नेभिगेशन
राजनीति

आङदेम्बे बने कांग्रेस संसदीय दलको नेता

नेता केसीले दाबी छाड्दा सभापति थापालाई राहत, गुट अन्त्य हुने अपेक्षासहित आङदेम्बेको नाम सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । संसद्मा पार्टीको प्रतिनिधित्वको संख्या घटेको र नेतृत्वप्रति विभिन्न प्रश्न उठिरहेको समयमा पार्टीले आङ्देम्बेलाई नयाँ जिम्मेवारी सुम्पिएको हो । 
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार भएको भेलामा दलको नेताका लागि अरुको मागदाबी नपर्दा उनी सर्वसम्मत  निर्वाचित भएका हुन् । यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए, जसलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
संसदीय दलको नेताका लागि आङ्देम्बेसँगै नेताहरू अर्जुननरसिंह केसी र मोहन आचार्य पनि मुख्य आकांक्षीका रूपमा देखिएका थिए । विशेषगरी वरिष्ठ नेता केसीले आफ्नो अनुभव र विगतमा मन्त्री भइसकेको पृष्ठभूमिका आधारमा दाबेदारी प्रस्तुत गरेका थिए । तर, केसीलाई नेता बनाउँदा सभापति थापा र उनको पारिवारिक नाताका कारण परिवारवादको आरोप लाग्न सक्ने भन्दै पार्टीभित्र अन्य विकल्पमा छलफल भइरहेको थियो । केसीलाई सभापति थापाले सोझै भन्न नसक्दा अन्योलको अवस्था थियो । 
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले आकांक्षी नेताहरूसँग लामो गृहकार्य र संवाद गरेपछि केसी आफ्नो दाबी छोड्न तयार भए । अन्ततः जनजाति पृष्ठभूमि, पार्टीभित्रको सन्तुलन र परिपक्वताका कारण आङ्देम्बेको नाममा सहमति जुटेको हो ।
यसपटक समानुपातिकमा संसद् आइपुगेका उनले पार्टीमा एकताको पक्षधरता लिएका थिए । यसले थापा नेतृत्वको नयाँ कार्यसमितिलाई राहत भएको थियो । त्यसैले पनि विभिन्न नाममा चर्चा चलिरहँदा उनका लागि सर्वसम्मत हुन सहज भएको देखिएको छ ।  
कांग्रेसले विसं २०६४ पछि पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको हो । दलको नेता चुनिएपछि आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलको भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता जनाएका छन् । उनले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको कडा प्रतिवाद गर्ने बताउँदै सत्तापक्षलाई लोकतान्त्रिक संस्कार र प्रणालीप्रति सचेत गराउने उल्लेख गरे । उनले २४ घण्टाभित्रै संसदीय दलका अन्य पदाधिकारीहरू मनोनयन गर्ने गरी छलफल भइरहेको जानकारी समेत दिएका छन् ।
पाँचथरका ६१ वर्षीय आङ्देम्बे कांग्रेसको राजनीतिमा लामो र संघर्षशील पृष्ठभूमि भएका नेता हुन् । नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा होमिएका उनले पञ्चायतविरोधी आन्दोलन र जनआन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 
संसदीय यात्रामा उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पाँचथरबाट विजय हासिल गरेका थिए । संविधान निर्माणका क्रममा उनले संसदीय सुनुवाइ समिति र विवाद समाधान समितिमा रहेर महŒवपूर्ण भूमिका खेलेका थिए । विशेषगरी राज्य पुनर्संरचनाको बहस हुँदा उनले जातीय द्वन्द्व मेटिने र पहिचान भेटिने मध्यमार्गी बाटोको वकालत गरेका थिए । उनी यसअघि संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापति, कांग्रेसको आदिवासी जनजाति विभागको संयोजक र केन्द्रीय अनुशासन समितिको संयोजक समेत भइसकेका छन् । पार्टीमा तीन पटक केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री भइसकेका आङ्देम्बेको चयनले कांग्रेसभित्रको आन्तरिक गुटबन्दी अन्त्य हुने र प्रतिपक्षको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय