नियमअनुसार सबै काम भइदिएको भए एरा प्रोडक्शनले निर्माण गरेको फिल्म ‘चिठ्ठी’ हिजोबाट सिनेमा हलमा प्रदर्शन हुनुपर्थ्यो । यसले थोरबहुत दर्शक पनि कमाउँथ्यो होला । निर्देशक माधवराज खरेलको यो तेस्रो फिल्मले राम्रो वा नराम्रो जस्तो भए पनि व्यापार गर्थ्यो होला । तर यसले सिनेमा हलको अनुहार हेर्न भने पाएन ।
भदौ २० देखि देशभरि नै रिलिज गर्ने तयारीमा रहेको प्रोडक्शन कम्पनीले विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगन गर्नु परेको जानकारी दियो । विज्ञप्तिमा निर्माता कमला जोशी र निर्देशक खरेलले हस्ताक्षर गर्दै आफूले चाहेजस्तो समय नपाएको, हलहरूले शो नदिएको, दिँदा पनि अफटाइम दिएको भन्दै प्रदर्शन रोक्न बाध्य भएको जनाइएको थियो ।
दर्शकको फिल्म हेर्ने उत्साह भए पनि उपयुक्त शो र समय नपाउनु फिल्म प्रदर्शन स्थगन गर्नु परेको निर्माण समूहको प्रस्टोक्ति छ । निर्देशक खरेलले टेलिफोनमा भने, ‘बरु एक शो दिनोस् तर राम्रो समयमा दिनोस् भन्ने अनुरोध गरेका हौं । बिहान १० बजेको शो दिइएको थियो । यस्तो समयमा घरबाट निस्केर कसले पो फिल्म हेर्छ र ?’
त्यही भएर सिनेमा हलमा लाग्नेबित्तिकै उतार्नु पर्ने अवस्था आउनुभन्दा फिल्म नलगाउनु नै श्रेयस्कर हुने भएकाले फिल्म रिलिज रोकिएको निर्देशक खरेलले बताए । उनले वितरकले राम्रो शोका लागि प्रदर्शकहरूसँग अनुरोध गरेको भए पनि शो नपाएको बताए । ‘मलाई वितरकसँग कुनै गुनासो छैन, उहाँहरूले आफ्नोतर्फबाट निकै मिहिनेत गर्नु भएको हो,’ उनले भने ।
फिल्मलाई आउँदो मंसीर महीनामा रिलिज गर्नेबारे छलफल भइरहेको खरेलले बताए । उनले भने, ‘अहिले फिल्महरू एकपछि अर्को रिलिज हुँदैछन् । यस्तोमा सानो बजेटको फिल्म थिचिनु स्वाभाविक हो । त्यसैले हामी ठूला फिल्म रिलिज नहुने समय मिलाएर रिलिजको चाँजोपाँजो मिलाउने प्रयासमा छौँ ।’
उनले भने, ‘हरेक सिनेमालाई एउटा मौका दिनुपर्छ । अन्यायपूर्ण व्यवहार भए पनि मलाई कुनै गुनासो छैन ।’ हरर कमेडी विधामा बनाइएको यो फिल्ममा चल्तीका अनुहार नभएकाले राम्रो समय नपाएको हुनसक्ने उनले बताए ।
‘कलाकार नयाँ वा पुराना भन्ने हुँदैन तर मैले कन्टेन्टमा ध्यान दिएको हुनाले स्टारहरू भेला गर्न सकिनँ,’ उनले भने, ‘स्टार भ्यालु नभए पनि फिल्म राम्रो भएकाले थोरै शो तर उचित समय मिलाएर दिएको भए हुन्थ्यो भन्ने मेरो आग्रह थियो ।’
यसअघि सन् २००८ मा ‘ढुंगेयुग’, २०१६ मा ‘विरानो माया’ फिल्म निर्देशन गरिसकेका खरेलको यो तेस्रो फिल्म हो । फिल्ममा सञ्जीव भण्डारी, गोपाल ढकाल छन्दे, कमेडी च्याम्पियनका खबपु, मेरी बास्सैबाट चर्चामा आएकी मुस्कान लामा आदि कलाकारले अभिनय गरेका छन् ।
फिल्म निर्माताले यसअघि चल्दाचल्दैको सिनेमा हलबाट नउतारेका होइनन् । पछिल्लो उदाहरण चाहिँ ‘बेहुली फ्रम मेघौली’ थियो । आफूले चाहेको समय र शो नपाएको भन्दै फिल्म निर्देशक निश्चल बस्नेतले फिल्म उतारेका थिए ।
सिनेमा हलले आफूमाथि राजनीति गरेको भन्दै उनले हलको साटो ओटीटीमा फिल्म रिलिज गरेका थिए । यता निर्देशक खरेलले भने हाल आफूले ‘चिठ्ठी’लाई ओटिटीमा रिलिज नगर्ने बताएका छन् । पहिले हलमा दर्शकलाई देखाइसकेपछि मात्र ओटिटीमा रिलिज गर्ने योजना रहेको बताए ।
त्यसो त, कुन फिल्मको कस्तो अपेक्षा छ भन्ने रिलिज अघि नै सबै थाहा भइसक्छ । युट्युबमा रिलिज हुने फिल्मको टिजर, ट्रेलर आदिले फिल्मप्रति दर्शकको अपेक्षा के छ भन्ने प्रस्ट देखिन्छ ।
‘चिठ्ठी’को मामिलामा पनि फिल्मको उति राम्रो प्रतिक्रिया आएको थिएन । यो फिल्मको ट्रेलर रिलिज भएको १५ दिनमा जम्मा २ लाख २५ हजारले मात्र हेरेको देखिन्छ । फिल्मको ट्रेलरमुन्तिर दर्शकले विभिन्न प्रतिक्रिया पनि दिएका छन् । तीमध्ये एक जना लेख्छन्, ‘यो त सिरियल हो, केको फिल्म हुनु?’