नेभिगेशन
मनोरञ्जन

‘परालको आगो’ वर्षकै पहिलो हिट हुने बाटोमा

वैशाख महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको बक्स अफिसमा समय र गति दुवै हिसाबले फरक–फरक चित्र देखिएको छ । वैशाख १ गते रिलिज भएका ‘राम नाम सत्य’ र ‘पहाड’ले १९ दिनको व्यापार पूरा गरिसक्दा वैशाख ११ मा रिलिज भएको ‘परालको आगो’ले ९ दिनमै उल्लेखनीय उछाल देखाएको छ ।
उपलब्ध आधिकारिक तथ्यांकअनुसार ‘राम नाम सत्य’ले १९ दिनमा कुल १ लाख २० हजार १ सय २६ टिकट बिक्री गर्दै करिब ३ करोड ३९ लाख ३३ हजार ४ सय ६६ रुपैयाँ आम्दानी गरेको छ । सोही दिन रिलिज भएको ‘पहाड’ भने दर्शक तान्न असफलजस्तै देखिएको छ । तुलसी घिमिरे निर्देशित यस फिल्मले १९ दिनमा जम्मा २० हजार २ सय ६९ टिकट बिक्री गर्दै करिब ६३ लाख १९ हजार २६२ रुपैयाँ मात्र व्यापार गरेको छ ।
यता, वैशाख ११ मा प्रदर्शनमा आएको ‘परालको आगो’ले भने छोटो अवधिमै बलियो उपस्थितिको संकेत दिएको छ । फिल्मले ९ दिनमै १ लाख ३० हजार ४ सय ४२ टिकट बिक्री गर्दै ३ करोड १२ लाख २७ हजार ५२ रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
यस तथ्यांकले ‘परालको आगो’ले आधा समयमै ‘राम नाम सत्य’को कमाइसँगै नजिक पुग्ने गति समातेको छ । दैनिक औसत आम्दानीको हिसाबले हेर्दा पनि ‘परालको आगो’ अगाडि देखिन्छ । यसले बजारमा फिल्मको माग तीव्र रहेको संकेत गर्छ ।
समग्रमा ‘राम नाम सत्य’ अहिले कुल आम्दानीमा अगाडि रहे पनि यसको वृद्धि दर स्थिर छ भने ‘परालको आगो’ तीव्र गतिमा उक्लँदै गएको छ । ‘परालको आगो’को माउथ पब्लिसिटी बढ्दै गएकाले व्यापार बढ्ने देखिन्छ । 


यसैबीच, ‘परालको आगो’को लोकप्रियतालाई क्यास गर्न केही संस्थाले अवैधानिक रूपमा विशेष प्रदर्शन गरेको पाइएपछि निर्माता सुशील पोखरेलले प्रदर्शनी गर्ने संस्थालाई ठगीधन्दा नचलाउन आग्रह गरेका छन् ।
उनले फेसबुकमा आफूहरूसँग कुनै स्वीकृति नलिई च्यारिटी शो गरेकामा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले च्यारिटी शोको टिकट फेसबुकमा राख्दै यस्ता भ्रामक गतिविधिमा नपर्न दर्शकहरूलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘उक्त तथाकथित च्यारिटी शो तथा त्यससँग सम्बन्धित कुनै पनि क्रियाकलापमा हाम्रो वा हाम्रो कम्पनीको कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौं । यस्ता च्यारिटीको नाममा बेचिने टिकटहरू नकिन्न तथा सचेत रहनुहुन हार्दिक अनुरोध गर्दछौं ।’
करिब दुई करोडको बजेट रहेको यो फिल्मले नेपालको घरेलु बजारबाट लगानी उठाउन पाँच करोड रूपैयाँको ग्रस व्यापार गर्नुपर्ने हुन्छ । अहिलेसम्मको व्यापार हेर्दा घरेलु व्यापारबाटै लगानी उठ्ने देखिएको छ । यद्यपि, फिल्म चलेको एक हप्ताको व्यापारबाट नै फिल्म निर्माता पोखरेलले विदेशमा प्रदर्शन अधिकार तथा डिजिटल अधिकार बेचेर लगानी उठाइसकेको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन