नेभिगेशन
साहित्य

‘ज्योतिर्गमय’मा प्रज्वलित शैक्षिक उज्यालो

 

एउटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले समग्र देशको शैक्षिक सुधारको चिन्ता लिँदा ऊभित्र कति विचार र योजना अन्तरघुलित हुन्छन् भन्ने उदाहरणका रूपमा हालै प्रकाशित ‘ज्योतिर्गमय’ पुस्तकलाई लिन सकिन्छ । 
प्रधानाध्यापक संघ नेपाल (प्यान)का अध्यक्षसमेत रहनुभएका सुदामप्रसाद गौतमकृत ‘ज्योतिर्गमय’ पुस्तकले नेपाली शिक्षाको अग्रगतिको मार्गचित्र पस्केको छ । यसमा समाविष्ट चिन्तनयुक्त र बहसयोग्य सवाल शैक्षिक सुधारका लागि महŒवपूर्ण बौद्धिक सम्पत्ति ठान्न सकिन्छ ।  
काठमाडौंको ठहिटीस्थित शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक, अंग्रेजी विषयका शिक्षक र विद्यावारिधि अध्ययनरत गौतमसँग विदेशमा रहेर विकास क्षेत्रको पनि अनुभव छ । स्वदेश फर्किएर गौतमले शिक्षण पेसामा स्थायी भई सामुदायिक विद्यालयको सुधारको यात्रामा ‘हेडसर’ र ‘हेडमिस’लाई संगठित गर्ने एक संगठकको काम पनि गरे । यतिमात्रै उनको हुटहुटी रोकिएन, अब शैक्षिक सुधारको यात्रामा गहन पुस्तक लिएर अगाडि आए । 
यही जेठ ४ गते शिक्षविद्हरू प्रा विद्यानाथ कोइराला, प्रा.डा. बालचन्द्र लुइँटेल, नेपाल सरकार पूर्वसचिव डा. हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतबाट विमोचित पुस्तक एकैसाथ २० हजार प्रति छापिएको जनाइएको छ । यो पुस्तक देशभरका करिब २८ हजार सामुदायिक विद्यालयमा पु¥याउने लेखक र प्रकाशकको योजना देखिन्छ ।
कुल ४२४ पृष्ठ र छ अध्याय रहेको ‘एडु टुडे’ प्रकाशनद्वारा प्रकाशित पुस्तकको सम्पादन पत्रकार प्रभात चलाउनेले गरेका छन् । पुस्तकको नामकरण र लक्ष्य उपनिषद्को स्थापित श्लोक ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय’बाट भएको छ । अर्थात् असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतर्फ र मृत्युबाट अमरतातर्फको लक्ष्यलाई पुस्तकले आत्मसात् गरेको छ ।
नेपाली जनता र समाजको रूपान्तरणका लागि समयानुकूल नीतिसहितको शिक्षामा उच्च प्राथमिकतामा दिइएको ‘ज्योतिर्गमय’ले शिक्षकलाई भावी पुस्ताको मौन शिल्पीको संज्ञा दिनुका साथै शिक्षकको रूपान्तरणबाट शिक्षामा परिवर्तन सम्भव छ भन्ने स्पष्ट सन्देश अभिव्यक्त गरेको छ । 
शिक्षाको मर्मान्तर चिरफार र अनेक प्रश्न खडा गर्दै लेखक गौतमले विद्यमान शिक्षा प्रणालीको कठोर समीक्षा गरी घोकन्तेको शैलीको विरोध र शिक्षालयलाई प्रमाणपत्र छाप्ने मेसिन झैं बनाइएकमा गम्भीर चिन्ता गरेका छन् ।
शिक्षामा राष्ट्रिय दृष्टिकोण नहुनुलगायत शिक्षाका सात महारोगलाई चित्रित गर्दै पुस्तकमा शिक्षक गुरु कि दलीय कार्यकर्ता ? भन्ने अंह प्रश्नलाई पुनरावृत्ति गरिएको छ । 
विश्वका विभिन्न विकसित मुलुकका शैक्षिक प्रणाली र अनुभव तथा त्यसबाट नेपाली शिक्षा जगतले सिक्नुपर्ने पाठलाई सविस्तार चर्चा गरिएको छ । शिक्षा सुधारका लागि व्यावहारिक कार्ययोजना प्रस्तुत गरिएको ‘ज्योतिर्गमय’ मा शिक्षालाई कृषि, पर्यटन, ऊर्जा, उद्योग आदिसँग जोडेर माटो र बजार अनुकूल बनाउन जोड्न सुझाव दिइएको छ । 
विद्यमान पाठ्यक्रम र मूल्यांकन प्रणालीमा पुनरावलोकनका लागि एक सन्दर्भ सामग्री हुनसक्ने यस पुस्तकले प्रधानाध्यापकलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) ढाँचाको नियुक्ति गर्न गरेको प्रस्ताव गरेको छ । अहिले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई वित्तीय र नीतिगत अधिकार न्यून भएको मूल्यांकन लेखकको देखिन्छ । 
राजनीतिले शिक्षालाई बिगारेको खरो टिप्पणी गरिएको पुस्तकका नेपाल एकीकरणदेखि शिक्षालाई राजनीतिसँग जोडिएको सन्दर्भ पनि उल्लेख छ ।
    समग्रमा पुस्तक शिक्षाको सुधारको मार्गमा एक रणानीतिमूलक दस्तावेज भए पनि कतिपय ठाउँमा निराशावाद प्रकट गरिएको छ । ‘ती कलिला आँखाहरू जो विद्यालय जाँदा हजारौं प्रश्न बोकेर जान्छन् तर फर्कंदा रित्तो उत्तर फर्कन्छन्,’ जस्ता सन्दर्भले अहिलेसम्म शिक्षामा केही पनि भएन र विद्यार्थीले केही पनि सिकिरहेका छैनन् भन्ने सन्देश दिएको छ । यसले राम्रो परिणाम दिइरहेका सामुदायिक विद्यालयलाई पनि हतोत्साहन गर्न सक्छ ।
    पुस्तकमा शिक्षकको रूपान्तरणमार्फत शैक्षिक रूपान्तरणको कुरा धेरै गरिएको छ तर भावनात्मक कुराले मात्रै त्यो सम्भव छैन भन्ने पक्षलाई पुस्तकले राम्ररी पर्गेल्न सकेको छैन । नीति र ‘पेडागोजिकल’ तथा दृष्टान्तका कुरा अझ बढी भएको भए राम्रो हुन्थ्यो । ‘राष्ट्रिय शिक्षा आयोग, २०११’ देखिको सिफारिस प्रतिवेदन र कार्यान्वयनका सन्दर्भलाई चिरफार गरिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो । नेपाली शैक्षिक सुधारका क्रमममा भएका कतिपय राम्रा अभ्यासको चर्चा गर्न पनि पुस्तकले भ्याएको छैन । 
जस्तो, विद्यालय भर्ना तथा विद्यार्थी स्वागत अभियानबाट कुल भर्नादर ९७ प्रतिशत हाराहारीमा पुगेको, शिक्षामा लैंगिक समता वृद्धि भएको, सञ्चारमाध्यले उजगार गरेका कारण खेताला शिक्षक प्रवृत्तिको अन्त्य भएको, विद्यालय शान्ति क्षेत्र स्थापित भएको, विद्यालयमा गुनासो सुनुवाइ संयन्त्रको प्रबन्ध गरिएको विषय सकारात्मक सन्दर्भलाई बेग्लै अध्यायमा रुपमा राख्न सकिन्थ्यो । 
    यस्तै, बालविवाह अन्त्य रणनीति, दण्डरहित शिक्षण कार्यविधि, अतिरिक्त क्रियाकलापमा वृद्धि, स्थानीय तहका राम्रा अभ्यास, किशोरी शिक्षा सुरक्षा कार्यक्रमका सवाललाई प्रचारमा लैजान सामुदायिक विद्यालयका शिक्षकहरू पछि पर्नुहुँदैन । पुस्तकको विधागत र विषयवस्तु सीमांकन अभाव पनि देखिन्छ  । यसलाई अनुसन्धान, चिन्तन, आख्यान, अनुभवांश कुन विधामा दर्ज गर्ने भन्ने अन्योल देखिन्छ ।
    यी केही आलोच्य पक्षका बाबजुद ‘ज्योतिर्गमय’ले शिक्षा सुधारको चिन्तनका लागि धेरै सबल प्रश्नहरू तेस्र्याएको छ । महŒवपूर्ण आधार सिफारिस गरेको छ । यी प्रश्न र सिफारिसको एक प्रकारको शारीरिक बनोट गरिएको छ । त्यो शरीरलाई पोषक तŒव प्रदान गरेर जीवन्त बनाउने यात्रामा यसका पाठकको भूमिका अवश्य हुनेछ । पाठकलाई त्यसतर्फ अग्रसर गराउन पुस्तक समर्थ देखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्