नेभिगेशन
स्वास्थ्य

सल्यान अस्पतालमा प्रसूति शल्यक्रिया ठप्प, गर्भवती महिलाको ज्यान जोखिममा

सल्यान । महिनाको सयभन्दा बढी महिलालाई प्रसूति सेवा उपलब्ध गराइरहेको जिल्ला अस्पताल सल्यानमा शल्यक्रियाका लागि चिकित्सक उपलब्ध नहुँदा गर्भवती महिलालाई अस्पतालको गेटबाटै फर्काउनुपर्ने अवस्था आएको छ ।
अस्पतालले जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलालाई सेवा दिँदै आएको अस्पतालमा एमडीजीपी चिकित्सक अभावका कारण चैत २८ गतेदेखि नै शल्यक्रिया (अपरेसन) सेवा पूर्णरूपमा बन्द भएको छ । सेवा बन्द भएपछि शल्यक्रियाका लागि आउने बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका छन् । यसअघि जिल्लामै न्यून शुल्कमा उपचार पाउँदै आएका सेवाग्राही अहिले बाहिर जानुपर्दा आर्थिक भारसमेत बढेको छ । जटिल अवस्थाका गर्भवती महिलाका लागि यो अवस्था थप जोखिमपूर्ण बनेको छ ।
स्थानीय मानव अधिकारवादी कार्यकर्ता रामचन्द्र रेग्मीले अस्पतालमा शल्यक्रियाको सेवा उपलब्ध नहुँदा स्थानीय वासिन्दालाई ठूलो समस्या परेको बताउँदै सम्बन्धित निकायले छिटोभन्दा छिटो डाक्टर पठाउने कामलाई प्राथमिकता दिनुपर्ने बताए । ‘यहीँ हुनसक्ने अपरेसनका लागि बिरामीहरू दाङ, सुर्खेत, नेपालगञ्ज जानुपर्ने अवस्था आएको छ । त्यसमागि सुत्केरी हुने महिलाको हकम थप चुनौती हुने हुँदा सम्बन्धित निकायले छिट्टै डाक्टर व्यवस्था गर्न पहल गर्न अबेला र ढिलासुस्ती गर्नुभएन,’ उनले बताए ।
यस अस्पतलामा अरू रोगबाहेक सुत्केरी गराउने महिलाको चाप अत्यधिक रहेको छ । अस्पतालले जनाएअनुसार एक महिनामा एक सयभन्दा बढी महिला सुत्केरी हुने गरेका छन् । तीनहरूमध्ये केहीलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर कुन महिलालाई कतिखेर अपरेसन गर्नुपर्ने हुन्छ भन्ने सधैं पहिला नै यकिन नहुने हुँदा अस्पतालमा अपरेसन गर्ने डाक्टरको आवश्यकता पर्दछ । अपरेसन गर्ने डाक्टरको अभावमा सेवा प्रवाहमा चुनौती आइपर्छ । हाल अस्पतालले सामान्य सुत्केरी सेवा मात्र दिन सक्ने अवस्था छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगर जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको दुखेसो सुनाउँछन् । ‘एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई जानकारी गराएर माग गरिएको भए पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन,’ कार्यालय प्रमुख डा. बुढामगर भन्छन् । 
अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह आफैं बिरामी भएर उपचाररत रहका कारण तथा तालिमप्राप्त मेडिकल अधिकृत उच्च अध्ययनका लागि गएका कारण चिकित्सकको अभाव भएको छ । यस सम्बन्धमा प्रतिनिधिसभा सदस्य रमेश मल्लले चिकित्सक अभावका कारण प्रसूति शल्यक्रिया सेवा बन्द हुँदा गम्भीर समस्या उत्पन्न भएको विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीको सचिवालयसम्म विषय पुगिसकेको जनाए पनि डाक्टर कहिले उपलब्ध हुने सम्बन्धमा यकिनका साथ भन्न नसकिएको बताए । ‘प्रसव पीडामा रहेका महिलालाई अस्पतालको गेटबाटै फर्काउनुपर्ने अवस्था अत्यन्तै संवेदनशील र दुःखद हो’ प्रतिनिधिसभा सदस्य मल्लले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय