नेभिगेशन
राजनीति
नेपालको राजनीतिक रूपान्तरणमाथि बहस

‘उत्साहभन्दा बढी कार्यान्वयनको कठोर परीक्षामा’

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको नेपाल सरकारप्रति विश्वका २५ देशका कूटनीतिज्ञ, नीति निर्माता र विज्ञहरूले एकै स्वरमा न उत्साहपूर्ण समर्थन दिएका छन्, न त पूर्ण अस्वीकृति, बरु आशा र जोखिमको समानान्तर चित्र प्रस्तुत गरेका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले बुधबार आयोजना गरेको अन्तर्राष्ट्रिय वेबिनारमा आएको धारणा अनुसार नेपालको अहिलेको राजनीतिक मोड युवाशक्ति–केन्द्रित ऐतिहासिक प्रयोग भए पनि यसको स्थायित्व अझै परीक्षणमै रहेको संकेत छ ।
कार्यक्रममा सहभागीहरूले बालेन नेतृत्वलाई पुरानो राजनीतिक संरचनाबाट टाढा गएको ब्रेकिङ मोमेन्टका रूपमा व्याख्या गरे पनि संस्थागत क्षमता, स्पष्ट वैचारिक आधार र प्रशासनिक निरन्तरताको अभावले यो प्रयोग जोखिममा पनि पर्न सक्ने चेतावनी दिए । बंगलादेशका डा. साहाब इनाम खानले युवाको आकांक्षालाई शासनमा रूपान्तरण गरिएको उल्लेख गर्दै भने, ‘यो परिवर्तन रोमाञ्चक छ, तर संरचना कमजोर भएमा दीर्घकालीन स्थायित्व कठिन हुन्छ ।’
अमेरिकाका डा. रोब योर्कले नेपालको राजनीतिक यात्रा उच्च अपेक्षा र सीमित क्षमताबीचको तनावमा रहेको टिप्पणी गर्दै सुधार प्रक्रियालाई सन्तुलित रूपमा अघि नबढाए अस्थिरता बढ्न सक्ने संकेत गरे । उनले विशेषगरी नेपालले भारत–चीनबीच अपनाएको सन्तुलित कूटनीतिलाई अन्तर्राष्ट्रिय समुदायले रणनीतिक परीक्षणका रूपमा हेरिरहेको बताए ।
चीनका डा. चाङ चियाडोङले वर्तमान नेतृत्वलाई भ्रष्टाचारविरुद्धको जनकेन्द्रित प्रयोग भन्दै युवा पुस्तासँगको प्रत्यक्ष सम्बन्धलाई यसको बलका रूपमा चित्रण गरे ।
तर भारतका पूर्व राजदूत मन्जीव सिंह पुरीले चेतावनीको स्वरमा भने, ‘परिवर्तन केवल उत्साहले टिक्दैन, यसलाई संस्थागत संरचना र आर्थिक सहकार्यले बल दिनुपर्छ ।’ युरोपेली संघकी जोएल हिभोनेटले नेपाललाई लोकतान्त्रिक संक्रमणको संवेदनशील चरणमा रहेको उल्लेख गर्दै सुधारको कार्यान्वयन नै निर्णायक हुने बताइन् ।
पाकिस्तानकी डा. आम्ना खानले नेपाललाई क्षेत्रीय शक्तिबीच सन्तुलन कायम राख्ने दुर्लभ क्षमता भएको राष्ट्रका रूपमा व्याख्या गर्दै यसलाई दक्षिण एसियाली सहकार्यको सम्भावित सेतुका रूपमा हेर्नुपर्ने सुझाव दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति