नेभिगेशन
स्वास्थ्य

ईश्वरपुरमा डायलाइसिस सुरु

सर्लाही । उपचारको अभावमा टाढा–टाढा सहर धाउन बाध्य मिर्गौला रोगीहरूका लागि अब ईश्वरपुरमै राहतको ढोका खुलेको छ । ईश्वरपुर नगरपालिकाको नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरसँगै डायलाइसिस सेवा औपचारिक रूपमा सुरु भएसँगै राहतको ढोका खुलेको हो ।
मधेस प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायले उद्घाटन गरेको उक्त सेवाले स्थानीय नागरिकलाई सुलभ र सहज उपचार उपलब्ध गराउने विश्वास गरिएको छ । यससँगै किड्नी रोगजस्तो जटिल समस्याको उपचार आफ्नै नगरमै सम्भव बनेको छ ।
ईश्वरपुर नगरपालिकाको नगर अस्पतालमा मृगौला (किड्नी) रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा डायलाइसिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ । शुक्रबार ईश्वरपुर नगरपालिकाद्वारा आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल रायले उक्त सेवाको उद्घाटन गरे ।
सो समारोहमा बोल्दै मन्त्री रायले डायलाइसिस सेवा प्रभावकारी र भरपर्दो रूपमा सञ्चालन गर्न प्रादेशिक अस्पतालको विशेषज्ञ टोली ईश्वरपुर पठाउने प्रतिबद्धता व्यक्त गरे र । उनले नगर अस्पतालको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा ठोस लगानी गर्ने धारणा व्यक्त गरे । ग्रामीण तथा नगर क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उनले मृगौला रोगजस्तो गम्भीर समस्याको उपचार स्थानीय स्तरमै सम्भव हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
सो अवसरमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज आचार्यले आफू निर्वाचित भएदेखि नै नगरवासीसँग पाठेघर रोगको उपचार, आँखाको अपरेशन र किड्नी रोगीका लागि निःशुल्क डायलाइसिस सेवा सुरु गर्ने गरिएको प्रतिबद्धता पुरा भएको बताए । नगर प्रमुख आचार्यले ईश्वरपुरका हरेक वडाबाट किड्नी रोगीहरूलाई एम्बुलेन्समार्फत अस्पतालसम्म ल्याइने बताउँदै सम्पूर्ण सेवा सुविधा नगरपालिकाले उपलब्ध गराउने जानकारी दिए । उनले नगरवासीको स्वास्थ्यलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए । डायलाइसिस सेवा सुरु भएसँगै बिरामीहरूलाई आर्थिक भारबाट राहत मिल्ने र उपचार सहज हुने उनको भनाइ थियो ।
सेवा सुरु भएसँगै ईश्वरपुर नगरपालिकाले स्थानीय तहबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने दिशामा महत्वपूर्ण फड्को मारेको विश्वास गरिएको छ । नेपाल सरकारको मापदण्ड अनुसार कम्तीमा ५ वटा डायलाइसिस मेसिन आवश्यक पर्ने भए पनि हाल अस्पतालमा २ वटा मात्र मेसिन उपलब्ध छन् ।  यस अवस्थामा नगर प्रमुख आचार्यले प्रदेश सरकारसँग थप मेसिन उपलब्ध गराउन आग्रह गरेका छन् । यसअघि यस क्षेत्रका मिर्गौला रोगीहरूलाई उपचारका लागि जनकपुर वा वीरगञ्ज जस्ता सहरहरूमा जानुपर्ने बाध्यता थियो, जसले गर्दा समय, झन्झट र आर्थिक भार बढ्ने गरेको थियो । अब भने स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्