नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय तथ्यांक कार्यालय र चेम्बरबीच सम्झौता

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्यांक विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट उपप्रमुख तथ्यांक अधिकारी (सहसचिव) ढुण्डिराज लामिछाने र कमर्सका तर्फबाट महानिर्देशक देवेन्द्र लामिछानेले हस्ताक्षर गरे । समझदारी २०८३ जेठ ५ देखि लागू हुनेछ ।
कार्यक्रममा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी कमलप्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको जानकारी दिए । उनले २०७५ सालको पहिलो आर्थिक गणनामा ९ लाख २३ हजार प्रतिष्ठान समेटिएको स्मरण गर्दै यसपटक करिब १५ लाख प्रतिष्ठान समेट्ने लक्ष्य रहेको बताए ।
वैशाख २ देखि सुरु भएको स्थलगत गणना कार्य असार ७ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले हालसम्मको प्रगति उत्साहजनक रहेको र लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे । आर्थिक गणनालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेकाले चेम्बरसँगको समझदारीले अभियानलाई थप प्रभावकारी बनाउने उनले बताए ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले राष्ट्रिय आर्थिक गणना राष्ट्रको आर्थिक ऐना भएको उल्लेख गर्दै विश्वसनीय तथ्यांकबिना दीर्घकालीन आर्थिक योजना प्रभावकारी बन्न नसक्ने धारणा राखे । उनले बदलिँदो आर्थिक संरचना, अनौपचारिक क्षेत्रको आकार, लगानी प्रवृत्ति, रोजगारीको अवस्था तथा सेवा, पर्यटन, सूचना प्रविधि र नवप्रवर्तनमुखी व्यवसायहरूको यथार्थ चित्रणका लागि अद्यावधिक तथ्यांक अत्यावश्यक रहेको बताए ।
समझदार पाँच वर्षका लागि लागू रहनेछ । कार्यक्रममा राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन सरकार, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्