न्यूयोर्क, (वेल बिइङ जर्नल) । मानिसको कपाल सौन्दर्यको प्रतीक मात्र होइन, यो त शरीरभित्र र वरिपरि भइरहेको वातावरणीय प्रभावहरूको सूक्ष्म अभिलेख पनि हो । पछिल्लो समय विकसित हुँदै गएको ‘हेयर एनालाइसिस’ (कपाल विश्लेषण) प्रविधिले मानव स्वास्थ्यबारे नयाँ दृष्टिकोण प्रस्तुत गरिरहेको छ ।
कपाल विशेषज्ञ चिकित्सक मनीष अरोराका अनुसार कपाल कुनै निष्क्रिय तन्तु होइन । ‘कपाल बढ्दै जाँदा यसले रगतमार्फत आउने जानकारीलाई आफूभित्र समेटिरहेको हुन्छ । जस्तै शरीरका खनिज, विषाक्त पदार्थ, हर्मोनलाई संकलन गर्न थाल्छ,’ उनी भन्छन्, ‘कपालको प्रत्येक भाग एउटा निश्चित समयको ‘रेकर्ड’ हो । एक सेन्टिमिटर कपालले करिब एक महिनाको जीवन देखाउँछ ।’
रगत वा पिसाब परीक्षणले त्यो क्षणको अवस्था देखाउँछ भने कपालले समयक्रममा शरीरले भोगेका अवस्थाहरूको विस्तृत चित्र दिने उनको भनाइ छ ।
कपाल विश्लेषणको गहिराइ निकै प्रभावशाली हुने उनको दाबी छ । ‘एक सेन्टिमिटर कपालमा करिब एक हजार ‘ग्रोथ रिङ’ हुन्छन् र हामी प्रत्येक रिङमा हजारौं आणविक संकेत मापन गर्न सक्छौं,’ उनी भन्छन् ।
यसको अर्थ, एउटा सानो कपालको रौंबाट करिब १ करोड डेटा बिन्दु निकाल्न सकिन्छ । पहिलेका विधिहरूमा कपालको बाहिरी सतहमा टाँसिएका प्रदूषकले गलत नतिजा दिन्थे । तर अहिले विकसित प्रविधिले कपाललाई लम्बाइमा ‘खोल्ने’ र भित्री भाग मात्र विश्लेषण गर्ने गर्छ ।
‘हामीले रोबोटिक प्रणाली प्रयोग गर्छौं, जसले कपाललाई सीधा तानेर सूक्ष्म रूपमा खोल्छ,’ अरोरा भन्छन्, ‘यसले भित्री आणविक जानकारीलाई क्षति नगरी अध्ययन गर्न सम्भव बनाउँछ ।’
यो प्रविधिबाट सिसा, आर्सेनिक जस्ता भारी धातु मात्र होइन, प्लास्टिकबाट आउने बीपीए, प्लेटलेट्स, कीटनाशक र अन्य रसायनहरूको प्रभाव पनि पत्ता लगाउन सकिन्छ । ‘कपालले शरीरभित्रका जैविक प्रक्रिया र बाह्य वातावरणीय सम्पर्क—दुवैको प्रमाण दिन्छ,’ अरोराको प्रष्टोक्ति छ ।
लस एन्जलसको डढेलोपछि प्रभावित परिवारहरूमा गरिएको अध्ययनले यो प्रविधिको उपयोगिता झन् प्रष्ट पारेको छ ।
‘रगत परीक्षण गर्दा विषाक्तता घटिसकेको देखिन्थ्यो,’ अरोरा भन्छन्, ‘तर कपालले सम्पूर्ण एक्सपोजर टाइमलाइन देखायो कि कहिले स्तर बढ्यो, कहिले घट्यो ।’ कपाल विश्लेषणले वर्तमान मात्र होइन, विगतको सम्पूर्ण स्वास्थ्य जोखिम पनि देखाउन सक्छ भन्ने यसले प्रमाणित ग¥यो । अरोराका अनुसार मानिसहरू दैनिक प्लास्टिक, फर्निचर, भाँडाकुँडाहरूमा रहेका विभिन्न रसायनको सम्पर्कमा हुन्छन् । ‘यी रसायनले हार्मोन प्रणालीमा असर गर्न सक्छन्,’ उनी भन्छन् ।
उनी यसो भनेर तर्साउन पनि चाहँदैनन् । उनी भन्छन्, ‘यी सबै कुराको समाधान पनि छ । सबैभन्दा प्रभावकारी उपाय भनेको एक्सपोजर घटाउनु हो । तपाईंले आफ्नो जिन्स परिवर्तन गर्न सक्नुहुन्न, तर आफ्नो वातावरण र बानीहरू परिवर्तन गर्न सक्नुहुन्छ ।’
यो प्रविधि अटिज्म अनुसन्धानमा पनि प्रयोग भइरहेको छ । ‘हामी जन्मपछि एक महिनामै लिइएको कपालबाट अटिज्मको जोखिम पहिचान गर्न सक्छौं,’ अरोराको दाबी छ ।
ठूलो अध्ययनहरूमा यो परीक्षण ९९ प्रतिशतसम्म सटीक देखिएको छ । ’यसले शुरूवाती वर्षहरूमै बालबालिकालाई भविष्यमा आइपर्ने स्वास्थ्यका जोखिमका बारेमा जानकारी दिने भएकाले बालबालिकाको भविष्य नै यो विधिले परिवर्तन गर्न सक्छ,’ उनको भनाइ छ ।
कपाल विश्लेषण अहिले महँगो वा जटिल प्रक्रिया पनि छैन । ‘सामान्य परीक्षण २०० डलरभन्दा कममा सम्भव छ र अटिज्म स्क्रिनिङ पनि ५०० डलरभन्दा कममा,’ अरोरा बताउँछन् ।
उनी भन्छन्, ‘मैले पहिले कपाल विश्लेषणलाई खासै महŒव दिएको थिइनँ, तर अहिले यसको सम्भावनाबाट प्रभावित छु ।’
यो नयाँ विज्ञानले एउटा साधारण कपाललाई पनि असाधारण बनाएको छ । शरीरले भोगेका अनुभवहरू सम्झनामा मात्र नभई शरीरकै संरचनामा सुरक्षित रहने देखाएको छ ।