नेभिगेशन
स्वास्थ्य

१७ चिकित्सकको लाइसेन्स खारेज, चिकित्सक संघको असन्तुष्टि

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जनाए ।
उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए । उनले ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको बताए । ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १७ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,’ उनले भने ।
उनका अनुसार यसरी लाइसेन्स खारेजीमा पर्ने चिकित्सकहरूमा शर्मिला गुरुङ, रोशन भुसाल, मोती गुरुङ, देवराज रेग्मी, मेरिना गुरुङ, नीरञ्जनदेव पाण्डे, रोजन केसी, ममता गुरुङ, राजीव हमाल, सलुजा सिंह थारु, सुजना केसी, जोस्ना शाही, मनिषा हमाल, सुप्रिया शाक्य, इच्छा न्यौपाने, दीपेन ढकाल र तुसार सरवजना छन् । ती लाइसेन्स खारेज गरिएका चिकित्सक व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन, हङकङलगायतका देशको नागरिता लिएका छन् । ‘नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिक भइसकेपछि नेपाली चिकित्सकको सूचीमा राख्न मिल्दैन,’ डा देवले भने, ‘प्रचलित कानून र काउन्सिलको निर्णयअनुसार नाम हटाइएको हो ।’ 
काउन्सिलको यस कदमप्रति नेपाल चिकित्सक संघले भने असन्तुष्टि जनाएको छ । संघका  केन्द्रीय अध्यक्ष डा. अनिलविव्रmम कार्की काउन्सिलको यो निर्णलाई सही मान्न नसकिने तर्क अघि सारेका छन् । उनले यस सम्बन्धमा टिप्पणी गर्दै विदेशमा गएर सेवा दिने चिकित्सकको संख्या त्यो भन्दा अधिक रहेको जनाउँदै यो निर्णय सही नभएको बताए । ‘विदेशमा रहेका चिकित्सकको संख्या हजारौं रहेको छ,’ डा. कार्कीले भने, ‘सरकारले एनआरएनहरूलाई नेपालमा बोलाइरहेको छ, अर्कातर्फ एक पटकको नेपाली सधैं नेपाली भन्ने नारा दिएको छ । अर्कातर्फ काउन्सिलको लाइसेन्स खारेज गर्नु उपयुक्त छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्