नेभिगेशन
मनोरञ्जन

चलचित्र भवनको संख्या बढाउन पहल भइरहेको छ : अध्यक्ष डिसी

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको संख्या बढाउने तयारीका साथ काम भइरहेको बताएका छन् । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले चलचित्र भवनको संख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए ।

उनले भने, ‘बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको संख्या २०० पुर्‍याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउन प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र भवनमै हुन्छ, त्यसैले हामीले संख्या बढाउन प्रोत्साहन गरिरहेका छौँ ।’ अध्यक्ष डिसीले हाल देशभर १६८ चलचित्र भवन सञ्चालनमा रहेको जानकारी दिए ।

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो ‘अडिटोरियम’ शुक्रबारदेखि सञ्चालनमा आएको बताए । उनले भने, ‘चलचित्र भवनको संख्या थपिएसँगै यसले मनोरञ्जनसँगै रोजगारी पनि सिर्जना गरेको छ । यसले स्थानीय पर्यटन प्रवर्द्धनमा भूमिका खेल्नाका साथै चलचित्रको व्यापारमा पनि टेवा पुर्‍याउने छ । नेपालभरका चलचित्र भवन सञ्चालकको हितमा बोर्डले गर्ने गतिविधि बढाएर प्रोत्साहन गर्नु पर्दछ ।’ नयाँ सिनेमा हल ‘अडिटोरियम’मा ‘बार्को प्रोजेक्टर’, ‘पल्सको ७.१ साउन्ड सिस्टम’, सुविधासम्पन्न सिट र ‘थ्रिडी’ प्रविधि जडान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्