नेभिगेशन
साहित्य

प्राध्यापक तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार

समालोचक तथा प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा मंगलबार आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई रु एक लाख नगदसहितको पुरस्कार हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष थापाले मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले भाषाको सम्मान हुने बताए । ‘हालसम्म धेरै गरिमा बोकेका व्यक्तिहरूले यो पुरस्कार प्राप्त गरेका छन्, यो राम्रो पक्ष हो । मातृभाषालाई माया गर्नेलाई सम्मान गरेर देशको भाषिक विविधतालाई कायम राख्न हामी सबै क्रियाशील हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष थापाले सबै जातीय संस्थाहरूले गर्ने मातृभाषाका सम्मान तथा पुरस्कार कार्यक्रमलाई मातृभाषामा नै सञ्चालन गर्ने अवस्था मिलाउन आग्रह गरे ।
आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र संवर्धनका लागि यस्तो सम्मान महŒवपूर्ण हुने धारणा राखे । उनले भाषिक र जातीय विविधतालाई सम्मान गर्दै यसको मौलिकता र अस्तित्वलाई ध्यान दिएर काम गर्न राज्यले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । 
प्रतिष्ठानका पूर्वउपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक जितपाल किरातले तुलाधरले कायम गरेको प्रतिष्ठा र योगदानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए । उनले युनेस्कोको अध्ययनअनुसार नेपालमा बोलिने एक सय २४ भाषामध्ये ६० वटा जति भाषा लोपोन्मुखको सूचीमा रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यतालाई जीवन्त राख्न योगदान गर्नेहरूको सम्मान गरिनुपर्ने धारणा राखे ।
पुरस्कृत व्यक्तित्व प्राध्यापक तुलाधरले यस सम्मानले आफू मात्र नभई नेपाल भाषा र सबै मातृभाषालाई सम्मान गरिएको महसुस गरेको बताए । उनले पुरस्कारले मातृभाषाको संरक्षण र संवर्धनमा थप जिम्मेवारी र दायित्व बढेको बताए ।
पुरस्कृत व्यक्तित्व प्राध्यापक तुलाधर नेपालभाषा भाषा, साहित्य, समालोचना तथा सांस्कृतिक अध्ययनका प्रतिष्ठित अध्येता तथा अवकाश प्राप्त प्राध्यापक हुन् । विसं २००८ मा काठमाडौंको भोटाहिटीमा जन्मिएका उनी हाल कपुरधारामा बसोबास गर्दै आएका छन् । उनको पहिलो रचना ‘जीवन व संघर्ष’ नेपाल संवत् १०८८ मा ‘सितु’ पत्रिकामा प्रकाशित भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका तुलाधरले पद्मकन्या क्याम्पसमा ३५ वर्ष र नेपालभाषा केन्द्रीय विभागमा पाँच वर्ष प्राध्यापन गरेको त्यस अवसरमा जानकारी दिइयो । उनले ‘पलेस्वां पुचः’ गठन गरी नेपालभाषा साहित्यिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्राध्यापक तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’ नेपालभाषा साहित्यको इतिहाससम्बन्धी पहिलो पुस्तक मानिन्छ, जुन हाल विश्वविद्यालय तहमा पाठ्यपुस्तकका रूपमा अध्ययन गराइन्छ । उनले एक दर्जनभन्दा बढी पुस्तक लेख्नाका साथै थुप्रै पुस्तक सम्पादन गरेका छन् ।
    नेपाल तथा विदेशमा आयोजित विभिन्न प्राज्ञिक गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका उनी नेपालभाषा एकेडेमीको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ का संयोजकसमेत रहेका थिए । नेपालभाषा साहित्य र शिक्षामा योगदान पु¥याएबापत उनले श्रेष्ठ सिरपा, वैकुण्ठ लाकौल सिरपा, गिरिधरलाल नेपालभाषा सिरपालगायत विभिन्न सम्मान प्राप्त गरिसकेका छन् । 
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख रामकुमार मादेनले हरेक वर्ष फेब्रुअरी ९ तारिकका दिन मातृभाषा दिवसका अवसरमा प्रदान गरिँदै आएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्