नेभिगेशन
प्रवास

महिला नेतृत्वमा बौद्ध सर्किट विकास गर्ने दक्षिण एसियाली पहल

काठमाडौं । भारतको अरुणाञ्चलस्थित तवाङमा सम्पन्न क्षेत्रीय कार्यशालाले नेपाल, भारत, भुटान र श्रीलंकालाई समेटेर महिला नेतृत्वमा ग्रामीण पर्यटनमार्फत एकीकृत बौद्ध सर्किट विकास गर्ने साझा अवधारणा अघि सारेको छ । अरुणाञ्चल प्रदेश सरकारको पर्यटन विभाग, दक्षिण एशियन वामेनस् नेटवर्क (स्वान) र तवाङ जिल्ला प्रशासनको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा दक्षिण एशियाका नीति निर्माता, पर्यटन विज्ञ, महिला नेतृत्वकर्ता तथा सरोकारवालाहरू सहभागी भएका थिए ।
कार्यक्रममा बौद्ध सम्पदामा आधारित पर्यटन प्रवर्धन, क्षेत्रीय सहकार्य, सीमा–पार कनेक्टिभिटी तथा दिगो पर्यटन मोडेलबारे विस्तृत छलफल गरिएको थियो । कार्यशालामा दक्षिण एशियाका प्रमुख बौद्धस्थलहरूलाई एउटै आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिइयो । महिला नेतृत्वमा होमस्टे, हस्तकला, स्थानीय खानपान, इको–टुरिजम, सांस्कृतिक व्याख्या तथा संरक्षण गतिविधिमार्फत ग्रामीण समुदायको आयआर्जन बढाउने अवधारणालाई विशेष महŒव दिइएको थियो ।
सीमा–पार यात्रामा देखिएका पूर्वाधार, नियामकीय प्रक्रिया र यातायात व्यवस्थापनका चुनौती समाधान गर्दै सहज आवागमन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो । साथै, ग्रामीण तथा इको–टुरिजमका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार दिगो पर्यटन मापदण्ड विकास गर्न, संयुक्त ब्रान्डिङ तथा प्रचार अभियान सञ्चालन गर्न र बुद्ध जयन्ती तथा मठ–मन्दिरसँग सम्बन्धित उत्सवलाई पर्यटन आकर्षणका रूपमा उपयोग गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

नेपालको प्रस्तुति
नेपालको प्रतिनिधिमण्डलको नेतृत्व बागमती प्रदेशकी सांसद तथा पूर्वपर्यटनमन्त्री याङ्किला शेर्पाले गरेकी थिइन् । प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सिर्जना नेपालीसहित विभिन्न पर्यटन तथा विकास संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
नेपालले लुम्बिनी लगायत देशभरका पहिचान गरिएका बौद्धस्थल, महिला नेतृत्वमा ग्रामीण पर्यटनको सम्भावना, गन्तव्यबीचको कनेक्टिभिटी तथा बौद्ध सर्किटको मापदण्ड, ब्रान्डिङ र मार्केटिङबारे प्रस्तुति दिएको थियो । नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत नेपालीले बौद्ध सर्किटको अन्तर्राष्ट्रिय ब्रान्डिङ र प्रवर्धनबारे विशेष प्रस्तुति दिइन् ।
नेपालले रणनीतिक प्रचार अभियानमार्फत आफूलाई विश्वस्तरीय आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको जानकारी दिइन् । उनले नेपाल सरकारले वेलनेस पर्यटनलाई प्राथमिकतामा राखेको र २०२६ अप्रिल १५ मा पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाइएको उल्लेख गरिन् । ‘इन्टरनेशनल वेलनेस डे’ तथा नेपाल वेलनेस वर्ष २०२७ अभियानले नेपाललाई तीर्थस्थल मात्र नभई ध्यान, मानसिक शान्ति र समग्र स्वास्थ्यको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको उनले बताइन् ।

साझा निष्कर्ष
कार्यशालाले ‘आर्क अफ रुरल टुरिजम’ अवधारणा अघि सार्दै नेपाल, भूटान, श्रीलंका तथा भारतका प्रमुख बौद्ध केन्द्रहरूलाई जोड्ने महिला नेतृत्वको बौद्ध सर्किट विकास गर्न तीन वर्षे चरणबद्ध कार्ययोजना प्रस्ताव गरेको छ । योजनाअनुसार सीमा–पार पर्यटन करिडोर विकास, डिजिटल पर्यटन प्लेटफर्म निर्माण, नीति समन्वय, संयुक्त ब्रान्डिङ र यातायात कनेक्टिभिटी सुदृढ गरिनेछ । यस पहलले बौद्ध सर्किटलाई तीर्थयात्रा मार्गमा सीमित नराखी शान्ति, सांस्कृतिक कूटनीति, महिला सशक्तीकरण र दिगो आर्थिक विकासको क्षेत्रीय आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
कार्यशालाबाट प्राप्त सुझाव र सिफारिसहरू नेपाल, भारत, भूटान र श्रीलंकाबीच भावी पर्यटन सहकार्यको मार्गदर्शक बन्ने अपेक्षा गरिएको छ । साथै दक्षिण एशियाली महिला सम्मेलनको अर्को संस्करण श्रीलंकामा आयोजना गरिने घोषणा पनि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्