नेभिगेशन
मनोरञ्जन

‘परालको आगो’ अगाडि बढ्यो

वैशाख ११ देखि नेपालका सिनेमा हलमा रिलिज भएको ‘परालको आगो’ले एक लाख ४३ हजारभन्दा बढी टिकट बिक्री गरेर चार करोड रुपैयाँभन्दा बढी व्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।
बोर्डले हरेक साता जारी गर्ने बक्स अफिस विवरणअनुसार वैशाख २६ मा जारी गरेको विवरणअनुसार ‘परालको आगो’ले चार करोड २५ लाख ४ सय ६६ रुपैयाँको व्यापार गरेको हो । 
फिल्म निर्माता सुशील पोखरेलले यसअघि नै आफ्नो फिल्मले विदेश वितरण र डिजिटल अधिकारबाट लगानी सुरक्षित गरिसकेको बताएका छन् । नेपालबाट लगानी उठाउन फिल्मले कम्तीमा पाँच करोडको व्यापार गर्नुपर्ने बताएका थिए । अझै एक करोडको व्यापार गरे, नेपालबाट लगानी उठ्ने र विदेशबाट कमाएको रकम थप नाफा हुने उनले बताएका छन् ।
आफू पारदर्शितामा विश्वास गर्ने भएकाले पहिलो दिनदेखि नै फिल्मले गरेको व्यापारलाई सार्वजनिक गरेको निर्माता पोखरेलले बताए ।
गएको शुक्रबारदेखि नेपालका सिनेमा हलहरुमा थप दुई वटा फिल्महरु रिलिज भएका छन् । ‘लालीबजार’ र ‘मालती मंगले’मध्ये ‘लालीबजार’को चर्चा दर्शकमाझ राम्रै चुलिएको छ ।


‘लालीबजार’ षटकोण फिल्म्सले निर्माण गरेको हो । यो ‘जात्रा’ शृंखला तथा ‘टलकजंग भर्सेस टुल्के’ फिल्म निर्माण गर्ने समूह हो । त्यसैले यसले छान्ने विषयका कारण दर्शक आकर्षित हुने गरेका छन् । उता ‘मालती मंगले’ भने गायक रामकृष्ण ढकालद्वारा निर्माण गरिएको फिल्म हो । बजारमा अहिले यी दुईसँगै ‘परालको आगो’ बीच प्रतिस्पर्धा चलिरहेको छ । 
‘लालीबजार’ र ‘मालती मंगले’को बजार रिपोर्ट हाल खुलाइएको छैन । 
उता वैशाखमा फिल्म रिलिज भएयता सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘परालको आगो’ नै बनेको छ । यो फिल्मको कर कटौतीपछि नेट कमाइ तीन करोड ४८ लाख ५५ हजार ७ सय ४४ रुपैयाँ कायम भएको छ । तर नयाँ दुई वटा फिल्म रिलिज हुँदा आफ्नो फिल्मको ८० प्रतिशत शो कटौती भएको निर्माता पोखरेलले बताएका छन् । शनिबार पनि फिल्मले ११ लाखभन्दा बढी व्यापार गरेको छ । हाल ‘परालको आगो’ अमेरिका, खाडी राष्ट्रहरुमा प्रदर्शनरत छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
विश्वकपमा नोरा

विश्वकपमा नोरा