नेभिगेशन
मनोरञ्जन

वर्तमान समयको डकुमेन्टेशन ‘एक मुठ्ठी बादल’

आइतबार काठमाडौंमा नयाँ फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरियो । सो अवसरमा फिल्मकी निर्देशक सहारा शर्माले वर्तमान समाजको ऐना पस्किन खोजेको बताइन् । उनले पत्रकारहरूसँग अन्तरक्रिया गर्दै अबका दशकहरूपछि नेपालमा विक्रम सम्वत् २०८० को दशकका यहाँका सर्वसाधारणको मनोभाव कस्तो थियो भन्ने  धारणा एउटा परिवारभित्र छिरेर अवलोकन गर्न सकिने लोभले बनाएको बताइन् ।
आइतबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा फिल्मको दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेसँगै एउटा परिवारका तीन पुस्ताको विचार, आकांक्षा र द्वन्द्व समेटेको निर्देशक शर्माले बताइन् ।
आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा परिवारमा रहेका दुई दिदी–बहिनी, भिनाजू, फुपू तथा भाइ लगायत बुवाआमासँग अचानक बिहे हुने अघिल्लो दिन बेहुलीको मनमा मच्चिने हुण्डरीको कथा फिल्ममा रहेको छ । बेहुली बन्न लागेकी युवती बिहेअघि खुसी देखिन्न । यसै क्रममा एउटा घटनाले परिवारमा द्वन्द्व सिर्जना हुँदा फरक पुस्ताबीचको वैचारिक टकराव र व्यक्तिगत आकांक्षालाई ट्रेलरमा देखाइएको छ ।
ट्रेलर लन्चमा अभिनेत्री आँचल शर्माले भनिन्, ‘मैले यति र यस्तो वास्तविक भूमिका यसअघि गरेकी थिइनँ । अन्य फिल्ममा नाटकीयता बढी झल्काउनु पथ्र्यो, लाउड हुनुपथ्र्यो, यसमा भने स्वभाविकतामा जोड दिइएको छ ।’ सुटिङ अवधिभर आफूले सिनेमाका पर्दाका कलाकारलाई बुवाआमा, दिदी–भाइका रूपमा नै सम्बोधन गरेकाले परिवारका रूपमा जोडिएको उनले बताइन् ।
उनले यो फिल्ममार्फत भाइ उपहारमा पाएको बताइन् । फिल्ममा अभिनय गर्दा अविरलले आफूलाई भाइको तिर्सना मेटाइदिएको भन्दै थपिन्, ‘मेरो परिवारमा भाइ छैनन्, मेरो भाइ भएको भए सायद ऊजस्तै हुन्थ्यो होला ।’
कार्यक्रममा कुनै समयकी टेलिक्विन निशा शर्माले लामो समयपछि ठूलो पर्दामा पुनः काम गरिरहेकोमा खुशी व्यक्त गरिन् । ‘झण्डै तीस वर्षपछि म ठूलो पर्दामा आएकी छु,’ उनले भनिन्, ‘म त नाटकको पृष्ठभूमिबाट आएकीले दुविधा भइरहन्थ्यो, कतै बढी चर्को स्वर पो भयो कि ?’
यसअघि शर्माले खगेन्द्र लामिछानेको पहिलो निर्देशन रहेको फिल्म ’पानीफोटो’बाट फिल्ममा कमब्याक गर्ने तयारी भइरहेका बेला उनी बिरामी भएकी थिइन् । त्यसयता उपयुक्त फिल्म अफर नभएपछि उनले ठूलो पर्दामा काम गर्न पाएकी थिइनन् । उनले भनिन्, ‘अभिनयका लागि यो जत्तिको उपयुक्त फिल्म अर्को हुने थिएन रहेछ !’
कार्यक्रममा शेखर चापागाईंले फिल्मका अवधिमा निर्देशक शर्माको काम लिने क्षमताप्रति अत्यन्तै प्रभावित भएको बताए ।
यस फिल्ममा उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । 
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको यस फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय