सूचना र प्रविधिको विकाससँगै अधिकांश क्षेत्र अहिले डिजिटल प्रविधिमय भएको छ । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो हुन सकेन । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मको हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मा रुपान्तरण हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।
यद्यपि यो समयसम्म आउन नेपाली चलचित्रले ‘सेलुलाइड’ युगलाई पार गर्नुपरेको थियो । उक्त समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो ।
एउटा चलचित्र भवनबाट अर्काे चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको संख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो ।
सीमित प्रिन्ट मोफसलमा प्रदर्शन भएर काठमाडौँ आउँदा कोरिने, प्वाल पर्ने लगायतका समस्याका कारण कतिपय चलचित्र भवनमा धमिलो देखिन्थ्यो ।
सोह्र मिलिमिटरमा खिचेर ३५ मिलिमिटरमा प्रदर्शन गर्दा गुणस्तरमा कमी आउँथ्यो । फलतः शहरिया दर्शकको रोजाइमा नेपाली चलचित्र कम पर्न थाल्यो । किनकि यता सोही मूल्यमा हेर्न पाइने विदेशी चलचित्र भने गुणस्तरीय थियो ।
ध्वनि, छायाङ्कन, प्रदर्शनमा देखिएको यावत् समस्यालाई महसूस गरिरहनुभएका निर्माता तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्रलाई ‘डिजिटल युग’तर्फ मोड्नुभयो ।
‘हामीले जुन गुणस्तरको चलचित्र ल्याइरहेका थियौं, त्यसले लामो समय निरन्तरता दिन गाह्रो छ भन्ने मलाई लागेको थियो,’ निर्देशक शर्माले भने, ‘किनकि हामीले फड्को मार्न सकिरहेका थिएनौं । अन्य देशका चलचित्र उद्योगमा भइरहेको रुपान्तरण हामीकहाँ हुने सम्भावना नै थिएन ।’
चलचित्र निर्माणको शुरुआत ३५ मिलिमिटरबाट गरिएको भएता पनि लगानी कम गर्न १६ मिलिमिटर हुँदै ‘भिडियो’ चलचित्र बन्न थालेपछि शहरिया दर्शक घटेको उनले बताए । त्यही क्रममा ‘जय नेपाल चलचित्र’ भवनलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने तयारीमा रहेका भाष्कर ढुङ्गानासँग निर्देशक शर्माको भेट भयो ।
शुरुमा उक्त हलमा विदेशी चलचित्र मात्र प्रदर्शन हुन्थ्यो । यद्यपि लक्षित दर्शक हलसम्म आएनन् । निर्देशक शर्मालाई नेपाली चलचित्रको निर्माण र कथ्य शैलीमा परिवर्तन आउनुपर्छ भन्ने लाग्यो ।
यसै सन्दर्भमा ‘डिजिटल प्रविधि’को आवश्यकता महसूस भएको निर्देशक शर्माको भनाइ थियो । भारतमा सन् २००५ मा भित्रिएको ‘डिजिटल प्रविधि’लाई नै नेपालको लागतसँग मिल्दो पाएपछि नेपाल ल्याइयो ।
डिजिटल प्रविधि भित्रिएपछि प्रदर्शक ढुङ्गानासहित सम्बद्ध क्षेत्रका केही व्यक्तिसँग मिलेर ‘डिजिटल सिनेमा नेपाल (डिसिएन)’ को सुरुआत शर्माले गरेका थिए । उक्त प्रविधि नेपाल भित्रिएसँगै निर्माता तथा निर्देशकका लागि जानकारी दिन ‘प्रदर्शनी’ को आयोजना गरियो ।
त्यसपछि जय नेपाल हलमा ‘हलिउड’ र ‘बलिउड’का चलचित्र डिजिटल प्रविधिमै देखाइयो । तर, नेपाली चलचित्रको निर्माणमा परिवर्तन आएको थिएन । ‘सेलुलाइड प्रविधि’मै निर्माण हुँदा त्यसको प्रदर्शन अन्य प्रविधिमा सम्भव थिएन ।
‘प्रविधिको गुणस्तर बुझाउन हाम्रो ‘डिसिएन’कै केही साथीहरूले ‘कागबेनी’ चलचित्र निर्माण गरे । त्यसका लागि छायाङ्कन गर्ने क्यामेरादेखि सम्पादन गर्ने कम्प्युटरसम्म तयार गर्यौं,’ निर्देशक शर्माले सुनाए ।
टेलिभिजनकर्मी भूषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ चलचित्रले नयाँ कथ्य शैली र दृश्य भाषालाई प्रस्तुत गर्यो । त्यहाँ परम्परागत प्रस्तुतीकरण थिएन न त हिरो भन्ने शब्दसँग मिल्दो भाष्य नै थियो । त्यसले दर्शकलाई केही हदसम्म नेपाली चलचित्रको नयाँ युगसँग परिचित गरायो ।
लागत मूल्य कम पर्ने भएपछि विस्तारै चलचित्र भवनमा डिजिटल प्रविधि जडान भए । सोही समयमा ‘गोपीकृष्ण मुभिज्’ले समेत ‘क्युब डिजिटल’ सर्भर नेपाल भित्र्यायो । दुई सर्भर भएपछि नेपालभर डिजिटल प्रविधि जडान हुन समय लागेन ।
‘निर्माण र प्रदर्शनमा डिजिटल प्रविधिले सहज पु¥याएपछि नेपालभर एकसाथ चलचित्र प्रदर्शन हुन थाले । स्वदेशमै विदेशको जस्तो गुणस्तरीय नेपाली चलचित्र हेर्न पाएपछि दर्शक बढे,’ निर्देशक शर्माले भने, ‘यसरी प्रविधिको विकासले निर्माण बढ्यो । किनकि एकसाथ नेपालभर प्रदर्शन हुँदा नयाँ र गुणस्तरीय चलचित्र दर्शकसम्म पुग्यो ।’
नेपालमा ‘युएफओ’ र ‘क्युब डिजिटलको सर्भर’ भएर प्रिन्टबाट निर्माताले छुटकारा पाए पनि प्रविधिमा चलचित्र ‘इनकोडिङ’ गर्न भारत जानुपथ्र्यो । प्रारम्भमा त्यो सहज देखिए पनि विस्तारै समस्याको रुपमा विकसित हुँदै गयो ।
त्यही कारण नेपालमै त्यसको समाधान गर्ने खोज हुन थाल्यो । ‘नेपाली चलचित्रको लागि आफ्नै सर्भर बनाऔँ भनेर अष्ट्रेलियन कम्पनीसँग ‘सफ्टवेयर’ र सिङ्गापुरको कम्पनीसँग ‘हार्डवेयर’ लिएर ‘डिसिएन सर्भर’को शुरु भयो ।
त्यसपछि भारत जानुपर्ने समस्याबाट छुटकारा पाइयो । यद्यपि चलचित्र भवनमा नेपाली र विदेशीको लागि छुट्टाछुट्टै दुई सर्भर थिए । त्यसबाट पनि पुनः नयाँ समस्या देखियो,’ निर्देशक शर्माले विगत सम्झँदै भने, ‘हामीले पुनः ‘युएफओ’सँग कुराकानी गर्यौँ । नेपालमै ‘इनकोडिङ’ गर्न मिल्ने सफ्टवेयरको माग गर्यौँ । त्यसबापत हामीले ‘रोयल्टी’ तिर्ने तय भयो ।’
अहिले नेपालमै सम्पूर्ण प्रविधिमा ‘इनकोडिङ’ हुन्छ । त्यही चलचित्रलाई विश्वभर प्रदर्शन गर्न सकिन्छ । डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ ।
उनका अनुसार अहिले नेपालभर ‘नन टुके’, ‘टुके’ र ‘फोरके’ लगायतका प्रविधि जडित चलचित्र भवन सञ्चालनमा छन् ।
‘कागबेनी’ चलचित्रमार्फत नेपालमा ‘डिजिटल यात्रा’ को शुरुआत भएर विविध बाधा अड्चन पार गर्दै निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । यसले सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो । यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहज बनाएको छ ।
आज शुक्रबार प्रथम प्रदर्शनमा रहेका फिल्मको आधारभूमि यसरी तयार पारिएको बिर्सन नमिल्ने निर्माता शर्मा बताउँछन् ।
- भेषराज कार्की/रासस