नेभिगेशन
राजनीति

राष्ट्रिय सभामा कांग्रेसको नेता परिवर्तन

काठमाडौं । कांग्रेसले राष्ट्रिय सभामा आफ्नो संसदीय नेतृत्व फेरबदल गर्दै आन्तरिक शक्ति सन्तुलनमा नयाँ संकेत दिएको छ । पार्टीको संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाएर कमला पन्तलाई जिम्मेवारी दिएको छ भने सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गरेको छ ।
प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दुवै नियुक्ति गरेका हुन् । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार पार्टी विधानअनुसार प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता र सचेतक मनोनयन गर्ने अधिकार प्रयोग गर्दै नयाँ नेतृत्व चयन गरिएको हो ।
राष्ट्रिय सभा दलको नेतृत्वमा रहेका सिटौला पछिल्लो समय पार्टीभित्र निर्णायक भूमिकामा कमजोर बन्दै गएको चर्चा भइरहेको थियो । कांग्रेसभित्र शेरबहादुर देउवा समूहसँग निकट मानिएका उनी पछिल्ला महिनाहरूमा  पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएका बैठकहरूमा सक्रिय रूपमा सहभागी भइरहेका थिए ।
उनको स्थानमा आएकी कमला पन्त भने सभापति गगन थापा समूहसँग निकट नेतृका रूपमा चिनिन्छिन् । विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएकी पन्तलाई राष्ट्रिय सभाको नेतृत्व दिइनुलाई कांग्रेसभित्र नयाँ शक्ति सन्तुलनका रूपमा हेरिएको छ ।
त्यस्तै, राष्ट्रिय सभाको सचेतकमा पदमबहादुर परियारलाई जिम्मेवारी दिइएको छ । यसअघि उक्त पदमा कृष्णबहादुर रोकाया थिए । संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १३(३) अनुसार परियारलाई सचेतकमा मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्