नेभिगेशन
मनोरञ्जन

तीन दिनमै डेढ करोडको व्यापार

चलचित्र ‘परालको आगो’का निर्माता सुशील पोखरेलले आफ्नो फिल्मले आइतबारसम्म डेढ करोड रुपैयाँ बराबरको टिकट बिक्री भएको बताएका छन् । कुनै पनि फिल्मले शुरुवाती तीन दिन यत्तिको रकम जुटाउन सफल हुनुले फिल्मको सफलताको मापन मानिन्छ ।  
हरेक शनिबार चलचित्र विकास बोर्डले फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने गर्छ । शुक्रबारबाट मात्र रिलिज भएको ‘परालको आगो’को टिकट बिक्रीलाई भने बोर्डले सार्वजनिक गरेको छैन । 
शनिबारसम्म अघिल्ला दुई हप्ता रिलिज भएका ‘राम नाम सत्य’ र ‘पहाड’को टिकट बिक्रीको संख्या भने बोर्डले सार्वजनिक गरेको छ । बोर्डका अनुसार, विराज भट्टद्वारा अभिनीत फिल्म ‘राम नाम सत्य’को १ लाख १७ हजार ५ सय ६४ वटा टिकट बिक्री भएको छ । यस हिसाबले फिल्मले तीन करोड ३१ लाख, ५८ हजार, ८ सय २१ रुपैयाँ संकलन गरेको छ । त्यस्तै प्रख्यात निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित ‘पहाड’को जम्माजम्मी १९ हजार ५ सय ३९ वटा मात्र टिकट बिक्री भएको पाइएको छ । जसअनुसार, फिल्मले ६१ लाख ७७ हजार २ सय ६२ रुपैयाँ संकलन गरेको छ ।
बक्स अफिसको दुनियाँमा ‘पहाड’ फ्लप हुन पुगेको छ । यद्यपि यो फिल्म नेपालबाहिर प्रदर्शन हुने क्रम जारी रहेका कारण आफ्नो लगानी सुरक्षित गर्न सक्ने सम्भावना भने रहेको छ ।
यी दुवै फिल्मको व्यापारलाई ‘परालको आगो’ले उछिन्ने सम्भावना रहेको निर्माता सुशील पोखरेलले बताएका छन् । उनले भने, ‘मंगलबारबाट यसको व्यापार अझ बढी हुने सम्भावना बुकिङले देखाएको छ । यसको अर्थ, फिल्म हेरिसक्नु भएका दर्शकहरुले फिल्मको राम्रो प्रतिक्रिया दिएका कारण बुकिङ बढ्दै गएको मेरो अनुमान छ ।’
यस फिल्मको बजेट साढे २ करोड हाराहारी रहेको र फिल्मले पाँच करोडभन्दा बढी व्यापार घरेलु पर्दाबाट उठाउन सकेमा आफ्नो लगानी सुरक्षित हुने उनले बताए । उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा नेपालकै व्यापारबाट हामीले फाइदा उठाउने सम्भावना बढेको छ ।’
‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’जस्ता एक्शन फिल्म निर्माण गरेका सुशीलले सात वर्षपछि ‘परालको आगो’ निर्माण गरेका हुन् । ‘परालको आगो’ नेपालको निकै प्रख्यात कथा हो । गुरूप्रसाद मैनालीद्वारा लिखित यस कथामा लोग्नेस्वास्नीका रुपमा रहेका चामे र गौंथलीको घरझगडा कति अस्थायी र क्षणिक हुन्छ भन्ने देखाइएको छ ।
‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित यो कथा २०२२ सालमा प्रकाशित भएको थियो । पछि वसुन्धरा भुषालको दमदार अभिनयका साथ यो फिल्म बजारमा आएको थियो । यतिबेला युट्युबमा समेत हेर्न सकिने पुरानो ‘परालको आगो’ निर्माता पोखरेलले दर्जनौं पटक हेरे ।
‘एक दिन अमेरिकाबाट मेरो साथी आएको थियो,’ उनले सुनाए, ‘उसले यो फिल्मलाई आधुनिक कथा बनाएर पेश गर्न सके फिल्म राम्रो चल्न सक्छ भन्यो । पछि मैले यो फिल्मलाई सिनेमाका कोणबाट अनेक तरिकाले हेरेँ र बनाउने निर्णयमा पुगेँ ।’
फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, रेणु न्यौपाने र बालकलाकार मञ्जिना बानियाँ लगायतको अभिनय रहेको छ । 
यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् भने पटकथा सुशील देवकोटाले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय