माग्ने बुढाका रूपमा चर्चित केदार घिमिरेले सामाजिक सञ्जालमा अर्का कलाकार दीपकराज गिरीसँग माफी मागे । उनले आफ्नो फिल्म चलिरहेका बेला उनीमाथि सामाजिक सञ्जालमा भएका आक्रमणमाथि बोल्न मन भए पनि यतिबेला सिनेमा हलमा ‘माग्ने राजा’ प्रदर्शनरत रहेका कारण केही टिप्पणी गर्न असमर्थ रहेको भन्दै माफी मागेका छन् ।
उनले लेखेका छन्, ‘तपाईं आफू विवादमा नपर्नू भनेर सम्झाउनुहुन्छ । चाहिएका बेला तपाईंले अरूका लागि आफ्नो काँध थापिदिनुहुन्छ । यसअघि तपाईंले धेरै जनाको पक्षमा बोल्नुभयो र फोकटमा गाली पनि पाउनुभयो ’
समीक्षा अधिकारी, एलिना चौहान, रवि लामिछाने, प्रकाश सपूतलाई परेका बेला साथ दिएको भन्दै उनले अहिले रोहित अधिकारीका पक्षमा बोलेकामा प्रशंसा गर्दै भनेका छन्, ‘अहिले जसले तपाईंलाई लखेटिरहेका छन्, भोलि उसैलाई तपाईंले समर्थन गर्ने दिन पनि नआउला भन्न सकिन्न । ’ जसको कोही हुँदैन, उसका लागि दीपकराज गिरी भन्छन् भन्ने उनले भनेका छन्, ‘अहिले लाई म यति मात्र बोल्छु... केही बोल्दिनँ । ’
यसरी सांकेतिक रूपमा अभिनेता केदार घिमिरेले लेखेको प्रसंगले फिल्म उद्योगमा चर्चा बटुलेको छ । हुन पनि केही समयअघि ‘माग्ने राजा ’ फिल्म रिलिज हुनुअघि उनले पाएको पारिश्रमिकका बारेमा विवाद हुन थालेपछि दीपकले उनको पक्षमा लेखेका थिए ।
उनले भनेका थिए, ‘गाउँबाट आएको एउटा ठिटोले मिहिनेत गरेर नाम कमाउँछ र नाम अनुसारको दाम माग्दा उसमाथि आक्रमण हुन्छ । ए बाबा, चोरेर लिएको होइन, कामै गरेको हो । प्रतिभाले कमाइ तय गर्ने हो । यही बहानामा उनीमाथि तल्लो स्तरको गाली गलौजसम्म आएको देख्दा अचम्म लाग्छ । ’
यसरी उनको पक्ष लिए पनि आफूले केही गर्न नसकेकामा उनले पछुतो मान्दै फेसबुकमा स्टाटस लेखेका हुन् ।
के भएको थियो ?

भदौ १७ मा दीपकराज गिरीले फेसबुकमा एउटा स्टाटस लेखे । त्यसमा भनिएको थियो , 'आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौं । आफ्नो हिरो बाघ, अरूको स्याल ? याद गरौं, बाघ पनि जनावर नै हो । ’
दीपकराज गिरी यो स्टाटस दशैमा रिलिज हुन लागेका दुई फिल्मका निर्माताहरूबीचको भिडन्तलाई इंगित गर्दै लेखेका थिए । आउँदो दशैमा भिड्न लागेका दुई फिल्ममध्ये एउटा फिल्म हो, समीर भट्टद्वारा अभिनित ‘बलिदान ’ । सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको यो फिल्म रोहित अधिकारीद्वारा निर्माण गरिएको ‘माइती घर’ सँगै जुध्दै छ ।
रोहित र सन्तोषले एकअर्काको फिल्मलाई नराम्रो टिप्पणी गरेको आरोप लगाइरहेका बेला दीपकले माथिको टिप्पणी गरेका थिए । तर दीपकको टिप्पणीलगत्तै सन्तोष सेनले दीपकलाई गाली गर्दै भाडाका मान्छे लगाएर आफूमाथि तुच्छ टिप्पणी गर्न लगाएको आरोप लगाएका थिए ।
उनले भनेका छन्, ‘हाम्रो ‘बलिदान’ फिल्मको पोस्टमा नकारात्मक टिप्पणी तिमीहरूकै समूहको काम हो । फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अघि बढाउँदैन । सिर्जनामा र कामको गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्छ ।’
उनले काली माता र पशुपतिनाथको कसम खाँदै आफूले कसैलाई पनि नगिराएको दाबी गरेका छन् । तर, उता रोहितले आफ्नो फिल्मबारे सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् । मंगलबार ब्यूरोमा आफ्नो फिल्म ‘माइतीघर ’बारे असभ्य र अभद्र टिप्पणी गर्नेहरूविरुद्ध निवेदन दिएकाथिए ।
रोहितले केही फेसबुक टिप्पणीको स्क्रीनशट शेयर गर्दै निर्माता–निर्देशक सेनलाई ट्याग गरेर तपाईंबाट परिचालित झोलेहरू होइनन् भनेर कसरी विश्वास गरूँ भनी लेखेका थिए । त्यसपछि उनले स्क्रीनसटको नमूनासहित निवेदन दिएका साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताएका छन् । आवश्यक अनुसन्धान हुने र आवश्यक परे दुवै पक्षसँग छलफल गर्ने उनले बताएका थिए । हाल यसमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले बताएको छ ।