नेभिगेशन
स्वास्थ्य

काभ्रेको भुम्लुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सल्ले भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकालाई यस आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार पालिका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक प्रेमबहादुर भुजेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो । 
यो पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । यस वर्ष नमोबुद्ध नगरपालिका पहिलो भएको छ भने मण्डनदेउपुर नगरपालिका दोस्रो भएको छ । 
यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई हार्दिक धन्यबाद दिँदै प्रमुख अतिथी गौतमले यसलाई निरन्तरता दिने गरि काम गर्न सबैलाई अनुरोध गरे । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले अबका केही महिनामा जिल्लाका सबै पालिकालाई यस अभियानमा संलग्न गराइने बताए । उनले नेपालमा अहिले पनि हरेक दिन सरदर २३ जना बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यसमा कमी ल्याउन खोप लगाउनु अनिवार्य रहेको बताए ।
कार्यक्रममा पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । हाल पालिकामा १५ महिना मुनीका बालबालिका १५८ जना पूर्णखोप प्राप्त छन् । यस्तै १६ देखि २३ महिनासम्मका १२४ जना बालबालिका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालकृष्ण गौतमले जनाए । सोही अवसर पारेर नेपाल रेडक्रस सोसाइटी भुम्लुले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय