पढ्न मन नपराए पनि बुबाले सधैँ किनिदिने गर्नुहुन्थ्यो ।’
उनका अनुसार बालबालिकाले पढ्ने पुस्तकका सन्दर्भमा समाजमा अक्सर एक किसिमको तुजुक वा घमण्ड देखिन्छ । ‘शिक्षकहरू प्रायः गम्भीर, गहन र लामा उपन्यासहरू मात्र बालबालिकाले पढून् भन्ने चाहन्छन्, तर विद्यार्थीहरू सधैँ त्यसो चाहँदैनन् । पढाइमा निकै रुचि राख्ने पाठकहरूलाई पनि कहिलेकाहीँ हल्का कुरा पढेर विश्राम लिन मन लाग्छ । म आफैँ पनि पत्रिकाहरू किन्छु, लामा कथाहरू पनि पढ्छु र अझै पनि बालबालिकाका लागि लेखिएका कथाहरू पढ्ने गर्छु,’ प्राध्यापक क्रेमिनले भन्छन् ।
उनले थपे, ‘मुख्य कुरा पुस्तक लामो वा छोटो भन्ने होइन । के हामीले बालबालिकालाई लियो टोल्सटोयको ‘वार एण्ड पिस’ जस्ता गहकिला किताब पढाउन मात्रै खोजेका हौँ र ? पक्कै पनि होइन । हामी त बालबालिकाले पढेर त्यसबाट अर्थ निकालून्, परिवेशसँग सम्बन्ध गाँसून् र एउटा किताब सकिएपछि अर्को पनि पढौँ भन्ने इच्छा जगाऊन् भन्ने चाहन्छौँ ।’
क्रेमिनका अनुसार आजको जटिल संसारको वास्तविकताबाट केही समय टाढा रहन धेरै बालबालिकाहरूले यस्ता कथाहरू खोजिरहेका हुन सक्छन् । उनी भन्छन्, ‘अहिलेको वास्तविक संसार निकै कठोर छ । डरलाग्दा कथा, हाँस्यव्यंग्य र रहस्यमयी कथाहरूमा एउटा साझा कुरा के छ भने, यी सबै कुरा प्रायः वास्तविक हुँदैनन् । सायद बालबालिकाहरूले त्यही काल्पनिकतामा अलिकति शान्ति खोजिरहेका छन् कि ?’
सर्वेक्षणमा कविता विधा सबैभन्दा कम रुचाइएकोमा प¥यो भने त्यसपछि विज्ञान कथा (साइन्स फिक्सन) दोस्रो स्थानमा रह्यो । हाल बालबालिकाहरूमाझ लोकप्रिय रहेका डरलाग्दा पुस्तकहरूमा होली ज्याक्सनको ‘अ गुड गल्र्स गाइड टु मर्डर’ र आरएल स्टाइनको पुनर्जीवित ‘गुजबम्प्स’ शृंखलाहरू छन् । त्यस्तै, ‘द डायरी अफ अ विम्पी किड’, ‘द एक्स्ट्रेम्ली एम्ब्यारासिङ लाइफ अफ लोटी ब्रुक्स’ र ‘डग म्यान’ हास्य विधामा सबैभन्दा बढी बिक्री हुने पुस्तकहरूमा पर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य