नेभिगेशन
स्वास्थ्य
५९ हजार वर्षअघि नै हुन्थ्यो दाँतको उपचार

नियन्डरथलले ढुंगाको हतियारले खोपेका थिए दाँत

लन्डन, (न्यू साइन्टिस्ट)  । संसारकै पहिलो दन्त चिकित्सा (डेन्टिस्ट) को अनुभव पक्कै पनि सुखद थिएन होला । त्यतिबेला न त दुखाइ कम गर्ने औषधि (एनेस्थेटिक) थियो, न आरामदायी कुर्सी, न त कुल्ला गर्ने माउथवास नै । तर त्यहाँ ढुंगाको एउटा धारिलो औजार थियो र नयाँ अनुसन्धानका अनुसार त्यसलाई चलाउन जान्ने एक ‘नियन्डरथल’ (प्राचीन मानव प्रजाति) थिए ।
पुरातŒवविद्हरूले दाँतको भित्री भागसम्म गरिने उपचारको अहिलेसम्मकै सबैभन्दा पुरानो प्रमाण फेला पारेका छन् । साइबेरियामा भेटिएको ५९ हजार वर्ष पुरानो एउटा बंगारालाई दाँतको सडन हटाउनका लागि जानाजानी ड्रिल गरिएको (प्वाल पारिएको) पाइएको छ ।
यो दाँत आधुनिक मानवका लोप भइसकेका पुर्खा ‘नियन्डरथल’ को हो । अनुसन्धान टोलीका अनुसार यो प्रक्रियाले उनीहरूको दाँतको दुखाइ निकै कम गरेको देखिन्छ । ‘यो प्रक्रिया गर्दा निकै पीडा त भयो होला, तर दाँतको बिग्रिएको भाग हटाएर संक्रमणबाट हुने दुखाइलाई यसले अन्ततः निकै राहत दियो,’ अनुसन्धानकर्ताहरूले भनेका छन् ।
रुसको चागिस्र्काया गुफामा फेला परेको उक्त बंगाराको चपाउने भागको ठीक बीचमा गहिरो प्वाल छ । यो प्वाल दाँतको संवेदनशील भित्री भाग ‘पल्प चेम्बर’सम्म पुगेको छ, जहाँ नसा र रक्तनलीहरू हुन्छन् । अनुसन्धानकर्ताहरूले त्यहाँ सूक्ष्म रूपमा दाँत सडिएको संकेतका साथै कोतरिएका र खोपिएका डोबहरू भेटेका छन् । ‘प्लोस’ नामक जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार यी चिह्नहरू धारिलो ढुंगाको औजारले सावधानीपूर्वक प्वाल पारेकै कारण बनेका हुन् ।
त्यो दाँत उपचारपछि पनि प्रयोग भएको संकेतहरू देखिएका छन् । यसको अर्थ, ती बिरामी उपचारपछि बाँचे र पुनः सोही दाँतले सावधानीपूर्वक खाना चपाउन थाले । रुसी इन्स्टिच्युट अफ आर्किओलोजी एन्ड एथनोग्राफीकी सह–लेखिका लिडिया जोत्किनाका अनुसार धारिलो र पातलो ढुंगाको औजारले दाँतको खराब भाग हटाउनु पूर्णरूपमा प्रभावकारी देखिएको छ ।
यो खोजले दाँतमा प्वाल पारेर उपचार गर्ने विधिको इतिहासलाई करिब ५० हजार वर्ष पछाडि धकेलिदिएको छ । साथै, आधुनिक मानव (होमो सेपियन्स)बाहेक अन्य प्रजातिमा यस्तो उपचार पद्धति देखिएको यो पहिलो पटक हो ।
यस अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले चागिस्र्काया गुफामा भेटिएका जस्तै ढुंगाका औजार प्रयोग गरेर आधुनिक मानवका तीनवटा दाँतमा प्वाल पारी परीक्षण गरेका थिए । त्यसको परिणाम र प्राचीन नियन्डरथलको दाँतको बनावट दुरुस्तै मिलेको पाइएको छ ।
यो खोजले नियन्डरथलहरू पहिले सोचिएभन्दा धेरै समझदार र विकसित थिए भन्ने थप पुष्टि गरेको छ । उनीहरूले औजार, आगो र जडीबुटीको प्रयोग गर्ने कुरा पहिले नै थाहा भइसकेको थियो । साथै, उनीहरू बिरामी र असक्तहरूको हेरचाह पनि गर्थे । यसअघि दाँतमा प्वाल पारेर उपचार गरिएको सबैभन्दा पुरानो प्रमाण पाकिस्तानको मेहरगढमा भेटिएको थियो, जुन करिब ९ हजार वर्ष पुरानो थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्