नेभिगेशन
राजनीति

प्रधानमन्त्री बीचमै निस्किए, विपक्षीले उठाए प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भइरहँदा बीचैमा निस्किए । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष  ०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा शाह बाहिरिएका थिए । संसदीय मामलाका जानकारहरुका अनुसार ०१५ सालको पहिलो जननिर्वाचित संसद्देखि अहिलेसम्म नीति तथा कार्यक्रम  प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा निस्किएको यो पहिलो घटना हो । 
सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त सभामा राष्ट्रपतिले प्रस्तुत गर्ने परम्परा छ । तर, यो सरकारकै कार्यक्रम हो । राष्ट्रपतिले १ घण्टा १८ मिनेट नीति तथा कार्यक्रम वाचन गरिरहँदा शाह करिब ५६ मिनेटमा बाहिरिएका थिए । त्यसपछि उक्त बैठकमा प्रधानमन्त्री शाह आएनन् । 
नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्यालले राष्ट्रपतिको सम्मानका निम्ति सबै सांसदहरुलाई उभिइदिन निर्देशन दिए । सभामुखको निर्देशनपछि संयुक्त संसदका सांसदहरुले उभिएर राष्ट्रपति पौडेललाई बिदाइ गरे । सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई विदाइ गर्दा सिंगै हलले उभिएर सम्मान गर्दा प्रधानमन्त्रीको कुर्सी भने खाली थियो ।
बीचैमा बाहिरिएका प्रधानमन्त्री शाह राष्ट्रपति बाहिरिइसकेपछि धन्यवादको प्रस्ताव पेस गर्न बसेको बैठकमा भने उपस्थित भए । प्रतिनिधिसभाका सभामुख अर्यालले समय दिएपछि उनले धन्यवादको प्रस्ताव टेबल गरेर र लगत्तै संसद् बैठकबाट बाहिरिए । प्रधानमन्त्री बाहिरिँदा सभामुख अर्याल केही अलमलमा देखिएका थिए । 
नीति तथा कार्यक्रमको स्वामित्वमा प्रश्न
विपक्षी दलहरुले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बाहिरिएको विषयमा प्रश्न उठाएका छन् । प्रमुख विपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रधानमन्त्री उठेर हिँड्नु आत्मविश्वासको कमी भएको बताए ।  ‘सबैभन्दा गम्भीर कुरा त प्रधानमन्त्री स्वयंले हस्ताक्षर गरेको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत भइरहँदा उठेर हिँड्नु हो । यो प्रधानमन्त्री स्वयम्ले हस्ताक्षर गरेको नीति कार्यक्रमप्रति आत्मविश्वास अभावको संकेत हो,’ उनले भने, ‘स्मरण होस्, जसले आफ्नै नीति तथा कार्यक्रमप्रति सम्मान देखाउन सक्दैन, ऊ देश र जनताप्रति कति जिम्मेवार हुन्छ भन्ने प्रश्न पनि उठ्छ ।’
एमालेले संसद्मा प्रधानमन्त्री शाहका पहिरन, संसदभित्र गरेको कानेखुशी र बिचैमा हिँडेको विषयमा प्रश्न उठायो । एमालेका सांसद गुरुप्रसाद बरालले त्यसप्रति नियमापत्ति गरे ।
 ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । देशको प्रधानमन्त्रीज्यू जसले यो टेबुल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो । उहाँले बीचैमा बहिष्कार गरेर हिंड्नुभएको हामीले देख्यौं,’ सांसद बरालले भने, ‘यसले यो नीति र कार्यक्रमप्रतिको उहाँको अनरसिप (स्वामित्व) के हो ? यो संसद्ले बुझ्न चाहन्छ ,’ उनले भने । 
राष्ट्रपतिले सम्बोधन गरिरहँदा करिब १५ मिनेट प्रधानमन्त्री शाहले संवाद गरिरहेको भन्दै उनले यो अशोभनीय भएको हुनाले रेकर्डबाट हटाउन माग गरे । उनले नीति तथा कार्यक्रम बाचन गरेकोमा राष्ट्रपतिलार्ई धन्यवाद दिन बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको पोसाकलाई लिएर समेत प्रश्न उठाए । उनले भने,‘प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन ? हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’
त्यस्तै, अर्को विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्री बाहिरिनु लज्जाको विषय भएको बताए । ‘राज्यको प्रमुख व्यक्तित्वले संसद्मा आफैले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम बाचन गर्दै गर्दा छोडेर जानु राष्ट्रकै लज्जाको विषय हो’, बैठकबाट बाहिरिने क्रममा उनले भने ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि प्रधानमन्त्रीलाई आफ्नै कार्यक्रम मन नपरेको हो भनदै प्रश्न उठाएका छन् । ‘संवैधानिक रूपमा राष्ट्रपतिले पढ्नुभएको दस्तावेज सरकारकै हो, अर्थात् प्रधानमन्त्रीकै नेतृत्वमा तयार गरिएको नीति तथा कार्यक्रम । आफ्नै सरकारले बनाएको नीति प्रधानमन्त्री आफैंलाई मन परेन कि क्या हो, त्यसैले अब संशोधनसहित नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने अवस्था आएको छ,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । 
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको केटाकेटी पारा भएको टिप्पणी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्