नेभिगेशन
स्वास्थ्य

हुम्लामा पुगेन भिटामिन ‘ए’ र जुकाको औषधि

हुम्ला । हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण अभियान प्रभावित भएको छ । समयमै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि नपुग्दा राष्ट्रिय खोप तथा पोषणसम्बन्धी अभियान प्रभावित भएको हो ।
पाँच वर्षमुनिका बालबालिकालक्षित सञ्चालन भएको यो अभियानमा औषधि आपूर्तिमा भएको ढिलाइका कारण सेवा प्रवाह अवरुद्ध भएको चंखेली गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताए । जिल्लाभर सञ्चालन भइरहेको अभियानका क्रममा आवश्यक औषधि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै उपलब्ध नहुँदा बालबालिकाले पाउनुपर्ने आधारभूत पोषण तथा स्वास्थ्य सेवा अवरुद्ध भएको र दुर्गम बस्तीमा औषधि नपुग्दा समस्या झन् गम्भीर बन्नुका साथै यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने जोखिम बढाएको उनी बताउँछन् । 
दुर्गम भौगोलिक अवस्था, ढुवानी चुनौती र व्यवस्थापन कमजोरीलाई कारण देखाइए पनि यस्तो समस्या बारम्बार दोहोरिनु नीतिगत सुधारको अभाव, पूर्वतयारी र समन्वयमा गम्भीर कमी रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताए । स्वास्थ्य सेवा कार्यालयले देखाएको असहजता र कर्णाली प्रदेश आपूर्ति केन्द्रको ढिलाइबीचको समन्वय अभावले हुम्लाका बालबालिका उक्त सेवाबाट प्रभावित भएका छन् । कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रबाट ढिलाइ भएपछि यो समस्या उत्पन्न भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले प्रष्ट्याए ।
राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत वैशाख ६ र ७ गते देशभर एकैसाथ सञ्चालन हुने भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम कम्तीमा एक हप्ताअघि नै सम्बन्धित स्वास्थ्य संस्थामा औषधि पुगिसक्नुपर्ने व्यवस्था भए पनि यसपटक वैशाख ४ गते मात्र कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रले उपलब्ध गराएको थियो । ती औषधि अझै पनि ढुवानी हुने क्रममा रहेकाले जिल्लाका सबै स्थानीय तहमा समयमै वितरण गर्न नसकिएको डा. तिवारीले बताए । उनले दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उल्लेख गर्दै समयमै आपूर्ति नहुँदा सबै स्वास्थ्य संस्थामा औषधि पु¥याउन कठिन भएको हुँदा अभियान प्रभावित भएको स्वीकारे । उनले सबै स्वास्थ्य संस्थामा औषधि आपूर्ति तथा ढुवानी भएपछि मात्र जिल्लामा पुनः सो अभियान सञ्चालन गरिने बताए । पाँच वर्षमुनिका बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील कार्यक्रममा समयमै औषधि पु¥याउनुपर्ने माग गरिएको छ ।
नेपालमा ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सार्वजनिक स्वास्थ्यको महŒवपूर्ण पहलका रूपमा रहेको छ । बालबालिकाको शारीरिक र मानसिक विकासका लागि आवश्यक पोषण तŒवहरू पर्याप्त मात्रामा नपुगेमा उनीहरू विभिन्न रोगहरूको जोखिममा पर्ने हुँदा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रमलाई अभियानका रूपमा चालिएको हो । विशेष गरी भिटामिन ‘ए’को कमीले आँखाको समस्या, रतन्धो र रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । त्यसैगरी, जुकाको संक्रमण बालबालिकामा सामान्य समस्या हो, जसले उनीहरूको शरीरबाट पोषक तŒव सोस्ने काम गर्छ । यसको कारण बालबालिकामा कुपोषण, कमजोरी र पढाइमा समेत असर पर्न सक्छ । जुकाको औषधि खुवाउँदा यी परजीवीहरू नष्ट भई बालबालिकाको स्वास्थ्य सुधार हुन्छ । प्रत्येक वर्ष देशभर करिब २७ देखि ३० लाखसम्मको संख्यामा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइन्छ भने झण्डै उही संख्यामा बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । यो कार्यक्रम नेपालका सबै जिल्लामा फैलिएको छ र उच्च पहुँचका कारण बालस्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पु¥याएको छ । यस कार्यक्रमले नेपालको बालमृत्युदर घटाउन र स्वस्थ भविष्य निर्माण गर्न महŒवपूर्ण योगदान पु¥याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय