नेभिगेशन
उपत्यका

प्राथमिक उपचारकर्ता तयार गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेका छन् । ‘वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ,’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले, घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भने, ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’ वडास्तरीय प्राथमिक उपचार तालिमअन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उनले भने, ‘सीप सिकेको राम्रो । तर, सकेसम्म यो सीपको प्रयोग गर्नु नपर्ने अवस्था हुनु राम्रो हो । परिहालेका बेला कसैले पनि पछाडि हट्नुहुँदैन । प्राथमिक उपचार पनि अरूको सेवा गर्छु भनेर सिक्ने सीप हो । यो आफूलाई कम र अरूलाई धेरै काम लाग्छ ।’
दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटना स्थलवरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप बिग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ । यसमा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृत्रिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, बेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सीप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा बिरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।
‘महानगरपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदायस्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्धन केन्द्रहरूमा प्रयोगशालासहितका सुविधा थपिएको छ,’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले भने, ‘करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धि गर्नमा खर्च गरिरहेका छौं ।’
दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने महानगरपालिकासँगको सम्झौतालाई गुणस्तरीय दायित्वका रूपमा पूरा गर्ने बताउँदै रेडक्रस सोसाइटी काठमाडौं शाखाका सभापति श्यामकाजी डोटेलले अहिलेको लगानी विपद्का समयमा काम लाग्ने बताए । तालिमका प्रशिक्षक राजाराम श्रेष्ठले तालिममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहका २३ जना महिला र २ जना पुरुष सहभागी भएको जनाए । यो तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपालसहित १९२ देशमा मान्य हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका