काठमाडौंं । ‘अन द ल्याप अफ नेचर एण्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको ‘कर्णाली टुरिजम मिट २०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ आशा जगाएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाको समन्वयमा वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरिएको छ ।
कर्णाली टुरिजम मिट–२०२६ को उद्घाटन समारोहमा कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताको रुपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिको रुपमा परिचित भइरहेको उल्लेख गरे । ‘कर्णाली घुम्नेमात्र होइन, अनुभूति गर्ने भूमि हो,’ उनले भने, ‘यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो ।’
उनले कर्णालीका रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न आवश्यक रहेको उल्लेख गरे । पर्यटनमन्त्री अधिकारीले थपे, ‘नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्नेछ । यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउनेछ ।’
त्यसैगरी, पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कर्णाली नेपालको पश्चिम भूगोलको एउटा प्रदेशमात्र नभई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालय भएको बताए । ‘आज विश्व पर्यटन बजार कृत्रिम संरचनाभन्दा मौलिक अनुभव खोजिरहेको छ,’ उनले भने, ‘पर्यटकहरु संस्कृति बुझ्न, स्थानीय जीवन अनुभव गर्न, आध्यात्मिक शान्ति खोज्न र प्रकृतिसँग पुनः जोडिन यात्रा गरिरहेका छन् । कर्णालीले यिनै सबै विशेषता बोकेको छ ।’
सरकारले पर्यटनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि बढाएको जानकारी उनले दिए । ‘अब कर्णाली दुर्गम होइन, दुर्लभ सम्भावनाको भूमि बनेको छ । त्यसकारण अब ‘हाई भ्यालु टुरिजम डेस्टिनेसन’को रुपमा चिनाउने समय आएको छ । अब कर्णालीको करुणाको कथा होइन, विशाल सम्भावना र समृद्धिको यात्राका कथाहरु संसारलाई सुनाउनुपर्छ । यसका लागि हाम्रो साझा पहल अत्यन्त महत्त्वपूर्ण रहन्छ ।’
कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीलाई उनले कर्णालीमा घुम्न, लगानी गर्न र भारतीय पर्यटकलाई यहाँको अनुपम सौन्दर्य अनुभव गराउन आग्रह गरे । नेपाल–भारत सम्बन्ध केवल सीमामा सीमित नभई साझा संस्कृति, सभ्यता र जनस्तरको आत्मीय सम्बन्धमा आधारित रहेको उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारत नेपालको लागि विशाल पर्यटन बजार रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अहिले भारतीय पर्यटकका लागि अत्यन्त उपयुक्त गन्तव्य भएको बताए । उनले सीमा जोडिएको प्रदेश नभए पनि सीमाबाट तीन घण्टाको दूरीमा कर्णाली पुग्न सकिने भएकाले भारतीय पर्यटक आकर्षित गर्न सेवा र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
‘अहिले गर्मीको मौसम छ,’ उनले भने, ‘सीमावर्ती भारतीय पर्यटकलाई हामी कर्णाली भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछौं । यहाँको चिसो मौसम, प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र हिमाली अनुभूति अहिलेको समयमा घुम्नका लागि उत्कृष्ट अवसर हो ।’
अथाह सम्भावना
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले कर्णालीमा अथाह पर्यटन सम्भावना भए पनि यसको प्रभावकारी प्रचारप्रसार हुन नसकेको बताइन् । ‘सुर्खेत कैलाश मानसरोवर यात्राको प्रवेशद्वार पनि हो,’ उनले भनिन्, ‘त्यसकारण पर्यटन विकासका लागि सुर्खेतको रणनीतिक महत्व बढिरहेको छ ।’ सुर्खेतमा आउने पर्यटकको बसाइ सुखद र स्मरणीय बनाउन नगरपालिका प्रतिबद्ध रहेको उनले बताइन् ।
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले स्थानीय तहले पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै समुदाय स्तरमा पर्यटनबारे जनचेतना विस्तार गरिरहेको बताए । ‘हामीले पर्यटनलाई व्यवस्थित र व्यावसायिक बनाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘यो कार्यक्रमले कर्णालीमा बढीभन्दा बढी पर्यटक ल्याउने नयाँ ढोका खोलेको छ ।’
पर्यटन व्यवसायी श्रीराम सिग्देलले ‘कर्णाली पर्यटनको गेटवे सुर्खेत’ भएको उल्लेख गर्दै सुर्खेतलाई पर्यटन हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । भारतीय पर्यटन व्यवसायीहरुको संस्था ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इण्डियाका अध्यक्ष राजेश सिन्हाले कर्णाली आफ्नो लागि नयाँ पर्यटन गन्तव्य बनेको बताए ।
त्यसैगरी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले पर्यटक र पर्यटकीय गतिविधिको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्काले कार्यक्रम कर्णाली पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले काक्रेविहार, बुलबुले ताल, भेरी राफ्टिङ, देउती बज्यै मन्दिरलगायत सुर्खेतका पर्यटकीय सम्पदाको चर्चा गरे ।
महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक हरि सुवेदीले कर्णाली प्रदेशको पर्यटन, सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कर्णाली टुरिजम मिटका संयोजक एवं होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णाली पर्यटन प्रवर्धनका लागि सरकारी, निजी र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बताए ।
कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच, देउडा प्रस्तुति तथा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बोर्डले सातवटै प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म विभिन्न ट्राभल मार्ट तथा टुरिजम मिटहरु गर्दै आइरहेको छ । कार्यक्रम आइतबार समापन हुनेछ ।