नेभिगेशन
मनोरञ्जन

अन्तर्राष्ट्रिय फोटो सम्मेलन गरिने

राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औं राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज यहाँ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । ‘पर्यटन प्रवर्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व चुङ्वा सेर्पाको स्मृतिमा रु तीन लाख राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटो पत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने जानकारी दिनुभयो । यसले फोटो पत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारको माध्यम फोटो भिडियो हुने भएका फोटो बैंक आवश्यक रहेको धारणा राखे ।
प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो प्रतिलिपि अधिकार (कपिराइट) को विषयमा बोल्दै फोटो पत्रकारका सिर्जनाहरू अनुमतिविना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेका उल्लेख गरे । काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिए । पूर्वअध्यक्ष राजभाइ सुवालले एआईको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राखे ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरू राज्य तथा सञ्चारगृहबाट पीडित भएको उल्लेख गर्दै जीवन बिमा, स्वास्थ्य बीमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने गरेको बताए । उनले अन्तर्राष्ट्रियस्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवर्धनका लागि विभिन्न देशका १०० जना फोटो पत्रकार तथा फोटो ग्राफरलाई सहभागी गराई अन्तर्राष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गरे ।
सेलिन डियोनको पुनरागमन हुँदै
दुर्लभ स्नायु समस्याका कारण स्टेजबाट टाढा रहेकी प्रसिद्ध क्यानडेली गायिका सेलिन डियोनले आफ्नो पुनरागमनको घोषणा गरेकी छन् । आफ्नो जन्मदिनको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत उनले पेरिसमा १० वटा कन्सर्ट गर्ने घोषणा गरेकी हुन् ।
यी कार्यक्रमहरू आउँदो सेप्टेम्बर र अक्टोबर महिनामा आयोजन गरिनेछन् । ५८औं जन्मदिन मनाइरहेकी डियोनले इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै भनेकी छन्, ‘यस वर्ष मैले मेरो जीवनको सबैभन्दा राम्रो जन्मदिनको उपहार पाइरहेकी छु ।’ भिडियोमा उनी निकै खुसी देखिएकी छन् र आफूलाई ‘स्वस्थ’ र ‘बलियो’ महसुस गरिरहेको बताउँदै थोरै नाचेर देखाएकी समेत छन् । 
उनले अगाडि भनिन्, ‘म उत्साहित छु, अलिअलि डर पनि लागेको छ तर सबैभन्दा बढी म तपाईंहरू सबैप्रति आभारी छु । म तपाईंहरू सबैलाई माया गर्छु र छिट्टै भेट्नेछु !’
पेरिसका सडकहरूमा उनका विभिन्न गीतका शीर्षकहरू भएका पोस्टरहरू देखिन थालेपछि उनको पुनरागमनबारे हल्ला सुरु भएको थियो । क्यानडेली सञ्चारमाध्यम ‘ला प्रेसे’का अनुसार सुपरस्टार गायिकाले ४० हजार सिट क्षमताको ‘पेरिस ला डिफेन्स एरिना’मा आफ्नो प्रस्तुति दिनेछिन् ।
टिकटको पूर्व–बिक्री (प्रि–सेल) अप्रिल ७ देखि सुरु हुनेछ । यो घोषणा डियोनका लागि एक ठूलो विजयको क्षण हो । सन् २०२४ मा सार्वजनिक भएको उनको डकुमेन्ट्रीमा उनले आफ्नो स्वास्थ्य अवस्था र संघर्षबारे खुलेर कुरा गरेकी थिइन् ।
सन् २०२२ मा डियोनले आफूलाई ‘स्टिफ पर्सन सिन्ड्रोम’ नामक दुर्लभ रोग लागेको खुलासा गरेकी थिइन् । यसले गर्दा शरीरमा ऐंठन हुने, हिँड्न गाह्रो हुने र भोकल कर्डमा समस्या आएर पहिलेको जस्तो गाउन नसक्ने स्थिति सिर्जना भएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनले आफ्नो ‘करेज वल्र्ड टूर’ रद्द गरेकी थिइन् र धेरैले उनी अब कहिल्यै स्टेजमा नफर्कने अनुमान गरेका थिए । तर, आफ्नो डकुमेन्ट्री ‘आई एमः सेलिन डियोन’मा उनले आफ्नो आवाज फिर्ता ल्याउन गरेको कडा मिहिनेत र उपचारलाई देखाएकी छन् । डकुमेन्ट्रीको एक दृश्यमा उनले भावुक हुँदै भनेकी छन्, ‘मलाई मेरा दर्शकहरूको निकै याद आउँछ ।’
सन् २०२४ मा पेरिसमा आयोजित ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा डियोनले एडिथ पियाफको ‘हाइम अ आमोरे’ गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिइन् । त्यो प्रदर्शन उनको पुनरागमनको बलियो संकेत थियो ।
हालैका दिनहरूमा उनले सामाजिक सञ्जाल टिकटकमा पनि आफ्नो सक्रियता बढाएकी छन् । आफ्ना चुनौतीहरूलाई पार गर्दै उनी फेरि एकपटक विश्वभरका फ्यानहरू माझ झुल्किने तयारीमा छिन् । उनको पछिल्लो संगीत सन् २०२३ को चलचित्र ‘लभ अगेन’को साउन्ड ट्र्याकमा सुन्न पाइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय