नेभिगेशन
मनोरञ्जन

मितेरी साइनो पर्दामा

मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही जेठ ८ गते शुक्रबारदेखि दर्शकमाझ आउने भएको छ । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढंगबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ ।
सो चलचित्र प्रदर्शन हुनुअघि आज यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले नेपालको सामाजिक परिवेश र संस्कृतिलाई झल्काउँदै मनोरञ्जन दिन चलचित्र ‘मितज्यू’ सफल हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो चलचित्र हाम्रो मित लगाउने संस्कृतिलाई लिएर सामाजिक कथामा तयार गरिएको हो । यसले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिन्छ । नेपालमा विभिन्न संस्कृति छन्, नयाँ पुस्तामा ती संस्कृति विस्तारै कम भएको पाइन्छ, चलचित्रका माध्यमबाट हाम्रा सामाजिक मूल्यमान्यता र संस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
यसैगरी अभिनेता मल्लले ग्रामीण परिवेशमा मितको सम्बन्ध विशेष रहेको चर्चा गर्दै चलचित्र ‘मितज्यू’मा भने दुई मितबीचको झगडा र त्यसको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको जानकारी दिए ।
‘यो चलचित्र फरक छ, हाम्रो मितेरी साइनोको पृष्ठभूमिमा एउटा राम्रो कथा भनिएको छ । हामीले गर्ने कामले मनोरन्जनसँगै थोरै सामाजिक दायित्व निर्वाह गरोस् भन्ने छ, यो चलचित्रमा ती दुवै पक्ष समेटिएका छन्,’ अभिनेता मल्लले भने ।     
जनक घर्तीमगरद्वारा निर्मित यो चलचित्रलाई अनिल बुढामगरले निर्देशन गरेका छन् । नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथामा आधारित रहेर चलचित्र तयार गरिएको निर्देशक मगरले जानकारी दिए ।  
चलचित्रमा अभिनेताद्वय राई र मल्लसँगै अभिनेत्री तेरिया फौजा मगर, खड्गबहादुर पुनमगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायतका कलाकारको अभिनय रहेको छ ।
दुई सातादेखि घरेलु बक्स अफिसमा आफ्नो पकड कायम राखेको फिल्म ‘लालीबजार’लाई चुनौती दिन शुक्रबारबाट अर्को एउटा फिल्म ‘काजी’ पनि प्रदर्शनमा आउँदैछ । मितज्यूकै जस्तो काजी फिल्मको विषय पनि ग्रामीण कथावस्तुमा आधारित छ । 
बुधबारबाट देशभरका मल्टीप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गरेका थिए । बिहीबार दिउँसो १२ बजेसम्म ‘मितज्यू’लाई देशव्यापी ११४ शो उपलब्ध भएको डिजिटल वालेट खल्ती एपमा देखिन्छ । त्यस्तै ‘काजी’को शो संख्या भने ८२ शो छ । अब दुवै फिल्मलाई सबैभन्दा ठूलो चुनौती भनेको प्राप्त शोलाई अकुपेन्सीमा बदल्नु हो ।
पारिवारिक प्रेमकथामा आधारित ‘काजी’मा भने विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको छ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्