नेभिगेशन
मनोरञ्जन

भाइरल रानू कहाँ छिन् ?

सन् २०१९ मा सामाजिक सञ्जालमा भाइरल भएपछि रातारात चर्चित बनेकी रानू मंडल यतिबेला गुमनाम छिन् । त्यतिबेला उनको घरमा मिडिया, कार्यक्रम आयोजक र भेट्न चाहनेहरूको भीड लाग्थ्यो । पाँच–छ वर्षपछि यतिबेला कहिलेकाहीँ चिन्नेहरूले मात्र उनलाई गीत गाउन लगाउँछन् ।
पश्चिम बंगालको नदिया जिल्लाको राणाघाटकी रानू सानैदेखि लता मंगेशकर, आशा भोसले, किशोर कुमार र मोहम्मद रफÞीका गीत सुन्दै र गाउँदै हुर्किएकी थिइन् । यही रुचिले उनलाई इन्टरनेटमा प्रसिद्धि दिलायो, जसको सुरुवात राणाघाट रेलवे स्टेशनबाट भएको थियो ।
सन् २०१९ मा उनी स्टेशनमा ‘एक प्यार का नगमा है’ गाइरहेकी थिइन् । त्यही बेला एक स्थानीय युवाले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल भइन् । सर्वसाधारणले उनको आवाजको प्रशंसा गर्न थालेपछि उनलाई स्टेज शो तथा कार्यक्रममा गाउन प्रस्तावहरू आउन थाले । त्यसपछि उनी मुम्बईको एक रियालिटी शोमा पुगिन् । त्यहाँ संगीतकार हिमेश रेशमियाले उनको गायकी यति मन पराए कि आफ्नो फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’मा गाउने अवसर दिए ।
यसको केही समयसम्म उनी चर्चामा रहिन् तर पछि उनी बिस्तारै अवसरबाट बाहिरिन थालिन् । केहीले उनको दुव्र्यवहारका कारण उनी एक्लिएको दाबी गर्छन् । यतिबेला भने अहिले उनी दुई कोठे एकतले घरमा एक्लै बस्छिन् । छिमेकीहरूका अनुसार उनको स्वास्थ्य राम्रो छैन र आर्थिक अवस्था पनि कमजोर छ । घरको हेरचाहदेखि खानपान र कपडासम्म अरूले सघाउने गरेका छन् ।
राणाघाटका स्थानीयहरूका अनुसार पहिले उनको घरमा मिडियाको भीड लाग्थ्यो, अहिले भने सुनसान छ । कोही आउँदैनन् । कहिलेकाहीँ युट्युबर र इन्फ्लुएन्सर उनलाई खोज्दै आउँछन् । बीबीसीको टोली बिहान करिब साढे १० बजे उनको घर पुग्दा उनी आफ्नै सोचमा हराएकी थिइन् । पुराना दिनका बारेमा सोध्दा उनले त्यो समय अझै सम्झने बताउँदै ‘एक प्यार का नगमा है’ गीत गाएर सुनाइन् ।
रानू भन्छिन्, ‘सन् २०१९ उनको लागि भाग्यमानी वर्ष थियो । उनले बंगालमा कार्यक्रम गरिन् र पछि मुम्बई गइन् । उनले कहिल्यै औपचारिक संगीत सिकिनन्, रेडियो सुन्दै–सुन्दै सिकेकी हुन् । बाल्यकालमा उनकी सानिमा खुबै रेडियो सुन्थिन् । रेडियोमा गीत र नाटक सुन्दासुन्दै उनलाई कण्ठस्थ हुन थाल्यो र आफू पनि गाउन सक्छु भन्ने आत्मविश्वास पलाउन थाल्यो । तर अभाव र गरिबी यति ठूलो थियो कि घरमा कहिल्यै प्रोत्साहन पाइनन् ।
उनको जीवन सानैदेखि संघर्षपूर्ण रह्यो । उनी भन्छिन्, ‘मलाई कहिल्यै विद्यालय पठाइएन, सानैमा विवाह भयो र दुई सन्तान जन्मिए । श्रीमान् मुम्बईमा कुकको काम गर्थे । परिवार चलाउन धेरै दुःख गरियो । पैदल हिँडेरै बेकरीका सामान बेचेँ । सधैं पैसाको अभाव झेलिरहें । त्यसबेला पनि संगीत नै सहारा थियो ।’
पेट पाल्न धौधौ भएपछि उनी मुम्बईबाट पश्चिम बंगालस्थित आफ्नै गाउँ फर्किइन् । आर्थिक अवस्था कमजोर थियो, जिउन कठिन थियो । त्यसैले सहजताका लागि उनी चर्चमा जान्थिन् र आफ्ना दुःख भगवान्सँग व्यक्त गर्ने गर्थिन् । 
सन् २०१४–१५ तिर उनी नियमित रूपमा राणाघाट रेलवे स्टेशन जान्थिन् । त्यहाँ उनी भिडभाडमा उभिएर गीत गाउँथिन् । केही समयमा नै उनी त्यहाँको ‘आशा भोसले’ बनिन् । धेरैले गाउन आग्रह गर्दा उनी गाउँथिन् र सानोतिनो सहयोग पनि गर्थे । सन् २०१९ मा भने उनले गाएको भिडियो भाइरल भयो । त्यसपछि उनको जीवन बदलियो ।
उनलाई खोज्न थालियो । कार्यक्रममा गाउने प्रस्तावहरू आउन थाले । मिडियामा चर्चित हुँदै जाँदा धेरै कार्यक्रमका निम्तो पाएर मुम्बई गइन् । त्यहाँ उनको भेट हिमेश रेशमियासँग भयो । स्टुडियोमा पहिलोपटक जाँदा डर लागे पनि उनले गाएर सबैलाई प्रभावित पारिन् र फिल्ममा गीत गाउने अवसर पाइन् ।
सफलता पाउँदै जाँदा उनको घर झगडा चुलिन थाल्यो । झगडाका कारण उनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो र झगडालु स्त्रीको परिचय बन्न थाल्यो । क्रमशः कार्यक्रम आयोजकले उनलाई बोलाउन छाडे । परिवारसँग पनि उनको सम्बन्ध बिग्रियो । लोग्ने र दुई छोराले पनि उनलाई त्यागे ।
‘त्यो समयमा परिवारबाट टाढा हुनुपर्दा मनमा धेरै पीडा थियो, तर बाहिर भने आफूलाई खुशी देखाउने गर्थें,’ उनी दुखेसो गर्छिन् । अन्ततः एक एक गरेर उनलाई कार्यक्रमको निम्तो आउन छाड्यो ।
अहिले उनी परिवारबाट टाढा छिन् । छिमेकीका अनुसार केही महिनाअघि उनको घर बस्नै नसक्ने अवस्थामा पुग्यो । उनको मानसिक स्वास्थ्य यति बिग्रियो कि  आफ्नै हेरचाह गर्न सक्ने अवस्थामा रहिनन् । अहिले एक महिलाले उनको हेरचाह गरिरहेकी छन् ।
अहिले सारा चर्चा र रमझम सम्झिदा कस्तो लाग्छ भन्ने बीबीसीको प्रश्नमा उनले भनिन्, ‘कहिलेकाहीँ मानिसहरू मलाई खोज्दै आउँछन् । कार्यक्रममा निम्तो आउन छाडेको निकै भइसकेको छ । अहिले त मलाई त्यो कुरा सोच्न पनि छाडिसकें । बरु सन्तानसँग छुट्टिनुको पीडा भने गहिरो छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन