नेभिगेशन
साहित्य

भाषा जोगाउन जुट्दै वनकरियाको नयाँ पुस्ता

‘हाम्रो आफ्नै भाषा थियो, आफ्नै संस्कृति थियो । तर जंगल छाडेर मानव बस्तीमा आएपछि ती सबै विस्तारै हराउन थाले ।’ वनकरिया समुदायकी युवा अगुवा आरती वनकरियाको यो भनाइले एउटा समुदायको पीडा मात्र होइन, अस्तित्व जोगाउने संघर्ष पनि सुनाउँछ ।
    कुनै समय चुरे क्षेत्रका जंगलमा फिरन्ते जीवन बिताउने वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित एउटा सानो बस्तीमा बसोबास गरिरहेको छ । जंगलसँगै उनीहरूको जीवनशैली फेरियो तर सबैभन्दा ठूलो असर उनीहरूको भाषा र संस्कृतिमा प¥यो । नयाँ पुस्ताले मातृभाषा बोल्न छाड्दै गएपछि समुदायले आफ्नो पहिचान नै संकटमा परेको महसुस गर्न थालेको छ । 
लोपोन्मुख वनकरिया समुदाय आफैं आफ्नो भाषा जोगाउने अभियानमा जुटेको छ । आरती वनकरिया र उहाँका साथीहरूले आफ्ना पुर्खाको भाषा, संस्कृति र इतिहासको अध्ययन सुरु गरेका छन् । उनीहरूका अनुसार भाषा हराउनु भनेको समुदायको पहिचान हराउनु हो । ‘हाम्रा पूर्वजहरू जंगलमा बस्दा हाम्रो आफ्नो छुट्टै भाषा थियो तर जंगलबाट जब मानवबस्तीमा सरेपछि हाम्रो भाषा र संस्कृति नै लोप हुन थाल्यो’, वनकरिया भाषाबारे अध्ययन गरेका सोही बस्तीका अगुवा आरती वनकरियाले भने, ‘आफ्नो भाषा र संस्कृतिको संरक्षण हामीले नै गर्नुपर्छ भनेर अध्ययन सुरु गरेका छौं ।’ 
    वनकरिया समुदायको भाषा अध्ययनका लागि भाषा आयोगबाट पनि सहयोग भइरहेको छ । ‘वनकरिया समुदायको आफ्नै भाषा भए पनि मानवबस्तीमा सरेपछि हाम्रो समुदायका सबै वनकरिया भाषा बोल्न छाडिसक्नुभएको छ’, आरती वनकरियाले भनिन्, ‘भाषा लोप हुदाँ पहिचान र संस्कृति नै हराउँदै जान्छ, त्यसैले हामी हाम्रो भाषाको अस्तित्व लोप हुन नदिन जुटेका छौं, भाषाको बारेमा अध्ययन गरिरहेका छौं ।’ भाषाको अध्ययनका लागि हाम्रो समुदायको उत्पतिदेखि अहिलेसम्मको अवस्था र हाम्रो भाषाका शब्दहरू संकलन गरेर पाठ्यसामग्री प्रकाशनका लागि भाषा आयोगमा पठाएका छौं, उनको कथन छ ।  
    कुनैबेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातका रूपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जंगली जीवनबाट मानव वस्तीमा सारेको थियो । जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा रहेको उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोबास छन् । त्यही ठाउँमा ती जातिका व्यक्तिहरू करिब २० वर्षदेखि बन्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार नेपालमा वनकरिया समुदायको जनसंख्या केबल १८० छ । त्यसमध्ये मातृभाषा बोल्नेको संख्या ८६ मात्र रहेको छ ।
    पहिले जंगलमा घुमन्ते जीवन बिताउने वनकरिया अहिले खेतीपाती, पशुपालन र मजदुरी गरेर जीवन चलाइरहेका छन् । परिवर्तनको अर्को सकारात्मक पाटो शिक्षा पनि बनेको छ । केही वर्षअघिसम्म विद्यालयको पहुँचबाहिर रहेको समुदायका बालबालिका अहिले विद्यालय जान थालेका छन् । समुदायका केही युवाले एसईई र कक्षा १२ समेत उत्तीर्ण गरेका छन् ।
    भाषा आयोगले पनि वनकरिया भाषाको संरक्षणमा सहयोग गरिरहेको छ । आयोगले समुदायका सदस्यको सहयोगमा शब्द संकलन गरी प्रारम्भिक पाठ्यसामग्री तयार पारिसकेको जनाएको छ । ‘वनकरिया बस्तीको स्थलगत सर्वेक्षणपश्चात् आरती वनकरिया र सम्झना वनकरियाको सहयोगमा शब्द संकलनको काम गरेका छौं,’ भाषा आयोगका उपसचिव गोविन्दप्रसाद पौडेल भन्छन्, ‘संकलन भएको शब्दबाट विज्ञहरूद्वारा प्रारम्भिक चरणको पाठ्यसामग्री तयार पारिसकेका छौं, केही दिनभित्रै प्रकाशन गर्ने तयारी भएको छ ।’ साथै, वनकरिया समुदायको पहिचान झल्किने वृत्तचित्र पनि निर्माण गरिएको उपसचिव पौडेलको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्