नेभिगेशन
स्वास्थ्य

नीलो प्रकाशले बिगार्छ शरीरको घडी

राति अबेरसम्म मोबाइल, ट्याब्लेट वा कम्प्युटर चलाउने बानी अहिले सामान्यजस्तै देखिन्छ । तर यसले हाम्रो शरीरको भित्री समय प्रणाली (जैविक घडी)लाई गम्भीर रूपमा असर पारिरहेको हुन्छ । मानिसको शरीर २४ घण्टे चक्रमा चल्ने एउटा सूक्ष्म प्रणालीद्वारा नियन्त्रित हुन्छ । ‘सर्केडियन रिदम’ भनिने यही प्रणालीले सुत्ने, उठ्ने, हर्मोन उत्पादन हुने र शरीरको समग्र तालमेल कायम राख्ने काम गर्छ ।
नीलो प्रकाश, जसको तरंगदैघ्र्य करिब ४४० देखि ४९५ न्यानोमिटर हुन्छ, सामान्यतया सूर्यको किरणमा पाइन्छ र दिनको समयमा हाम्रो शरीरलाई सक्रिय र सचेत राख्न मद्दत गर्छ । तर समस्या त्यो बेला सुरु हुन्छ जब यही नीलो प्रकाश रातिको समयमा पनि हाम्रो आँखामा पर्छ । मोबाइल, कम्प्युटर स्क्रिन र एलईडी बत्तीहरू यसका प्रमुख स्रोत हुन् ।
हाम्रो आँखाभित्र रहेका विशेष कोषहरूले नीलो प्रकाशलाई चिनेर दिमागमा सन्देश पठाउँछन्, जसले शरीरलाई अझै दिन नै भएको संकेत दिन्छ । यसले मेलाटोनिन नामक हर्मोनको उत्पादन घटाउँछ । यो गहिरो निद्राका लागि अत्यावश्यक हुन्छ । परिणामस्वरूप सुत्न ढिलाइ हुन्छ, निद्रा गुणस्तरीय हुँदैन र बिहान उठ्दा थकान महसुस हुन्छ । दीर्घकालमा यस्तो असन्तुलनले मोटोपन, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिमसमेत बढाउन सक्छ ।
वास्तवमा समस्या नीलो प्रकाश आफैंमा होइन, यसको गलत समयमा हुने प्रयोगमा छ । दिनको समयमा नीलो प्रकाश लाभदायक हुन्छ किनभने यसले शरीरलाई सतर्क राख्छ र जैविक घडीलाई ठीक ढंगले सञ्चालन गर्न सहयोग गर्छ तर राति यही प्रकाशले शरीरलाई भ्रममा पार्छ र प्राकृतिक निद्रा चक्र बिगार्छ ।
आधुनिक एलईडी बत्ती र स्क्रिनहरूमा नीलो प्रकाशको मात्रा परम्परागत प्रकाश स्रोतभन्दा धेरै हुन्छ । विशेषगरी चिसो सेतो प्रकाश दिने बत्तीहरूले अझ बढी नीलो तरंग उत्सर्जन गर्छन् । यसले रातिको समयमा ‘सर्केडियन रिदम’लाई सजिलै बिथोलिदिन्छ अथवा भनूँ अव्यवस्थित बनाउँछ । वैज्ञानिकहरूका अनुसार थोरै मात्रामा नीलो प्रकाश पनि राति शरीरको घडी बिगार्न पर्याप्त हुन्छ ।
यो समस्याबाट जोगिनका लागि जीवनशैलीमा सानो परिवर्तन आवश्यक छ । सुत्नुअघि केही समय स्क्रिन प्रयोग घटाउने, कम नीलो प्रकाश उत्सर्जन गर्ने पहेंलो वा न्यानो बत्ती प्रयोग गर्ने, उपकरणहरूमा नाइट मोडजस्ता सुविधा प्रयोग गर्ने र दिनको समयमा प्राकृतिक उज्यालोमा बढी बस्ने बानीले ठूलो फरक पार्न सक्छ । साथै नियमित सुत्ने र उठ्ने तालिका कायम राख्नु पनि उत्तिकै महŒवपूर्ण हुन्छ ।
यस्तो भए हाम्रो शरीर उज्यालो र अँध्यारोको प्राकृतिक तालमेलअनुसार विकसित हुन्छ । दिउँसो उज्यालो र राति अँध्यारोको सन्तुलन कायम राख्न सके मात्र जैविक घडी स्वस्थ रहन्छ । त्यसैले नीलो प्रकाशलाई पूर्ण रूपमा हटाउनु आवश्यक छैन बरु यसलाई सही समयमा र सही तरिकाले प्रयोग गर्नु नै स्वस्थ जीवनको आधार हो । (वेल बीङ जर्नल)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय