काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णय वैशाख १९ गतेदेखि लागू हुने गरी गरिएको हो ।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी सेवा नियमावलीअनुसार ३० वर्षे सेवाअवधि पुगेपछि अनिवार्य अवकाश हुने व्यवस्था छ, यद्यपि आईजीपीको पदावधि चार वर्ष तोकिएको छ। पौडेल र अर्याल नेपाल प्रहरीमा निरीक्षक (इन्स्पेक्टर) पदमा एकै मितिमा प्रवेश गरेका थिए । उनीहरू २०५४ साल चैत १८ गते भर्ना भएको १११औँ टोलीका अधिकृत हुन्। २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उनीहरू उक्त संगठनमा समायोजन भएका थिए।
आईजीपी नियुक्तिका लागि पौडेलसँगै एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। तर, ज्येष्ठता र बढुवाको क्रममा पौडेल अगाडि रहेपछि उनी नियुक्त भएका हुन्। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ मा उक्त पदमा पुगेका थिए। सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन तथा व्यवस्थापकीय दक्षताको आधारमा पौडेललाई आईजीपी नियुक्त गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाका स्थायी बासिन्दा पौडेल हाल काठमाडौंको टोखामा बसोबास गर्छन् । रेश्मीलाल पौडेल र नन्दकुमारी पौडेलका पुत्र पौडेलको जन्म २०३० मंसिर ९ गते भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर (एमपीए) गरेका छन्। पौडेलले सशस्त्र प्रहरीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनले कपिलवस्तुको नम्बर ५ बिन्ध्यावासिनी बाहिनी र पोखरास्थित नम्बर ४ मुक्तिनाथ बाहिनीको नेतृत्व गरिसकेका छन्। यसअघि एसपीका रूपमा विशेष कार्यदल (नं. १९ बगलामुखी गण), सीमा सुरक्षा कार्यालय बर्दिया र नीलबाराही गणको नेतृत्व गरेका थिए। यस्तै, उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनीको समादेशकका रूपमा समेत काम गरिसकेका छन्।