नेभिगेशन
प्रदेश

पोखराको बागलुङ बसपार्कमा रोकिएन यौन क्रियाकलाप

पोखरा, २० भदौ - केही वर्षयता सुधारको संकेत देखिएको पोखराको बागलुङ बसपार्क (हाल विन्ध्यवासिनी बसपार्क) फेरि यौनजन्य क्रियाकलापको अखडामा परिणत हुने संकेत देखिएको छ । लामो समयदेखि अनैतिक गतिविधिका कारण बदनाम रहेको यस क्षेत्रमा स्थानीयको पहलमा सुधार गरिएको थियो । 

बसपार्कको नामसमेत विन्ध्यवासिनी बसपार्क राख्दै नयाँ छवि निर्माण गर्ने प्रयास गरिएको थियो । तर, पछिल्लो समय पुनः अवैध यौनधन्दा खुलेआम सञ्चालनमा आएको भन्दै चिन्ता बढेको छ ।

कास्की प्रहरीले हालै सञ्चालन गरेको अपरेशनमा १९ वटा रेष्टुराँ र खाजाघर सञ्चालकलाई देहव्यापारसँग संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले पोखरामा यस्ता अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी सतर्क रहेको जनाएका छन् । उनका अनुसार, जुनसुकै स्वरूपको देहव्यापारमाथि निगरानी बढाइएको छ ।

विगतमा स्थानीयबासी र प्रशासनको पहलमा केही वर्षका लागि यस्ता गतिविधिहरू बन्द भएका थिए । सामाजिक सञ्जाल र बिचौलियामार्फत लुकीछिपी हुँदै आएको देहव्यापार अहिले भने फेरी खुलेआम सञ्चालनमा आएको स्थानीयहरू बताउँछन् । स्थानीयवासीहरूका अनुसार, आफ्नै वरपरको क्षेत्रमा हिँड्नसमेत लाज मान्नुपर्ने अवस्था सिर्जना भएको छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई पर्यटकीय सहरका रूपमा विकास गर्ने क्रममा ‘रेडलाइट एरिया’ को अवधारणा अघि सारे पनि त्यसले मूर्त रूप लिन सकेन । 

देहव्यापारलाई विश्वकै पुरानो पेशाका रूपमा लिइए पनि नेपाली समाजले सहज रूपमा स्वीकार गर्न नसकिरहेको वर्तमान सन्दर्भमा, यसप्रकारको गतिविधि पुनः मौलाउनु गम्भीर सामाजिक चुनौती बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्