नेभिगेशन
मनोरञ्जन

अदालतविरुद्ध फिल्मकर्मी, अन्याय भएको जिकिर

प्रदर्शनको मुखैमा उच्च अदालत पाटनले ‘लालीबजार’ फिल्मलाई रोक लगाएपछि फिल्मकर्मीहरुले आफूहरूमाथि अन्याय भएको भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
बुधबार माइतीघर, मण्डलमा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज लगायत नेपाली चलचित्र उद्योगमा सक्रिय रहेका निर्माता, निर्देशक तथा कलाकारहरूले हातमा कालो पट्टि बाँधी अदालती निर्णयको विरुद्धमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको फिल्म निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।
कुनै एक व्यक्तिले विरोध गरेको आधारमा, जसका कथामा फिल्म बनाइएको हो उक्त समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुन लागेको फिल्मलाई वैशाख १५ गते रोक लगाएकोमा चलचित्रकर्मीहरुको असन्तुष्टि थियो । 
माइतीघरमा विभिन्न प्लाकार्ड बोकेका चलचित्रकर्मीहरुले यस घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
यस्ता घटनाहरू दोहोरिन नदिन र सृजनशील क्षेत्रको स्वतन्त्रताको रक्षा गर्न नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा नेपाल चलचित्र निर्देशक समाजले साझा ऐक्यबद्धता जनाउँदै अदालतको निर्णय एकतर्फी भएको भन्दै विरोध जनाएका छन् ।
शान्तिपूर्ण र मर्यादित विरोध कार्यक्रममा कलाकर्मीहरूले हातमा कालो पट्टी बाँधेर १५ मिनेटसम्म मौन प्रदर्शन गरेका थिए ।
त्यसपछि आयोजित कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, महासचिव खगेन्द्र लामिछाने, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक अशोक शर्मा, मनोज पण्डित, गणेश देव पाण्डे, निश्चल बस्नेत, सुयोग गुरुङ, रौनक विक्रम कँडेल लगायतले आफ्नो धारणा राख्दै फिल्मबारे निष्कर्षमा पुग्नुअघि यसको विषयवस्तु राम्रोसँग बुझ्नुपर्नेमा जोड दिएका थिए ।
निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले सर्जक आफ्ना कृति र सृजना स्वतन्त्र रूपले  सिर्जना गर्न पाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्जकको अभिव्यक्ति स्वतन्त्रतालाई लगाम लगाउन पाइँदैन । सम्मानित अदालतले सबै प्रक्रिया पूरा गरेको चलचित्र लालीबजारलाई प्रदर्शनमा रोक लगाउनु अन्याय हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘रातो रातो बर्को’ सार्वजनिक

‘रातो रातो बर्को’ सार्वजनिक

भाइरल रानू कहाँ छिन् ?

भाइरल रानू कहाँ छिन् ?