नेभिगेशन
साहित्य

डेढ लाख पुरस्कारका लागि पुस्तक आह्वान

एक लाख ५० हजार राशिको ‘साहित्यपोस्ट पुरस्कार २०८२’ का लागि पुस्तक आह्वान गरिएको छ । काव्य, आख्यान र गैरआख्यान तीन विधामा तीन नवोदित लेखकका सर्वोत्कृष्ट कृतिलाई प्रदान गर्ने नगदसहितको सम्मानका लागि वैशाख १५ गतेसम्म पुस्तक पेश गर्न साहित्यपोस्टले आह्वान गरेको हो ।
काव्यका लागि ‘साहित्यपोस्ट काव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ नामका विधागत रूपमा प्रदान गरिने यी सम्मानको पुरस्कार राशि ५०–५० हजार रुपियाँ रहेको छ ।
०८२ सालभित्र (वैशाख १ देखि चैत्र ३० सम्म) आफ्नो पहिलो पुस्तक प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कवि यी पुरस्कारको हकदार बन्नुहुनेछ । पुरस्कारका लागि ०८२ सालमा प्रकाशित भएका पहिलो कृति पठाउन साहित्यपोस्टले लेखक तथा प्रकाशकहरूमा आह्वान गरेको छ ।
समयसीमा नाघी प्राप्त हुन आउने कृतिहरूलाई पुरस्कारका लागि समेट्न नसकिने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।
०८२ सालकम प्रकाशनमा आएका कवि–लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तक दर्ता शुल्क लाग्ने छैन, तर लेखक वा प्रकाशकले पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारीसहित निवेदनपत्रका साथमा तीन प्रति कृति सहित्यपोस्टको कार्यलयमा उपलब्ध गराउनु पर्नेछ ।
‘पहिलो पुस्तक’लाई लिएर साहित्यकार तथा प्रकाशकहरूमा केही द्विविधा देखिएकाले विषयगत रूपमा पहिलो नभएर ‘लेखकको लेखनकै पहिलो पुस्तक’ हुनुपर्ने समेत साहित्यपोस्ट व्यवस्थापन विभागले प्रस्ट पारेको छ ।

‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरू छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरूलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरू हामीकहाँ पाउन मुश्किल छ । यही सत्यलाई स्वीकार्दै ०७७ सालबाट साहित्यपोस्टले यो अभियान शुरु गरेको हो,’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘लेखक–कवि तथा प्रकाशकहरूले समयमै पुरस्कारको मूल्यांकनभित्र पर्ने पुस्तकहरू उपलब्ध गराई विगतका वर्षहरूमा झैं नवोदित लेखकलाई हौसला प्रदान गर्ने साहित्यपोस्टको अभियानमा सहयोग पु¥याइदिनुहुन अनुरोध गर्दछु ।’
व्यवस्थापन विभागका अनुसार वर्षभरि प्रकाशनमा आएका काव्य (कविता, गजल, मुक्तक, हाइकु, बाछिटा आदि) संग्रहबाट एकजना कवि; आख्यान (कथा, उपन्यास, नाटक, लघुकथा आदि) संग्रहबाट एकजना आख्यानकार तथा गैरआख्यान (निबन्ध, नियात्रा, नेपाली भाषा साहित्यसम्बन्धी अध्ययन–अनुसन्धानात्मक कृतिहरू आदि) बाट एकजना गरी तीन जना नवोदित स्रष्टालाई ५०–५० हजार राशिको नगद पुरस्कारसहित सम्मान गरिनेछ ।
काव्य, आख्यान र गैरआख्यान पुरस्कारको प्रायोजन क्रमशः गीतकार एवं कवि उत्तम भौकाजी, साहित्यकार चैतन्य अधिकारी तथा कवि एवं समालोचक विनयकुमार भण्डारीले गरेका छन् । 
साहित्यपोस्ट शुरु भएको पहिलो वार्षिक उत्सवमा एक जना नवोदित लेखकलाई सम्मान गरी यो अभियानको शुरूवात गरिएको थियो । यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई ५० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरिएको थियो ।
दोस्रो वर्ष (०७८) ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमशः भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
२०७९ सालबाट विधागत रूपमा तीन विधा (काव्य, आख्यान र गैरआख्यान) का उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न थालिएको हो । ०७९ का लागि काव्यतर्फ गजलसंग्रह ‘मफलर’का लागि प्रदीप रोदन, आख्यानतर्फ उपन्यास ‘यशोधरा’का लागि हरिबोल काफ्ले तथा गैरआख्यानतर्फ संस्मरण ‘मुटुसँग सहयात्रा’का लागि डा. अवनिभूषण उपाध्यायलाई क्रमशः ‘साहित्यपोस्ट काव्य पुरस्कार’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यसैगरी, २०८० मा ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ सागर खड्काको उपन्यास ‘राइपाली भञ्याङ’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ उमाकान्त पौड्यालको अनुसन्धानमुलक कृति ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।
त्यस्तै, गत वर्ष ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासंग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका वान्तवाको उपन्यास ‘प्याउली’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ रमेश भुसालको नियात्रा कृति ‘छालबाटो’लाई प्रदान गरिएको थियो ।
नयाँ लेखक–कविहरूमा साहित्यप्रति रूचि जगाउन विभिन्न पुरस्कार एवं सम्मान गर्दै आएको साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
२४ पुस्तक एकै पटक

२४ पुस्तक एकै पटक

सन्तानलाई डरलाग्दा कथा

सन्तानलाई डरलाग्दा कथा