नेभिगेशन
मनोरञ्जन

करिश्मा कपूरका सन्तानले अंश पाउने

दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री करिश्मा कपूरका दुवै सन्तानलाई अन्तरिम राहत दिएको छ । अदालतले संजय कपूरको सम्पत्ति बेच्न रोक लगाउने मुद्दालाई स्वीकार गरेको हो ।
करिश्मा कपूर र संजय कपूरको विवाह सन् २००३ मा भएको थियो । तर १३ वर्षपछि २०१६ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । उनीहरूको एक छोरा र एक छोरी छन् । संजय कपूरको सन् २०२५ मा निधन भएको थियो ।
अदालतले दिवंगत उद्योगपति संजय कपूरकी पत्नी प्रिया सचदेव कपूरलाई उनका सम्पत्ति बेच्न वा खर्च गर्नबाट रोकेको छ । प्रिया सचदेव कपूर, संजय कपूरकी तेस्री पत्नी हुन् ।
अदालतले संजय कपूरका सन्तानको तर्फबाट दायर मुद्दा अन्तिम रूपमा टुंगो नलागेसम्म सम्पत्तिलाई सुरक्षित राख्नुका साथै प्रिया सचदेव कपूरले कुनै पनि सम्पत्ति बेच्न वा स्थानान्तरण गर्न नसक्ने गरी आदेश दिएको छ ।
बार एन्ड बेन्चका अनुसार न्यायाधीश ज्योति सिंहले सम्पत्ति नष्ट हुन नदिनु र सुरक्षित राख्नु आवश्यक भएको बताएका छन् । उनले प्रिया कपूरलाई बालबालिकाले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने पनि बताएका छन् ।
अदालतले मुद्दाको सुनुवाइमा समय लाग्न सक्ने भन्दै यस अवधिमा याचिकाकर्ताहरूले उठाएका सबै चिन्ताको समाधान प्रतिवादी (प्रिया कपूर) ले दिनुपर्ने उल्लेख गरेको छ ।
दिवंगत संजय कपूरकी बहिनी मन्धिरा कपूरले एएनआईसँग कुरा गर्दै भनिन्, ‘अर्को कदम वसीयतको फरेन्सिक जाँच गराउनु हो । न्याय भएको छ । यो संघर्षको दिशामा चालिएको पहिलो कदमबाट हामी धेरै खुसी छौँ ।’
उनले भनिन्, ‘प्राविधिक रूपमा यी सम्पत्तिहरू मेरी आमाका हुन् । हाम्रो मुख्य चिन्ता ती सम्पत्तिहरू नष्ट नहोऊन् भन्ने हो । ती परिवारमै फर्किनुपर्छ । बालबालिकाको हेरचाह हुनुपर्छ । यो आदेश परिवार, मेरी आमा र बालबालिकाका लागि धेरै राम्रो हो ।’
अदालतले प्रिया सचदेव कपूरलाई दिवंगत संजय कपूरको सम्पत्तिमा कुनै तेस्रो पक्षलाई अधिकार दिनबाट पनि रोकेको छ ।
न्यायाधीश ज्योति सिंहले करिश्मा कपूर र रानी कपूर (संजय कपूरकी आमा) ले वसीयतको वैधता र प्रामाणिकतामाथि प्रश्न उठाएको उल्लेख गर्दै अब ती शंका हटाउने जिम्मेवारी प्रिया सचदेव कपूरकै भएको बताएका छन् । अदालतले प्रिया कपूरलाई संजय कपूरका भारतीय कम्पनीहरूमा रहेका शेयर, इक्विटी बेच्न, सार्न, धितो राख्न वा परिवर्तन गर्न पनि रोक लगाएको छ ।
तर अदालतले यो आदेश विदेशमा रहेका अचल सम्पत्तिमा लागू नहुने स्पष्ट पारेको छ । करिश्मा कपूरका सन्तानले प्रिया सचदेव कपूरमाथि वसीयतमा हेरफेर गरी सम्पत्तिमा पूर्ण नियन्त्रण लिन खोजेको आरोप लगाएका छन् ।
सन्तानहरूले आफ्नी आमामार्फत अदालतमा निवेदन दिँदै सन् २०२५ जुनमा बेलायतमा संजय कपूरको अचानक मृत्यु भएपछि प्रिया कपूरले आफूहरूलाई सम्पत्तिबाट गलत रूपमा हटाएको दाबी गरेका छन् ।
यस मुद्दामा प्रिया कपूर, उनका नाबालिग छोरा, संजय कपूरकी आमा रानी कपूर र वसीयत कार्यान्वयनकर्ता श्रद्धा सूरी मारवाहलाई प्रतिवादी बनाइएको छ । विवादको जड २१ मार्च २०२५ को वसीयत हो, जसमा कथित रूपमा संजय कपूरको सम्पूर्ण निजी सम्पत्ति प्रिया कपूरको नाममा गरिएको छ ।
सन्तानहरूले वसीयत सात हप्ताभन्दा बढी समयसम्म लुकाएर राखिएको र ३० जुलाई २०२५ मा मात्र पारिवारिक बैठकमा खुलासा गरिएको भनी आरोप लगाएका थिए ।
अदालतमा यो वसीयत नक्कली र मनगढन्ते भएको दाबी गरिएको छ । निवेदनमा प्रिया कपूर सम्पत्तिमा पूर्ण नियन्त्रण लिन खोज्दै अन्य कानूनी उत्तराधिकारीलाई बाहिर राख्न खोजेको आरोप लगाइएको छ ।
प्रिया सचदेव कपूरले भने यी आरोप अस्वीकार गर्दै वसीयत वास्तविक भएको बताएकी छन् । उनले वसीयतमा केही त्रुटि भए पनि त्यसले यसको वैधता नहटाउने दाबी गरिन् । उनका वकिलले करिश्मा कपूरका सन्तानले परिवारको ट्रस्टबाट आफ्नो हिस्सा पाइसकेको पनि बताएका छन् ।
वरिष्ठ अधिवक्ता राजीव नायरले प्रिया कपूरको पक्षमा बहस गर्दै करिश्मा कपूरले आफ्नो र संजय कपूरबीचको सम्बन्ध राम्रो थियो भन्ने गलत कथा प्रस्तुत गरेको दाबी गरे । उनले उनीहरूको विवाह तिक्ततापूर्ण सम्बन्ध विच्छेदमा टुंगिएको बताएका छन् । दुवै पक्षका तर्क सुनेपछि अदालतले करिश्मा कपूरका सन्तानको पक्षमा अन्तरिम आदेश दिएको हो ।
करिश्मा कपूरका वकिल रवि शर्माले अदालतले प्रिया कपूरलाई कुनै पनि अचल सम्पत्ति, कम्पनी, शेयर, बैंक खाता वा क्रिप्टो वालेटसँग सम्बन्धित कारोबार गर्न रोक लगाएको बताएका छन् । संजय कपूरको निधन हुँदा ५३ वर्षका थिए ।
उनी सोना कोमस्टार कम्पनीका उत्तराधिकारी थिए । यसको कारोबार करिब ३.६ अर्ब डलर रहेको छ । कम्पनीका भारत, चीन, मेक्सिको र अमेरिकामा संयन्त्रहरू रहेका छन् ।
संजय कपूरले तीन विवाह गरेका थिए । पहिलो विवाह डिजाइनर नन्दिता महतानीसँग, दोस्रो विवाह अभिनेत्री करिश्मा कपूरसँग र तेस्रो विवाह २०१७ मा प्रिया सचदेवसँग गरेका थिए । उनको मृत्युपछि उत्तराधिकारी को हुने भन्ने विषयले परिवारलाई विवादमा तानेको छ । उनकी आमा रानी कपूर पनि चर्चामा रहेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन