नेभिगेशन
मनोरञ्जन

फिल्म लेखकहरूसँग सल्लाह गर्दै सेना

लण्डन, (एजेन्सी) । नेटोले युरोप र अमेरिकाभरिका चलचित्र तथा टेलिभिजनका पटकथा लेखक, निर्देशक र निर्माताहरूसँग बन्द कोठाभित्र बैठकहरू गरिरहेको तथ्य ‘द गार्डियन’ पत्रिकाले खुलासा गरेको छ । यस कार्यले सैन्य गठबन्धनले कला क्षेत्रलाई आफ्नो समूहको लागि ‘प्रचारबाजी’ (प्रपोगन्डा) बनाउन प्रयोग गरिरहेको आरोप लागेको छ ।
गठबन्धनले हालसम्म लस एन्जलस, ब्रसेल्स र पेरिसमा चलचित्र र टेलिभिजनकर्मीहरूसँग तीनवटा बैठक गरिसकेको छ र आउँदो महिना लन्डनमा ‘अन्तरंग कुराकानीको शृंखला’लाई निरन्तरता दिने तय भएको छ । त्यहाँ बेलायतका व्यावसायिक लेखकहरूको प्रतिनिधित्व गर्ने ‘राइटर्स गिल्ड अफ ग्रेट ब्रिटेन’ (डब्लूजीजीबी) का पटकथा लेखक सदस्यहरूसँग भेटघाट गरिनेछ ।
लन्डनमा हुन लागेको यो प्रस्तावित बैठकले निम्ता गरिएका केही व्यक्तिहरूमा चिन्ता र आक्रोश पैदा गरेको छ । उनीहरूलाई आफूहरूलाई ‘नेटोको प्रचार प्रसारमा योगदान दिन’ आग्रह गरिएको महसुस भएको छ ।
‘चाथम हाउस’ नियमअन्तर्गत हुने यस बैठकको छलफलको विषय ‘युरोप र बाहिरको विकसित सुरक्षा अवस्था’ रहनेछ । यस नियमअनुसार सहभागीहरूले प्राप्त जानकारी प्रयोग गर्न स्वतन्त्र हुन्छन् तर जानकारी दिने व्यक्तिको पहिचान भने खुलाउन पाइँदैन । बैठकमा हाइब्रिड, साइबर र नयाँ प्रविधिका लागि सहायक महासचिव रहेका नेटोका पूर्व प्रवक्ता जेम्स एपाथुरई र गठबन्धनका अन्य अधिकारीहरू सहभागी हुने योजना छ ।
द गार्डियनले फेला पारेको डब्लूजीजीबीको एक इमेलमा यी बैठकहरूले पहिले नै विकासको चरणमा रहेका ‘तीनवटा छुट्टै परियोजनाहरू’तर्फ डो¥याइसकेको संकेत गरिएको छ । इमेलमा नेटो ‘सहकार्य र सम्झौता, तथा मित्रता र गठबन्धनको पालनपोषण नै अगाडि बढ्ने बाटो हो भन्ने विश्वासमा निर्माण भएको’ भनिएको छ  । आयोजकका अनुसार ‘यति सरल सन्देश मात्रै पनि भविष्यको कुनै कथामा पर्न सफल भयो भने, त्यो पर्याप्त हुनेछ ।’
सन् २०२६ को आइरिस फिल्म एन्ड टेलिभिजन अवाड्र्समा उत्कृष्ट फिल्मको अवार्ड जितेको चलचित्र ‘क्रिस्टी’का लेखक एलन ओ’गोरम्यानले प्रस्तावित बैठकलाई ‘अपमानजनक’ र ‘स्पष्ट रूपमा प्रोपोगान्डा’ भनेका छन् । उनले भने, ‘यसलाई एक प्रकारको सकारात्मक अवसरको रूपमा प्रस्तुत गर्नु संवेदनहीन र पागलपन हो भन्ने मलाई लाग्यो । मलगायत धेरै मानिसहरूका साथीभाइ र परिवार नेटोमा नरहेका देशहरूबाट आएका छन्, जसले नेटो सहभागी भएका र फैलाएका युद्धहरूको मार खेपेका छन् ।’
यी बैठकहरू नेटोले चलचित्र र टेलिभिजनमार्फत आफ्ना सन्देशहरू बाहिर ल्याउने एउटा प्रयास हो भन्ने उनलाई लागेको छ । उनले थपे, ‘यतिबेला युरोपभरि हाम्रो रक्षा व्यवस्था कमजोर छ भनेर डर फैलाउने काम भइरहेको छ ।’ युक्रेनमा रुसी आक्रमणपछि आयरल्याण्डमा रक्षा खर्च कीर्तिमानी स्तरमा बढेको छ, जसलाई सबै दल र जनताले व्यापक समर्थन गरेका छन् । यद्यपि नेटोमा सामेल हुने विषयमा भने समर्थन अझै कम छ ।
गत वर्षको इप्सोस सर्वेक्षणअनुसार, यदि संयुक्त आयरल्याण्ड बन्यो भने पनि गणतन्त्र आयरल्याण्डका ४९ प्रतिशत मतदाता गठबन्धनमा सामेल हुने कुराको विरुद्धमा छन् भने मात्र १९ प्रतिशत पक्षमा र २२ प्रतिशत अनिश्चित छन् । ओ’गोरम्यानका अनुसार मिडिया र सरकारको एक हिस्साबाट नेटोलाई सकारात्मक रूपमा देखाउने र उनीहरूसँग नजिक हुने प्रयास भइरहेको छ तर अधिकांश आयरिस जनता विदेशी भूमिमा हुने युद्धसँग कुनै सरोकार राख्न चाहँदैनन् । उनले निम्ता गरिएका अन्य लेखकहरू पनि युद्धलाई सहयोग पुग्ने गरी कलाको प्रयोग हुन लागेकोमा निकै चिढिएको बताए ।
पटकथा लेखक तथा निर्माता फैसल ए कुरेशीले भने कि गुप्तचर वा सैन्य ब्रिफिङको यो नाम नखुलाइने संसारमा लाग्ने कुनै पनि सिर्जनशील व्यक्तिका लागि ‘आफूसँग अब केही गोप्य ज्ञान छ भन्ने सोचेर लोभिने जोखिम रहन्छ ।’ उनीहरूलाई लाग्न सक्छ कि त्यहाँ नैतिकता खुम्चिएको र बृहत्तर हितका लागि मानवअधिकार उल्लंघन स्वीकार्य हुने एउटा ‘धमिलो संसार’ अस्तित्वमा छ । कुरेशीले यस्ता बैठकमा दिइएका सूचनालाई कलाकारहरूले पर्याप्त रूपमा प्रश्न उठाउलान् कि नउठाउलान् भन्नेमा आशंका व्यक्त गरे । ‘उनीहरूलाई एउटा यस्तो निकायले सत्यको आवरण दिएर केही कुरा सुम्पिएको छ, जसले विरलै जनतासँग सरोकार राख्छ । र त्यस्तो पहुँच पाउनुमा एउटा विशेषाधिकारको अनुभूति हुन्छ,’ उनले भने ।
यस वर्षको सुरुमा ‘सेन्टर फर युरोपियन रिफर्म’ नामक थिंकट्यांकले एक प्रतिवेदन जारी गर्दै रक्षा खर्च बढाउन जनसमर्थन जुटाउन र ‘यी लगानीहरू किन आवश्यक छन् भन्ने कथा राम्रोसँग भन्नका लागि’ सरकारहरूलाई पटकथा लेखक र फिल्म निर्मातालगायत सांस्कृतिक नेताहरूसँग संलग्न हुन आह्वान गरेको थियो । सन् २०२४ मा पनि चर्चित सिटकम ‘फ्रेन्ड्स’ का एक लेखक र कार्यकारी निर्मातासहित आठ जना पटकथा लेखकहरूलाई सुरक्षा नीतिको बारेमा जान्न वासिङ्टनस्थित ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेशनल स्टडीज’ले ब्रसेल्सस्थित नेटो मुख्यालयमा निमन्त्रणा गरेको थियो । सो टोलीले भ्रमणका क्रममा गठबन्धनका तत्कालीन महासचिव जेन्स स्टोल्टनबर्गलाई भेटेका थिए ।
नेटोका एक अधिकारीले भने, ‘उल्लेखित पहल मनोरञ्जन उद्योगका काल्पनिक कथा लेखकहरूका लागि गरिएको सत्रहरूको शृंखलाको चौथो कडी हो । यो नेटो के हो र यसले कसरी काम गर्छ भन्नेबारे थप जान्न उद्योगका सदस्यहरूले व्यक्त गरेको चासोका कारण सुरु गरिएको हो । यी कार्यक्रमहरूमा नेटोका प्रतिनिधिहरू, नागरिक समाज र थिंकट्यांक समुदायसँगको संलग्नता समावेश हुन्छ ।’
डब्लूजीजीबीका प्रवक्ताले भने, ‘एक ट्रेड युनियनको रूपमा हामीले तेस्रो पक्षीय संस्थाहरूबाट हाम्रा सदस्यहरूका लागि व्यावसायिक रूपमा उपयोगी वा रोचक हुन सक्ने कार्यक्रमहरूको निमन्त्रणा प्राप्त गर्छौं । यी अन्तरक्रियाहरूले अनिवार्य रूपमा ती संस्थाहरूको समर्थनलाई प्रतिनिधित्व गर्दैनन् । हामीले हाम्रा पटकथा लेखक सदस्यहरूलाई पठाएको नेटोको निमन्त्रणा दुईतर्फी कुराकानीको अवसर दिने एउटा कार्यक्रमको लागि थियो । हाम्रा सदस्यहरू स्वतन्त्र विचारक हुन् । यो एक मूल्यवान् र महŒवपूर्ण सीप हो र उनीहरूले यसलाई आफ्नो कलामा प्रयोग गर्छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन