नेभिगेशन
साहित्य

मुराकामी उपन्यास ल्याउँदै

जापानका प्रख्यात लेखक हारुकी मुराकामीको नयाँ उपन्यास ‘द टेल अफ काहो’ आगामी जुलाईमा प्रकाशित हुने भएको छ । तीन वर्षको अन्तरालपछि आउन लागेको यो उपन्यासमा मुराकामीले पहिलो पटक कुनै महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै एक विचित्र संसारबाट बाहिर निस्कने उनको संघर्षलाई चित्रण गरेका छन् ।
शिन्चोसा पब्लिसिङ कम्पनीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार, जुलाई ३ मा मुद्रित र डिजिटल दुवै माध्यममा सार्वजनिक हुने यस उपन्यासको केन्द्रमा २६ वर्षीया चित्रकथा लेखिका ‘काहो’ छिन् । मुराकामीको अघिल्लो उपन्यास ‘द सिटी एन्ड इट्स अनसर्टेन वाल्स’ मा पुरुष पात्रको प्रेम, वियोग र वास्तविक तथा अवचेतन संसारबीचको सीमा खोतलिएको थियो ।
यो उपन्यास सुरुमा ‘काहो’ शीर्षकको एउटा छोटो कथाको रूपमा जन्मिएको थियो । दुई वर्षअघि टोकियोस्थित वासेदा विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा मुराकामीले प्रसिद्ध लेखिका मिएको कावाकामीसँगै यो कथा वाचन गरेका थिए । पछि उक्त कथा सन् २०२४ जुनको ‘शिन्चो’ मासिक पत्रिकामा प्रकाशित भएको थियो ।
औसत रूपरंग र बौद्धिकता भएकी काहो स्वभावैले जिज्ञासु छिन् । एक दिन उनीसँगै भोजन गरिरहेका एक पुरुषले उनलाई भन्छन्, ‘मैले तिमी जति कुरूप कोही देखेको छैन ।’ यो सुनेर आक्रोशित हुनुको साटो काहो अलमलमा पर्छिन् र ती पुरुषको लुकेको सन्देश के होला भन्ने पत्ता लगाउन उत्सुक हुन्छिन् । त्यसपछि उनको जीवनमा अनौठा र विचित्र घटनाहरू घट्न थाल्छन् ।
प्रकाशकले जारी गरेको संक्षिप्त प्रचार सामग्रीमा भनिएको छ, ‘मैले यो संसारबाट बाहिर निस्कने बाटो खोज्नै पर्छ । यसमा मुराकामीको जादुमयी शैली पूर्ण रूपमा झल्किएको छ ।’
मुराकामीले शिन्चो पत्रिकामै यससँग सम्बन्धित अन्य तीनवटा शृंखलाहरू, ‘द एन्टइटर अफ मुसाशी–साकाइ’, ‘काहो एन्ड द टर्माइट क्वीन’ र ‘काहो एन्ड द मोटरसाइकल म्यान, एन्ड स्कार्लेट जोहानसन’ पनि प्रकाशित गरिसकेका छन् । फिलिप ग्याब्रिएलले अनुवाद गरेको यसको पहिलो खण्डको अंग्रेजी संस्करण सन् २०२४ मा ‘द न्यु योर्कर’ म्यागेजिनमा छापिएको थियो । ३५२ पृष्ठको यो नयाँ उपन्यासमा मुराकामीले ती चारवटै भागलाई समेटेर नयाँ जीवन दिएको प्रकाशकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय