नेभिगेशन
स्वास्थ्य

तेमाल गाउँपालिका पूर्णखोप सुनिश्चित

काभ्रे । काभ्रेको तेमाल गाउँपालिकालाई यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार पालिका अध्यक्ष एवं पालिकास्तरीय खोप समितिका संयोजक चन्द्रबहादुर तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख एवं जिल्ला खोप समन्वय समितिका उपसंयोजक रिमबहादुर तामाङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । यो पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिकामध्ये जिल्लामै पाँचौँ नम्बरमा पर्न सफल भएको छ । यसवर्ष नमोबुद्ध नगरपालिका पहिलो भयो भने मण्डनदेउपुर नगरपालिका दोस्रो, भुम्लु गाउँपालिका तेस्रो र पाँचखाल नगरपालिका चौथो पालिका भएका छन् । 
कार्यक्रममा पालिका उपाध्यक्ष दलमान थोकरले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले पूर्णता पाएको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे । गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले आफ्नो पालिकाको पहिलो प्राथमिकता  स्वास्थ्य क्षेत्र रहेको र नागरिकको स्वास्थ्यप्रति आफूहरु सधैं सजग रहेको धारणा व्यक्त गरे । उनले समयमा खोप नपाउँदा बालबालिकाहरु धेरै रोगका शिकार भइरहेको अवस्थामा आज तेमालमा पूर्णखोप सुनिश्चित अभियान सफल भएका कारण अब पालिकामा रोगका शिकार हुने बालबालिका कम हुने आशा व्यक्त गरे । उनले विशेषगरि पछिल्ला दिनहरुमा पालिकामा दीर्घ र गम्भीर रोगका बिरामीहरु पनि बढेका र यसलाई न्यून गराउन किसानहरुले विशेष ध्यान दिएर विषादी प्रयोगमा सावधानी अपनाउनु पर्ने र यसो गर्न सके मात्र रोगहरुमा कमी ल्याउन सकिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्